विकासले नछोएको लेकाली गाउँ

आनन्द गौतम

ताप्लेजुङ — सामान्यतः हिमाली क्षेत्रका बस्ती पातलै हुन्छन् । तर, आपत्विपत्मा सहयोग चाहिन्छ भन्ने उद्देश्यले एकै ठाउँमा झुरुप्प भएर बसेका हुन्छन् । फक्ताङलुङ–७ मा यस्तै एउटा बस्ती छ ‘याङमा’ । 

विकासले नछोएको लेकाली गाउँ

४२ सय मिटर उचाइमा रहेको याङमा जिल्लाकै सबैभन्दा उच्च र दुर्गमको बस्ती हो । भोटे जातिको मात्रै बसोबास भएको उक्त बस्तीमा १७ घर छन् । बसोबास भने १० परिवारको मात्रै छ । नेपाल–चीन सीमाना टिप्ताला भञ्ज्याङ नजिकैको यो बस्ती राज्यको नजरबाट कैयौं गुणा टाढा रहेको स्थानीय बासिन्दा गुनासो गर्छन् ।

टेलिफोन छैन, स्कुल छैन । सामान्य चोटपटक लागे अहेब र अनमी भेट्न पूरै एक दिन हिँडेर मात्र स्वास्थ्य चौकी पुगिन्छ । चीनले बेला/बेला चामल, नुन, तेल, पिठोलगायत खाद्यवस्तु दिए पनि नेपाल सरकारबाट त्यसो हुन नसकेको गुनासो स्थानीयवासीको छ ।

आलु साट्न चेने झर्दा वर्षमा एक पटक औल क्षेत्रका बासिन्दासँग साक्षात्कार भए पनि यहाँका बासिन्दाले नयाँ मान्छेसमेत देख्न पाउँदैनन् । आधारभूत आवश्यकतामा पर्ने खाद्यान्न, शिक्षा, स्वास्थ्यबाट वञ्चित भएको गुनासो गर्ने फिन्जो शेर्पा चार महिनाअघि याकले हान्दा आफूले उपचार पाउन कठिन भएको सुनाउँछन् ।

याकको सिङले उदिनेर उनको घाँटीमा चोट लाग्यो र गम्भीर घाइते बने । उपचारका लागि बोकेर स्वास्थ्य संस्था लैजान गाउँमा युवा थिएनन् । भएका सबै चौंरी गोठतिर थिए । गोठ पनि झन्डै एक दिनको पैदलमा रहेको टिप्ताला भञ्ज्याङ उक्लिसकेका थिए ।

द्विदेशीय सीमा रक्षक बस्ती भएपनि यहाँका बासिन्दाले स्वास्थ्य, शिक्षा त परैको कुरा सञ्चार सुविधासमेत नपाएको वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् । थोरै जनसंख्या भएकैले आफ्नो समस्यालाई सम्बन्धित ठाउँमा पुर्‍याउन नसक्दा राज्यले उपेक्षा गरेको गुनासो जनप्रतिनिधिकै छ ।

‘कमसेकम एउटा टेलिफोन टावर दिनुहोस् भनेर गाउँपालिकाबाट पाँच पटक नेपाल टेलिकममा अनुरोध पत्र पठायौं,’ भोटेले भने, ‘खै अहिलेसम्म वास्ता पनि गरिदिएन ।’ आफू वडाध्यक्ष भए पनि माथिल्लो तहमा पहुँच नभएको बताउने भोटे नेपाल टेलिकमले वर्षमा अर्बौं रुपैयाँ नाफा गरेको सुनिरहँदा र आफूहरूले फोन सम्पर्कबाट समेत वञ्चित हुनुपर्दा दुःख लाग्ने सुनाउँछन् ।

याङमामा आधारभूत विद्यालय भए पनि शिक्षक नियमित नबसेपछि गाउँपालिकाले दरबन्दी कट्टा गरेको छ । बालबालिकालाई आवासीय सुविधासहित नजिकका विद्यालयमा पढाउने भनिए पनि अहिलेसम्म सम्भव भएको छैन । सरकारले स्वास्थ्य चौकी स्थापना गरे पनि अहिलेसम्म स्वास्थ्य कर्मी पठाएको छैन ।

प्रकाशित : आश्विन ९, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?