सडकले चर्चेको जग्गाको पनि तिरो

ओखलढुंगा — सिद्धिचरण राजमार्गअन्तर्गत जिल्लाको हर्कपुरदेखि ओखलढुंगा सडक खण्ड सञ्चालनमा आएको दुई दशक बितिसकेको छ । तर सडक विभागले सडकमा पर्ने जग्गाको लगत कट्टा नगर्दा अझै सर्वसाधारणले तिरो (राजस्व) तिर्दै आएका छन् ।

सडकले चर्चेको जग्गाको पनि तिरो

जग्गाधनीपुर्जामा अझै सडकसहितको जग्गा सर्वसाधारणकै नाममा छ । नापी विभागको ब्लुप्रिन्टमा समेत सिद्धिचरण राजमार्गको नक्सा देखिँदैन । जसका कारण स्थानीय तह र सडक विभागले मूल सडकको दायाँबायाँ १५ मिटर छोड्नुपर्ने नियम कार्यान्वयन गराउन सकेका छैनन् । सडकसँगै स्थायी र अस्थायी किसिमको घर टहरा जस्ता संरचना निर्माण भइरहेका छन् । अव्यवस्थित तवरले निर्माण भएको संरचनाले ओखलढुंगा सदरमुकामको गोरुमारेभन्ज्याङदेखि रमाइलोडाँडासम्मको बस्ती कुरुप बन्दै गएको छ ।

सडक क्षेत्र पर्ने स्थानीय तहले कडाइका साथ नियम लागू गराउन सकेका छैनन् । ‘राजमार्गका रूपमा रहेको मूल सडकको मर्मत, स्याहार, सम्भारदेखि सबै काम सडक विभागको हुने रहेछ ।’ सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘कि त विभागले नै दायाँबायाँ खाली गर्न परिपत्र गर्नुपर्‍यो । अन्यथा सर्वसाधारणले तिरो तिरिरहेको जग्गाको बिनामुआब्जा खाली गर भनेर हामीले हटाउन सकिने स्थिति छैन ।’

हर्कपुरस्थित सडक डिभिजन कार्यालयले सडक डिभिजनको मात्र जिम्मेवारी नभएर यो काममा स्थानीय तहले समन्वय गर्न जरुरी रहेको जनाएको छ । ‘यो समस्या फेरि यहाँको मात्र होइन । देशभरिकै समस्या हो । सडक ऐनले गरेको नीतिगत व्यवस्थाअनुसार स्थानीय तहले लागू गर्न सकिने देखिन्छ ।’ डिभिजन प्रमुख अरुणकुमार लाल कर्णले भने, ‘त्यसैले यसमा हाम्रो मात्र जिम्मेवारी छैन ।’

राष्ट्रिय राजमार्गको हकमा मूल सडकको बीचदेखि दायाँबायाँ २५ मिटर, सहायक राजमार्गमा १५ मिटर र सहरी राजमार्गमा १० मिटर अनिवार्य छोड्नुपर्ने सडक ऐनमा व्यवस्था छ । तर ऐन आउनुपहिले, सडक खनिनुअघि र पछि बनेका कतिपय सर्वसाधारणको घरटहराको मुआब्जा नदिई हट्न हटाउन नसकिने सिद्धिचरण नगरपालिका–११ का मोहन केसीले बताए । ‘सडकले लिने जग्गाको लगत कट्टा गरेर, सडककै नाममा पास भइसकेपछि राज्यले दिने नियमअनुसारको मुआब्जा दिए हामी सबैले सडक मापदण्डअनुसार जग्गा छोड्न तयार छौं ।’ उनले भने, ‘राज्यले चाहिँ जवाफदेही हुन नपर्ने र सर्वसाधारणले मात्रै कानुन मान्नुपर्ने अवस्था भएकाले यो समस्या भएको हो ।’

सडक आसपासमा टहरा निर्माण हुँदा सञ्चालनमा आएको छ मिटर चौडा सडकसमेत साँघुरो हुने गरेको छ । जसका कारण दुर्घटनाको जोखिम बढेको छ । दैनिक आवतजावत गर्ने सवारीको संख्या बढ्दो छ । हाल यस सडकखण्डमा दैनिक १ सयदेखि २ सयसम्मको संख्यामा सानाठूला सवारी साधन चल्ने गरेका छन् ।

प्रकाशित : आश्विन ७, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?