तेस्रोलिंगीलाई ‘अन्य’ मा गणना

विप्लव भट्टराई

इलाम — यसअघि यकिन तथ्यांक नआउँदा तेस्रोलिंगी यस पटक अन्य लिंगी समुदायमा परेको सरोकारवालाले बताएका छन् । २०६८ सालको जनगणनमा पहिलोपल्ट ‘तेस्रोलिंगी’ को पनि गणना गरिएको थियो ।

तर सामाजिक, पारिवारिकलगायत कारणले यस्ता व्यक्तिहरू खुल्न नसक्दा यकिन संख्या सार्वजनिक हुन नसकेको उनीहरूको भनाइ छ ।

यस पटकको जनगणना प्रश्नावलीमा नै लिंगको महलमा महिला, पुरुष र तेस्रो लिंगीको सट्टा अन्य लिंगी उल्लेख गरिएकाले आधिकारिक तथ्यांक आउने विश्वास गरिएको छ । अन्य लिंगीयअन्तर्गत महिला समलिंगी, पुरुष समलिंगी, द्विलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी समेटिनेछन् । ‘विगतका जनगणनामा आधिकारिक तथ्यांक नआएकै कारण सार्वजनिकसमेत हुन सकेन,’ यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा कार्यरत ब्लुडाइमन सोसाइटीकी गौरी नेपालीले भनिन्, ‘यो पटक आधिकारिक तथ्यांक आउनेमा आशावादी छौं ।’ आधिकारिक तथ्यांककै अभावमा संविधानले दिएका हकअधिकारबाट वञ्चित हुनुपरेको उनीहरू बताउँछन् ।

नेपालको कुल जनसंख्याको ८ देखि १० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको अनुमान गरिएको नेपालीको भनाइ छ । राष्ट्रिय जनगणना २०७८ कोरोनाका कारण बुधबारदेखि मात्र सुरु भएर मंसिर ९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

यस पटकको जनगणनाले वडा तहसम्मको बेग्लाबेग्लै तथ्यांक दिने गरी व्यवस्थापन गरिएको छ । विगतका जनगणनामा जनसंख्याको मात्र तथ्यांक लिने गरिएकोमा यस पटक आर्थिक र सामाजिक तथ्यांकसमेत आउने गरी प्रश्नावली तयार गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?