२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रहस्यमय बन्दै संखुवासभा सामूहिक हत्याकाण्ड : थप ६ जना पक्राउ

दीपेन्द्र शाक्य

संखुवासभा — भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी र दुई छोराहरू माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

रहस्यमय बन्दै संखुवासभा सामूहिक हत्याकाण्ड : थप ६ जना पक्राउ

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य ५ जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाई छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।

अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाई नरेशको साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप ५ जनालाई अनुसन्धानको दायरामा ल्याएको हो ।

घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदीले बताए । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकोले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयबाटसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता भएको आशंका भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्याको आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको बीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ ।

प्रकाशित : आश्विन ४, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?