भन्सार एजेन्ट कारबाहीमा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार एजेन्ट कारबाहीमा

नाकाबाट अवैध सामान छिराउँदै आएको पुष्टि 
कान्तिपुर संवाददाता

विराटनगर — भन्सार परिसरबाटै अवैध रूपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयात गर्ने फर्म पूर्ण कृष्ण ट्रेडर्सलाई विराटनगर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको छ ।

भन्सारले करिब ५५ लाख रुपैयाँ धरौटी पनि लिएको छ । उक्त फर्म प्रयोग गरेर गैरएजेन्ट राजकुमार रौनियार र लक्ष्मण रौनियारले भारतवाट कपडा आयात गर्ने र एजेन्ट थापाले सामानको भन्सार महसुल नतिराई भन्सार विन्दुवाटै अवैध रूपमा छिराउँदै आएको पुष्टि भएपछि कारबाही गरिएको हो । प्रमुख भन्सार अधिकृत शिव भण्डारीले उनलाई दुई महिनाको लागि निलम्बन गरेको भन्सार अधिकृत अमित तिवारीले बताए ।

गैरएजेन्ट राजकुमार रौनियारले गत वैशाखमा एउटै प्रज्ञापनपत्रमार्फत दुई पटक गरी १८–१८ लाख मूल्यका लत्ता कपडा भारतबाट आयात गरेर भन्सार महसुल नतिरी भारतीय नम्बर प्लेटको बीआर ३८ जिए २६०६ पिकअप भ्यान मार्फत भन्सार कटाउँदा प्रहरीले पक्राउ गरेको थियो ।

उक्त दुई ट्र्याक्टर लत्ता कपडा भन्सार महसुल नतिरी बाहिर निकाल्न एजेन्ट थापाले मद्दत गरेको भन्सारको ठहर छ । यसअघि भन्सार एजेन्ट देवकी शर्माले भन्सारको यार्डमा पार्किङ गरेर राखिएको एक ट्रक व्यापारिक सामान भन्सारै नतिरी बजार पुर्‍याएका थिए । कपडा आयात गर्दा प्रयोग गरिएको पिकअप भ्यान सहित प्रहरीले कपडा आयातकर्ता रौनियारसहित एजेन्ट थापालाई पक्राउ गरेर भन्सार बुझाएपछि तीनै जनाले ५५ लाख ९९ हजार ८ सय रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका थिए । उक्त घटनाको छानविन गर्न भन्सार कार्यालयले अधिकृत तेजमान काफ्लेको नेतृत्वमा टोली खटाएको थियो ।

टोलीले पूर्ण कृष्ण ट्रेडर्सका नाममा एउटै प्रज्ञापनपत्रमा दुई पटक गरी ३६ लाख मूल्यभन्दा बढीका कपडा आयात भएको र उक्त कपडाको भन्सार महसुल नतिरी भन्सार बिन्दुबाटै बाहिर निकालिएको प्रतिवेदनका आधारमा भन्सार एजेन्ट थापा र उनको फर्मलाई दुई महिनाका लागि निलम्बन गरिएको भन्सारले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

सेनाको ‘ट्य्राक–टु–डिप्लोमेसी’

राजेश मिश्र

नयाँदिल्दी — नेपाली सेनाका तीन जना पूर्वप्रधानसेनापतिले एकैसाथ भारतीय सेनाका उच्च अधिकारीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष (प्रमुख) मुकुन्द नरवणेको निम्तोमा पूर्वसेनापतिहरू गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री र प्यारजंग थापा शुक्रबार नयाँदिल्ली आइपुगेका थिए ।

भारतीय सेनाध्यक्षले नेपालका सबै पूर्वसेनापतिहरूलाई निम्तो गरेकामा कतिपय मुलुकबाहिर रहेका र केहीले स्वास्थ्यको कारण जनाउँदै आएनन् । ७ जना पूर्वसेनापतिहरूलाई भारतीय सेनाले निम्तो पठाएकामा दिल्ली आएका तीन जना ३ दिन बसेर फर्किएका छन् ।

दुवै देशका सेनापतिहरू एक अर्का देशको सेनाको मानार्थ महारथी हुने चलन छ । मानार्थ महारथीहरूलाई एक ठाउँमा जुटाउने प्रयासमा भारतीय सेनाका पूर्वप्रमुखहरू पनि सहभागी भएका जनाइएको छ । नयाँदिल्ली आएका पूर्वसेनापतिहरूलाई नेपाली राजदूत नीलाम्बर आचार्यले पनि दूतावासमा रात्रिभोज दिएका थिए ।

दूतावास स्रोतका अनुसार दुई देशका सेनाबीच कायम रहेको परम्परागत सम्बन्धलाई थप बलियो पार्ने र अनौपचारिक छलफलहरू पनि होस् भन्ने उद्देश्यले भारतीय सेनाले कार्यक्रमको आयोजना गराएको हो । ‘ट्र्याक–टु–डिप्लोमेसी’ अन्तर्गत हुने यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन मद्दत पुर्‍याउने दूतावासका परराष्ट्र सम्बद्ध अधिकारीले बताए । पूर्वसेनापतिहरू र भारतीय सेनाका अधिकारीबीच के–के विषयमा कुरा भए त्यसबारे दूतावासलाई जानकारी नभए पनि यस्ता भ्रमणहरूको आदानप्रदान हुनु राम्रै भएको उनको भनाइ छ ।

धर्मपत्नीसहित भारत आएका तीनै जना पूर्वसेनापतिहरू मौर्य होटलमा बसेका थिए । उनीहरू आएकै दिन बेलुका सांस्कृतिक कार्यक्रमसँगै अन्तरक्रियामा सहभागी भएका थिए । त्यसलाई ‘सोसल इभनिङ’ नाम दिइएको थियो । भोलिपल्ट गल्फ खेल्ने, ओलम्पिकमा पदक जितेका भारतीय सेनाका खेलाडीहरूसँग भेटघाट, सहिद स्थलमा माल्यार्पणलगायत कार्यक्रममा सरिक भएका थिए । स्रोतका अनुसार भेटघाटको कुनै विशेष एजेन्डा तोकिएको थिएन । पूर्वसेनापति क्षेत्री नेपाल फर्किएका छन् भने थापा र राणा आ–आफ्नो निजी भ्रमणमा मुम्बई र नैनीतालतर्फ गएका छन् ।

प्रकाशित : आश्विन ५, २०७८ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×