कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धरानमा ‘स्मार्ट बसपार्क’ निर्माण सुरु

दुई दशकदेखिको गौरवको योजनाको काम बल्ल अघि बढ्यो
प्रदीप मेन्याङ्बो

सुनसरी — तीन वर्षभित्र धरानमा ‘स्मार्ट बसपार्क’ बनाउने तयार स्वरुप काम थालिएको छ । धरान– ८ तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र उक्त बसपार्क बन्ने भएको हो । निर्माणका लागि टेन्डर आह्वानपछि ठेक्का नै लागेर यसै सातादेखि निर्माण कार्य सुरु भएको छ । दुई दशकअघिदेखिको योजनाले बल्ल मूर्तरूप लिन लागेको हो ।

धरानमा ‘स्मार्ट बसपार्क’ निर्माण सुरु

ठेकेदार कम्पनी धरानको ब्राइट बुलले ६ करोड रुपैयाँ लागतको सडक–ढल निर्माण सुरु गरेको छ भने टर्मिनल भवनसहितको बसपार्क निर्माणका लागि करिब १९ करोड रुपैयाँ लागतमा गीताञ्जली बी कोई जेभीले आफ्नो काम सुरु गरेको छ । २५ करोड रुपैयाँ लागतभित्र रहेर पहिलो फेजमा दुईतले टर्मिनल भवन र सडक–नालाका लागि काम सुरु गरेको छ । उक्त आयोजना धरानको गौरवको आयोजना पनि हो । उक्त आयोजना स्थल कोसी हाइवेको दक्षिणबाट प्रवेश गर्दा तीनकुने प्रवेशद्वार नजिककै रहेको रेडियो नेपालको स्टेसनछेउमा पर्छ ।

धरानको मध्यमा पर्ने भानुचोक घण्टाघर परिसरमा रहेको बसपार्कले धान्न नसक्ने भएपछि तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र आधुनिक बसपार्क निर्माण सुरु गरिएको हो । बसपार्कसहितको बस्ती विकास आयोजना सुरु गर्ने भनेर करिब दुई दशकअघि नै तीनकुनेमा जर्मन संस्था जीटीजेडको प्राविधिक सहयोगमा काम थालिएको थियो । तर स्थानीय बासिन्दा, जग्गाधनीहरूलाई बुझाउन नसक्दा एकपछि अर्को गर्दै विवाद भएकाले आयोजनाको काम सुरु गर्न दुई दशक पर्खिनु परेको थियो । तत्कालीन नगरपालिकाले आयोजनाभित्र पर्ने १ सय ७ जनाको साढे १३ बिघा जग्गालाई एकीकृत गरेर आधुनिक बसपार्कसहित बस्ती विकासको अवधारणा ल्याइएको बेला जग्गाधनीले आफूहरूको ५० प्रतिशतभन्दा बढी जग्गा काटिएको र नगरपालिकाका कर्मचारीले आफ्नो नाममा जग्गा राखेको गुनासो गरेपछि विवादित बनेको थियो ।

पछिल्लो समयमा उपप्रमुख मन्जु भण्डारीले जग्गाधनीसँग पटकपटक वार्ता र छलफल गरेपछि विवाद समाधान भएसँगै स्मार्ट बसपार्क निर्माणले गति लिन थालेको दाबी गरिएको छ । धरान उपमहानगरपालिकाका तर्फबाट तीनकुने सुन्दर बस्ती विकास आयोजनाका प्रमुख खगेन्द्रप्रसाद खतिवडाले भने, ‘टेन्डर प्रक्रियाबाट ठेकेदार छनोट भई बसपार्क निर्माणका लागि गत असारमा नै सम्झौता भइसकेको आधारमा यसै सातादेखि साइट क्लियरेन्सको काम सुरु भएको हो । आयोजनाभित्र बन्ने बसपार्कमा दुईतले टर्मिनल भवन, बेसमेन्टसहितको पार्किङ स्थल, सडक, प्रवेशद्वार बन्नेछ । उक्त भवनभित्र टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय, एटीएम बुथ, सेक्युरिटी कक्षसहित होटल, लज रेस्टुरा पनि हुनेछन् ।’ आयोजनाभित्र बन्ने बसपार्कका लागि ३० कट्ठा जग्गा छुट्याइएको छ । त्यसबाहेक सेल्स प्लटमा थप ५ कट्ठा हाराहारी खाली जग्गा छुट्याइएको छ ।

