१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोसी अस्पतालमा बिरामीको बेहाल

एउटै शय्यामा तीन जनासम्म, झ्यालमा, स्ट्रेचरमा र अभिभावकको काखमा बिरामी राखेर उपचार
 साढे तीन सय शय्याको अस्पतालमा १० शय्याको आकस्मिक कक्ष, दैनिक एक सयदेखि डेढ सय बिरामी उपचारका लागि आउने
देवनारायण साह

मोरङ — सप्तरीको बोदे बर्साइन नगरपालिका–१ का लोकेन्द्र मण्डलले आफ्ना ३२ दिनका छोरालाई उपचारका लागि बिहीबार साँझ कोसी अस्पतालमा ल्याए । अस्पताल प्रशासनले आकस्मिक कक्षमा भर्ना गरे पनि शय्या अभावमा बच्चालाई काखमै राखेर अभिभावकले उपचार सुरु गराए । अस्पतालको प्रत्येक शय्यामा पहिलेदेखि नै २/३ जना बिरामीलाई राखेर चिकित्सकले उपचार गरिरहेकाले काखमा राख्नुको विकल्प थिएन । 

कोसी अस्पतालमा बिरामीको बेहाल

‘दुई घण्टापछि एक जना मात्र बिरामी भएको शय्यामा बच्चालाई राख्न लगाएर उपचार सुरु गरे,’ मण्डलले भने, ‘चिकित्सकले राति ११ बजे अचानक शय्या अभावमा भर्ना गर्न नसकिने भन्दै रेफर गरिदिनुभयो ।’ गाउँबाट सस्तोमा उपचारका लागि आएको कोसी अस्पतालले उपचार नगरिदिएपछि बच्चालाई तुलनात्मक रूपमा महँगो विराटनगर अस्पतालमा राखेर उपचार गराउन बाध्य भएको मण्डलले गुनासो पोखे ।

मोरङको उर्लाबारीका रामकुमार राई उपचार गराउन शुक्रबार कोसी अस्पतालमा आएका थिए । तर शय्या अभावमा निजी अस्पताल जान बाध्य भएको गुनासो पोखे । सुनसरीको गढी गाउँपालिका–४ छिटहाकी अञ्जना उरावलाई दुई दिनदेखि ज्वरो आइरहेकाले कोसी अस्पतालमा उपचारका लागि आएपछि आकस्मिक कक्षमा भर्ना गरियो । शय्या अभावले उनी झ्यालमा बसेर उपचार गराइरहेकी छन् । उनले निजी अस्पतालमा उपचारका लागि जाने पैसा नभएकाले झ्यालमा बसेर भए पनि उपचार गराउन बाध्य भएको बताइन् ।

विराटनगरमा रहेको एक मात्र सरकारी अस्पताल कोसीमा उपचारका लागि आउने बिरामी यस्तै सास्ती भोग्न बाध्य हुने गरेका छन् । आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकले एउटै शय्यामा ३/४ जनासम्म बिरामी राखेर उपचार गर्ने गरेको देखिन्छ ।

आकस्मिक कक्षमा भएको ४ वटा झ्याल पनि अहिलेसम्म शय्याकै रूपमा प्रयोग हुँदै आएको स्वास्थ्यकर्मीहरू बताउँछन् । आकस्मिक कक्षमा कुल १० वटा शय्या रहेको र त्यो २४ सै घण्टा भरिभराउ नै रहने गरेकोले आकस्मिक सेवा लिन आएका नयाँ बिरामीलाई जसोतसो झ्याल, भुइँमै राखेर भए पनि सेवा दिन बाध्य भएको चिकित्सक तथा स्वास्थ्यकर्मी नै बताउँछन् । आकस्मिक कक्ष साँघुरो भएकाले भुइँमा पनि बिरामीलाई राखिसकेको अवस्थामा थप आएका बिरामीलाई रेफर गर्नुको विकल्पै नहुने गरेको आकस्मिक कक्षमा कार्यरत चिकित्सकले बताए ।

आकस्मिक कक्षको तथ्यांकअनुसार दैनिक एक सयदेखि डेढ सय बिरामी उपचारका लागि आउने गरेका छन् । अहिले रुघाखोकी, ज्वरोको बिरामीका साथै बालबालिका अत्यधिक आउने गरेको चिकित्सकको भनाइ छ । कोसी अस्पतालमा प्रदेश १ का १४ वटै जिल्लाका साथै प्रदेश २ का सप्तरी, सिरहा, धनुषा जिल्ला र सीमावर्ती भारतीय गाउँबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन् । अस्पतालको बहिरंग विभागमा दैनिक ११ सयदेखि १३ सयसम्म बिरामी उपचारका लागि आउने गरेकाले बिरामीको अत्यधिक चाप रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्डेन्टेन्ट डा. चुमनलाल दासले बताए ।

आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई एउटा शय्यामा दुई जनासम्म राखेर र झ्यालमा सर्पदंशका बिरामीलाई राखेर उपचार गर्ने व्यवस्था गरेको उनले सुनाए । सरकारबाट २५० शय्याको स्वीकृति र अस्पताल विकास समितिबाट थप १ सय गरी कुल ३ सय ५० शय्याको अस्पताल रहेको छ । यस आधारमा कोसी अस्पतालमा कानुनतः न्यूनतम ३५ शय्याको आकस्मिक कक्ष हुनुपर्ने हो तर भौतिक संरचनाको अभाव भन्दै अस्पताल प्रशासनले १० शय्याको मात्रै व्यवस्थापन गरेको हो । तर सधैं झ्याल, स्ट्रेचर, ट्रलीमा गरी ५ सय क्षमतामा अस्पताल सञ्चालन हुँदै आएको अस्पताल प्रमुख दास स्विकार्छन् । यस आधारमा न्यूनतम ५० शय्याको आकस्मिक कक्ष आवश्यक देखिन्छ ।

अस्पतालको क्षमताअनुसार करिब ४० शय्याको आकस्मिक कक्ष आवश्यक भएको प्रमुख दासले स्विकारे । ‘आकस्मिक कक्ष न्यूनतम ४० शय्याको आवश्यक भएको तर भौतिक संरचना अभावमा वर्षौंदेखि १० शय्यामा मात्रै चल्दै आएको छ,’ उनले भने, ‘अहिले केही भौतिक संरचनाहरू निर्माण भइरहेकाले चाँडै आकस्मिक कक्ष विस्तार गर्छौं ।’

प्रकाशित : आश्विन ९, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?