ताप्लेजुङमा १८ वर्षमाथिका सबैलाई असोज ९ गतेदेखि खोप लगाइने

ताप्लेजुङ — सरकारले हिमाली जिल्लाका नागरिकलाई असोज ४ गतेदेखि खोप लगाएको भने पनि ताप्लेजुङमा भने असोज ९ गतेदेखि मात्रै लगाइने भएको छ । खोप ढुवानीमा ढिला भएकाले ९ देखि १८ गतेसम्म लगाउने गरी कार्यतालिका बनाइएको हो ।

ताप्लेजुङमा १८ वर्षमाथिका सबैलाई असोज ९ गतेदेखि खोप लगाइने

खोप व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन पाउने ब्यवस्था मिलाइएको छ ।

मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले असोज ९ देखि १३ गतेसम्म सिदिङवा, सिरिजंगा, मिक्वाखोला, फक्ताङलुङ र मेरिङदेन गाउँपालिकामा खोप लगाइने छ । १० देखि १४ गतेसम्म फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका तथा १४ देखि १८ गतेसम्म आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

आफ्ना वडा र गाउँपालिकाका सबै नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउन नगरपालिका, गाउँपालिका प्रमुख र वडाध्यक्ष तथा सदस्यहरूसँग अनुरोध पनि गरिएको छ । पालिका प्रमुख र वडाध्यक्षलाई अनुगमनका लागि पनि व्यवस्थापन समितिले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ३४ हजार ८ सय १५ जनाले पूर्ण खोप लगाइसकेका छन् । १४ हजार १ सय ८२ जनाले कोभिसिल्ड, १४ हजार ८ सय १८ ले भेरोसेल र ५ हजार ८ सय १५ जनाले जोन्सन एन्ड जोन्सनको खोप लगाएको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताइन् ।

खड्काका अनुसार पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकीको संख्या २ हजार १९ छ । कोभिसिल्डको पहिलो मात्रा १७ हजार ४ सय ३९ र भेरोसेलको १५ हजार ४ सय २० जनाले लगाएका छन् । कोभिसिल्डको दोस्रो मात्रा लगाउन ३ हजार २ सय ५७ र भेरोसेलको ६ सय २ जना बाँकी छ ।

प्रकाशित : आश्विन ६, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?