२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

धनकुटाका सबै विद्यालय खुले

धनकुटा — ६ महिनादेखि बन्द सरकारी तथा निजी विद्यालय सोमबारदेखि खुलेका छन् । लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।

धनकुटाका सबै विद्यालय खुले

स्वास्थ्य सावधानीका विधि अपनाउँदै विद्यालय सञ्चालनको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थीले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर जिल्लाभरका विद्यालय सञ्चालनको अनुमति दिइएको उनले बताए । असोज १ देखि विद्यालय सञ्चालन गरिने भनिए पनि लगातारको सार्वजनिक बिदाका कारण सोमवारदेखि मात्र खुलेका हुन् । महिनौंसम्म घरैमा बस्न बाध्य बालबालिका पहिलो दिन विद्यालय आउँदा उत्साहित र खुसी देखिएको गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रले बताए ।

‘सीमित घेरामा रहेर अनलाइन माध्यममा पढ्ने बालबालिका खुला वातावरणमा विद्यालय पुग्दा मनोवैज्ञानिक रुपमा नै फरक देखिए’, मिश्रले भने, ‘स्वास्थ्य सावधानीका विधि अपनाएर पठनपाठन सञ्चालन गरिएको छ ।’

६ महिनापछि विद्यालय पुग्दा साथीहरुसँगको भेटघाटले खुसी लागेको बालसंसार बोर्डिङ स्कुलकी ३ कक्षाकी छात्रा उत्सवी अधिकारीले बताइन् । अनलाइनमा भन्दा कक्षा कोठामा बसेर पढ्दा बुझ्न सजिलो हुने अधिकांश विद्यार्थीको भनाइ छ । धनकुटा–४ छारागाउँस्थित मार्गेश्वरी प्राथमिक विद्यालयमा ८० प्रतिशत बढि बालबालिका उपस्थित रहेको प्रधानाध्यापक टेकबहादुर खत्रीले बताए ।

प्रकाशित : आश्विन ४, २०७८ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?