अतिक्रमणले खुम्चियो रतुवामाई

पर्वत पाेर्तेल

झापा — कमल गाउँपालिकास्थित रतुवामाई वृक्षरोपण आयोजना निरन्तर अतिक्रमणका कारण खुम्चिँदै गएको छ । संस्थागत र व्यक्तिगत रूपमा अतिक्रमण तीव्र बनेको आयोजनाले जनाएको छ ।

अतिक्रमणले खुम्चियो रतुवामाई

२०३३ मा वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिको गठनपछि आयोजना स्थापना भएको हो । २ हजार ७ सय ५३.७६ हेक्टर (४ हजार ७ बिघा) मा फैलिएको आयोजनाको करिब ५३ हेक्टर जमिन अतिक्रमित भइसकेको छ ।

‘५३ हेक्टरमध्ये आधा जति व्यक्तिगत रूपमा र आधा संस्थागत रूपमा अतिक्रमण भएको पाइएको छ,’ वृक्षरोपण आयोजना प्रमुख खेमलाल विश्वकर्माले भने । मठमन्दिरका नाममा बढी अतिक्रमण भएको उनले बताए । सताक्षीधाम मन्दिरले करिब १२ हेक्टर अतिक्रमण गरी ठूला संरचना बनाएको छ । ‘धार्मिक अतिक्रमण हटाउन पटकपटक पत्राचार गरे पनि सुनुवाइ भएको छैन,’ विश्वकर्माले भने ।

करिब २७.९ हेक्टर जमिन संस्थागत रूपमा अतिक्रमण भएको कार्यालयले जनाएको छ । डिभिजन वन झापाले नर्सरीका नाममा १.६०, इलाका प्रहरी झिलझिलेले ०.८०, मन्दिर निर्माणमा ०.६२, किरात चोकको माइखोला सिँचाइ आयोजनाले १.८५, लखनपुरमा खानेपानी कार्यालय र मन्दिरका नाममा ३.९५ हेक्टर जमिन अतिक्रमण भएको छ ।

यस्तै, झिलझिले उत्तरी क्षेत्रमा पिकनिकस्थलका नाममा १.३८, दुधे माथिल्लो क्षेत्रमा खानेपानी ट्यांकीलगायत संरचना निर्माणमा २.०५ र सताक्षीधाम मठ निर्माणमा करिब १२ हेक्टर अतिक्रमण भएको छ । व्यक्तिगत रूपमा करिब २५.५ हेक्टर जमिन अतिक्रमण भएको छ ।

प्रकाशित : आश्विन २, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?