कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

४ वर्षमा हात्तीको आक्रमणबाट २३ को मृत्यु

मकुनाको पछि दुइटा गाडी, एउटा ट्याक्टर र सैनिकहरू चौबीसै घण्टा तैनाथ
प्रदीप मेन्याङ्बो

सुनसरी — जंगली हात्ती मकुना (भाले हात्ती) ले मध्यवर्ती क्षेत्रका बस्तीमा छिरेर चार वर्षयता २१ जनाको ज्यान लिइसकेको छ । कोसी टप्पु वन्यजन्तु आरक्षमा चरिचरण गर्दै आएको मुकनाले गत सोमबार दिउँसोमात्र बराहक्षेत्र मधुवन ११ खत्वेटोल बस्ने ६५ वर्षीया वृद्धा मगनी खत्वेको ज्यान लिएपछि फेरियो यसको चर्चा हुन थालेको छ । 

४ वर्षमा हात्तीको आक्रमणबाट २३ को मृत्यु

पुसदेखि हालसम्ममा मकुनाले भारदह, कुशाहा, श्रीलंका टप्पु र मधुवनमा गरी ६ जनाको ज्यान लिइसकेको छ । यसअघि भारतमा ८ जना गरी २३ जनाको ज्यान लिने ‘हिंस्रक हात्ती’को उपमा पाइसकेको मकुनालाई कसरी व्यवस्थापन गरेर मानवीय क्षति कम गराउने भन्ने विषय पेचिलो बन्न थालेको छ ।

गत वर्ष मकुनालाई मार्नुपर्ने बहस चलेको बेला पशुअधिकारकर्मीहरूले प्रतिवाद गरेका थिए । आरक्षबाट निस्केर मध्यवर्ती क्षेत्रका बस्तीमा छिरेर मकुनाले फेरि एकपछि अर्को गर्दै मानवीय क्षति पुर्‍याउन थालेपछि पीडित र त्रसित सर्वसाधारणले तत्काल विकल्प दिन माग गरेका छन् । यतिबेला मकुनाको पछि दुइटा गाडी, एउटा ट्र्याक्टर र सैनिकहरू २४ सै घण्टा तैनाथ छन् । आरक्षबाट निस्कनासाथ मकुनाको पछि लाग्छन् गाडीसहित सैनिकहरू । कडा निगरानी गर्दागर्दै पनि खेतमा घाँस काट्न निस्केकी मधुवनकी वृद्धाको ज्यान लियो मकुनाले ।

यतिबेला आरक्षबाट मकुना निस्कियो भन्ने हल्ला चल्नासाथ स्थानीय बासिन्दाहरू रातभर त्रसित हुँदै जाग्राम बस्न बाध्य भएका छन् । उनीहरूका त्रसित मनमा यतिबेला फेरि उठेको छ, ‘मकुना आतंक कहिलेसम्म सही बस्ने ?’

यसले सबैभन्दा बढी क्षति कोसी गाउँपालिकामा पुर्‍याएको छ । ‘मकुनाले सबैभन्दा बढी मानवीय क्षति कोसी गाउँपालिकामा गरेको छ । हालसम्ममा ११ जनाको त ज्यानै लिइसकेको छ । अरू धनमाल, अन्न बालीको क्षति त कति गरेको छ कति,’ कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले भने, ‘स्थानीय बासिन्दाहरू आरक्षबाट कुन बेला कहाँबाट मकुना निस्केर ज्यान लेला भनेर आजित, त्रसित र मानसिक रूपमै पीडित भएकाले पटकपटक जंगली हात्तीको व्यवस्थापन गर्न माग गर्दै आएका छौं । तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।’

उनले आरक्षभित्रको जंगली जनावर (मकुना पनि) ले आरक्ष बाहिर निस्कन नदिने राख्न सक्नुपर्ने तर त्यसो गर्न नसक्दा मानवीय क्षति बढी भइरहेको बताए । जंगली हात्तीको आक्रमणमा परी ज्यान जानेहरूको संख्या मध्यवर्ती क्षेत्रमा बढेपछि समस्या समाधान गर्न अनेकपटक पहलकदमी भए पनि टुंगोमा पुग्न नसकेको उनको बुझाइ छ ।

‘मकुना भन्ना साथ तर्सिने बेला भएको छ । चार बर्षको अवधिमा कोसीका ११ जनासहित २३ जनाको ज्यान लिने जंगली हात्ती मकुना मारौं भन्दा पशुअधिकारकर्मीले दिँदैनन्, आरक्षमै सीमित राख्न पनि सक्दैनन्,’ उनले भने, ‘अब विकल्पमा आरक्षबाटै निकालेर अन्यत्र ठूलो निकुन्ज क्षेत्रमा सार्नुपर्छ भन्ने हाम्रो माग छ ।’ उनले मानवीय क्षति भएपछि आरक्षले राहत र क्षतिपूर्ति त दिन्छ तर क्षतिपूर्ति राहतले गुमेको ज्यानको पूर्ति त गर्न नसक्ने बताए ।

उनले आरक्षको जंगली हात्ती मकुना र अन्य जनावरको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा मानवीय क्षति कम गर्ने पहल गरिदिन सोही क्षेत्रमा पर्ने सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत भ्रमण अवलोकन गराएको बताए । बराहक्षेत्र नगरपालिका ११ बस्ने अमित चन्वंशीले गुनासो गर्दै भने, ‘आरक्षले मात्र होइन सर्वसाधारणले पनि वन्यजन्तुको संरक्षण गर्दै आएका छन् तर सरकार र पशुअधिकारकर्मीहरू मानव सुरक्षाका लागि भने संवेदनशील भएको देखिएनन् ।’

उनले मान्छेको ज्यानभन्दा जनावरको महत्त्व बढी नहुने आफ्नो बुझाइ रहेको बताए । उनले वन्यजन्तुको सुरक्षा र संरक्षण गर्ने हो भने तिनै वन्यजन्तुबाट हुन सक्ने मानवीय क्षति र धनमालको क्षतिप्रति सरकार, नेता र आरक्ष उदासीन भएको आरोप लगाए । कुन बेला आरक्षबाट मकुना निस्केर मार्छ भन्ने त्रासका बीच बाँच्नुपर्दा त्यस्तो हिंस्रक हात्ती संरक्षण गरेर राख्नुको फाइदा आफूले नदेखेको पनि बताए । उनले वन्यजन्तुबाट पीडित रहेका मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले आरक्ष, सरकार र पशुअधिकारकर्मीहरूले आफूहरूलाई पनि सुरक्षाको अनुभूति दिलाउन सक्नुपर्ने जिकिर गरे ।

आरक्षका वार्डेन अशोक रामले भने मकुना नियन्त्रणका लागि आफूहरू २४ सै घण्टा खटेको बताए । उनले मकुनाको माद घटाउने काम यसअघि पनि भएको तर त्यो निश्चित अवधिसम्मका लागि मात्र भएकाले फेरि प्राविधिक टोली बोलाइएको बताए ।

प्रकाशित : आश्विन ६, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?