कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

किसानका माछा मरेको मर्‍यै

अर्जुन राजवंशी

बिर्तामोड — पालेका माछा १० दिनयता भटाभट मर्न थालेपछि माछापालक जनकबहादुर कार्कीले रोकथामका लागि औषधि खोजिरहेको झन्डै दुई साता भयो । जिल्लाभरका एग्रो, चिनेजानेका सबैसँग आग्रह गर्दा समेत उनले माछाको औषधि पाउन सकेका छैनन् ।

किसानका माछा मरेको मर्‍यै

कमल गाउँपालिका–१ बाँसबारीमा १० बिघा क्षेत्रफलमा माछा पालन गर्दै आएका कार्कीले माछा के कारणले मरिरहेका हुन् मेसो पाउन सकेका छैनन् । ‘दैनिक ४–५ वटा माछा मरिरहेका छन् । कसैले अक्सिजन कमी भन्छन् । कोही रोग लागेर भन्छन्’ कार्कीले दुखेसो पोखे, ‘विज्ञ, प्राविधिक नहुँदा माछा मर्नुको कारण पत्ता लगाउन गाह्रो भइरहेको छ ।’ उनले २/४ जनाले एकैखाले रोगको आशंका गरेपछि त्यसको औषधी खोज्दा समेत नपाएको गुनासो गरे ।

औषधी र दक्ष प्राविधिक नहुँदा झापाका माछा किसान निराश बनेका छन् । ‘भगवान भरोसामा माछा पालन गरिरहेका छौं’ बिर्तामोड–१० स्थित धनज्योति कृषिका सञ्चालक ज्ञानेन्द्र बिमलीले भने, ‘माछा पालनको लागि कति साइजको पोखरी खन्नुपर्ने हो । पानीको भाग कति हुनुपर्ने, माछा कति हाल्नुपर्ने, दाना कति दिनुपर्ने भन्ने केही थाहा छैन । त्यसमाथि विभिन्न रोग लागेर माछा मर्छन् । कुन रोग हो ? कस्तो औषधी दिने ? त्यो पनि थाहा हुँदैन । रोग पत्ता लागेपनि औषधी पाइदैन ।’ युवा पुस्ता माछा पालनतर्फ आकर्षित भएपनि किसानका लागि भने सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

सरकारले माछा पालक किसानलाई अनुदानमा ऋण उपलब्ध गराउने गरेको छ । बिमलीले भने, ‘अनुदानमा करोडौं रुपैयाँ ऋण दिन्छ । तर, माछा सम्बन्धी ज्ञान भएका प्राविधिकको व्यवस्था गर्दैन । यसतर्फ केन्द्रको मात्र होइन, स्थानीय सरकारसमेत उदासिन छ ।’ माछा पालन व्यवसायतर्फ सरकारी उदासिनता खेदजनक रहेको बिमलीको भनाइ छ । उनले ५ बिघा क्षेत्रफलमा माछा पालन गर्दै आएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकाअनुसार जिल्लामा ३ सय ४० हेक्टर क्षेत्रफलमा माछा पालन हुने गरेको विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रदिप श्रेष्ठले भने । उनकाअनुसार जिल्लामा बार्षिक २ हजार २ सय टन माछा खपत छ भने एक हजार एक सय ३० टन मात्र माछा उत्पादन हुने गरेको छ ।

जिल्लामा ९ सय घरपरिवारका एक हजार ७ सय पोखरी रहेका छन् । ती पोखरी हेर्न जिल्लामा ३ जना मात्र विज्ञ रहेको श्रेष्ठले बताए । ‘हामी ३ जनाले झापा मात्र होइन । इलाम पनि हेर्नुपर्छ’ श्रेष्ठले भने । जिल्लामा व्यवसायिक माछा पालन गर्ने किसानको संख्या बढ्दो छ । तर, आवश्यक साधनस्रोत उपलब्ध नहुँदा किसानले अपेक्षित लाभ लिन नसकेको बिर्तामोड–३ स्थित हरियाली माछा फार्मका सञ्चालक हरि मैनालीले बताए ।

‘मैले २०७२ देखि व्यवसायिक रुपमा माछा पालन गरिरहेको छु । अहिलेसम्म एक जना पनि माछाको डाक्टर भेटेको छैन्’ उनले भने, ‘पोखरी र माछामा कुनै समस्या आयो भने नजिकैका एग्रो भेटेनरीमा पाइने सामान्य औषधीले समाधान खोज्नुपर्ने बाध्यता छ ।’

व्यावसायिक माछा पालन गर्ने किसानको संख्या बढेपनि यसतर्फ देखिने समस्या समाधानतर्फ राज्यको स्पष्ट नीति आउन नसकेको भन्दै जिल्लाका किसान संगठित हुन थालेका छन् ।

उनीहरूले गत शनिबार बिर्तामोडमा भेलाको आयोजना गरी माछा पालनमा देखिने समस्याहरूको पहिचान तथा समाधानको उपाय निकाल्नेगरीको सात सदस्यीय एक समिति समेत गठन गरेको बिमलीले जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?