अनुदानमा किसानको पहुँच छैन

कुम्भराज राई

ओखलढुंगा — जिल्लामा केही समयअघि पशुपालक तथा फलफूल खेती गर्ने किसानलाई अनुदान खुलेको थियो । तर अनुदान खुलेको थाहा पाउने किसानहरू प्रस्तावना लेखिदिने मान्छे खोज्दै सदरमुकाममा बिचौलियालाई गुहारिरहेका थिए ।

अनुदानमा किसानको पहुँच छैन

‘प्रस्तावना लेख्ने तरिका जानिँदैन । फेरि हामीले लेखेको प्रक्रिया नै पुगेन भनिदिन्छन् ।’ एक किसानले नाम नलेखिदिन अनुरोध गर्दै भने, ‘त्यही भएर दलालबिना यो काम सम्भव छैन । दलाललाई लगाएपछि अनुदान पनि मिल्ने ।’

बिचौलिया भने दर्जनौंको संख्यामा प्रस्तावना झोलामा बोकेर दौडिरहेका थिए । प्रक्रियागत कठिनाइ र बिचौलियाको बिगबिगीले गर्दा अनुदानमा कृषकको पहुँच नभएको वास्तविक कृषकहरूको गुनासो छ । राष्ट्रिय कृषक समूह महासंघले सदरमुकाममा आयोजना गरेको जिल्ला परिषद्मा अधिकांश कृषकको गुनासो यही थियो । एउटा बिचौलियाले परिवारका सबै सदस्यको नाममा फार्म दर्ता गरेरसमेत अनुदान लिने गरेको राष्ट्रिय कृषक समूह महासंघ प्रदेश १ की उपाध्यक्ष शारदा निरौलाले बताइन् ।

धेरैजसोले त सूचना नै नपाई अनुदानको म्याद सकिने गरेको उनले बताइन् । अनुदान जबसम्म सोझा किसानको पहुँचमा आइपुग्दैन तबसम्म बिचौलियाकै रजगज हुने किसानहरूको भनाई छ । ‘सोझा किसानले सूचना पाइहाले पनि अनुदान पाउन दर्जनौं कागजात मिलाउनुपर्छ । जुन सामान्य किसानलाई लेख्नसम्म आउँदैन ।’ मानेभन्ज्याङ गाउँपालिका १ का कुमार श्रेष्ठले भने, ‘अनि बिचौलियाले कागजात मिलाउँछन् र जनप्रतिनिधिसँग मिलेर अनुदान सक्छन् ।’

राष्ट्रिय कृषक समूह महासंघले सिद्धिचरण नगरपालिका र सुनकोसी गाउँपालिकामा अनुदान वितरणमा डुप्लिकेसन नहोस् भनेर परिचयपत्र वितरणको तयारी गरेको छ । किसानको वर्गीकरण गरी परिचयपत्र दिने महासंघले तयारी गरेको हो । स्थानीय तहका जनप्रतिनिधिहरूले भने कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन भइरहेको बताए । उनीहरूले अनुदानमा बिचौलियाको भूमिका कमजोर बनाउन सबै लागिपर्ने सुनाए ।

प्रकाशित : आश्विन ६, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?