उनका अनुसार आयोजनाअन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन (ढल) निर्माणको कार्य सुरु भएको छ । हालसम्म ७० जना जग्गाधनीलाई आयोजनाको भाग कटाएर बाँकी जग्गाको स्वामित्वसहितको धनीपुर्जा उपलब्ध गराइसकेको खतिवडाले बताए । आयोजनाभित्रका अरू जग्गाधनीहरूले पनि धमाधम आफ्नो स्वामित्वमा पर्ने जग्गाको धनीपुर्जा लिन आइरहेका छन् । उनले भने, ‘नक्सा र डीपीआर डिजाइनमा सडक ढल सबै तयार भए पनि फिल्डमा छुट्याउन बाँकी रहेकाले मापदण्डअनुसार छुट्याउने काम भइसकेपछि अर्को वर्ष कालोपत्रको काम हुने आयोजना प्रमुख खतिवडाले जानकारी दिए ।

बसपार्कसहितको बस्ती विकासको आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले डीपीआर तयार गर्न एक करोड रुपैयाँ दिएको थियो । डीपीआर तयार गर्दा सुरुमा ७५ करोड लागतको भएपछि उपमहानगरपालिकाको आन्तरिक आयस्रोतले धान्न नसक्ने जनाएको थियो ।

त्यसपछि परामर्शदाताले ४३ करोड रुपैयाँको लागत इस्टिमेट निकालेको थियो । उक्त इस्टिमेट पनि धेरै भएपछि डीपीआर नै संशोधन गरेर २५ करोड रुपैयाँभित्र स्मार्ट बसपार्क तयार हुने गरी ठेक्का आह्वान गरिएको थियो ।

उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महशाखा प्रमुख सुरज श्रेष्ठले भने, ‘संघीय सरकारले दिने ससर्त अनुदानका आधारमा बसपार्क निर्माण सुरु भएको हो । २५ करोड बजेटमध्ये संघीय सरकारले ५० प्रतिशत अर्थात् साढे १२ करोड रुपैयाँ उपलब्ध गराउनेछ । बाँकी ५० प्रतिशत साढे अर्थात् १२ करोड रुपैयाँ उपमहानगरले बसपार्क निर्माणमा ३ वर्षमा व्यहोर्नुपर्ने हुन्छ ।’

उनका अनुसार संघीय सरकारले दिने ससर्त अनुदानको बजेटमा बसपार्क निर्माण योजना प्रस्ताव गरेअनुसार स्वीकृत भइसकेकाले त्यही २५ करोड रुपैयाभित्र काम सक्नुपर्ने छ ।

योजना तथा इन्जिनियरिङ महशाखाका आर्किटेक्ट श्वेता राईका अनुसार बसपार्कबाट झापाको काँकडभिट्टा, ताप्लेजुङ, इलाम पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, राजविराज, विराटनगरलगायत गन्तव्यमा यात्रु लिएर जान क्युमा रहने १९ वटा बस र अन्य १८ वटा बस गरी ३७ बस पार्किङ हुने गरी डिजाइन गरिएको छ । उनका अनुसार बसपार्कमा यात्रु लिएर आउने जाने २४ कार जिप, ७२ वटा दुईपाङ्ग्रे र ८२ वटा अटो पनि अटाउने क्षमताको पार्किङ स्थल निर्माण हुनेछन् । उनले भनिन्, ‘निकट भविष्यमा इलेक्ट्रिक सवारीसाधन पनि आउन सक्ने भएकाले तिनिहरूका लागि चार्जिङ स्टेसन पनि तय गरिएको छ ।’


प्रकाशित : आश्विन ६, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?