अनुगमन नहुँदा बजारमा मनपरी

रमेशचन्द्र अधिकारी

धनकुटा — स्थानीय तहले बजार अनुगमनमा चासो नदिँदा गैरकानुनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको छ । बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन सकेको छैन ।

अनुगमन नहुँदा बजारमा मनपरी

अधिकांश स्थानीय तहले बजार अनुगमन निर्देशिका बनाए पनि कागजी रूपमा मात्र सीमित छ । वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरिनुपर्ने व्यवस्था छ ।

धनकुटा नगरपालिकाले स्थानीय राजपत्रमार्फत तीन वर्ष पहिले नै बजार अनुगमन निर्देशिका २०७५ जारी गरेको छ । तर, निर्देशिका कार्यान्वयन भएको छैन । नगरपालिकाले भने उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समितिसमेत गठन गरिएको जनाएको छ । समिति बनेपछि हालसम्म अनुगमन भएको छैन ।

अनुगमन नियमित गर्न नसकिएको उपप्रमुख सकुन्तला बस्नेतले बताइन् । कोरोना भाइरस संक्रमणका कारण लामो समय अनुगमन प्रभावित बनेको उनको भनाइ छ । धनकुटा बजार क्षेत्रमा खाद्यन्नमा अखाद्य वस्तु मिसावट हुने गरेको उपभोक्ताको गुनासो छ । दालमा ढुंगा, तिलमा कनिकालाई रंगाएर मिसिएको, मिति नाघेका प्याकेटका खानेकुरा तथा चिसो पेय पदार्थ अत्यधिक पाइने गरे पनि सम्बन्धित पक्षको चासो नगएको धनकुटा–४ की मेनका निरौलाले बताइन् ।

यसैगरी चौबिसे गाउँपालिकामा पनि एक वर्षको अवधिदेखि बजार पसल अनुगमन गरिएको छैन । पहिलेका अनुगमनमा राजारानी बजारमा मिति नाघेका खाद्य तथा पेय पदार्थ बिक्री गरिएको पाइएको चौबिसे गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचाल बताउँछन् । छथर जोरपाटी गाउँपालिकामा कार्यविधि प्रभावकारी भएको छैन । प्रमुख पर्यटकीयस्थल भेडेटार क्षेत्रमा पनि बजार होटल अनुगमन नभएको महिनौं बितिसकेको छ । कार्यविधि बने पनि अनुगमन प्रभावकारी नभएको अध्यक्ष कुमारजंग याख्खाले बताए । महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा बिनादर्ताका अवैध रूपमा कतिपय औषधि पसल, होटल तथा पसल सञ्चालनमा रहेका छन् ।

निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, जिल्ला प्रशासन, वाणिज्य संघलगायत पछिल्लो समय अनुगमन कार्यमा मौन छन् । दसैं अगावै अनुगमन गरिने सहायक प्रजिअ रामनारायण श्रेष्ठले जनाए ।

प्रकाशित : आश्विन ९, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?