कोरोना बिमितले पाएनन् भुक्तानी

११ महिनादेखि धाउँदा पनि रित्तो हात भएपछि अदालत जाने तयारीमा
कुम्भराज राई

ओखलढुंगा — जिल्लाका क्रियाशील पत्रकार नवराज कार्कीले पहिलो चरणको कोभिड संक्रमणको बेला कोरोना बिमा गरे । उनलाई २०७७ भदौमा कोरोना संक्रमण भयो । संक्रमणले निकै थलिएपछि पोस्ट कोभिडको समस्या देखियो ।

कोरोना बिमितले पाएनन् भुक्तानी

अहिले पनि उनमा पोस्ट कोभिडका केही लक्षण छन् । कोभिडबाट मुक्त हुनेबित्तिकै २०७७ असोजमै कोरोना बिमा भुक्तानीको दाबी गरे । तर अनेक कारण देखाएर भुक्तानी दिइएन । सुरुमा पीसीआर रिपोर्ट माग्यो । त्यतिखेर जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलन गरी धुलिखेल अस्पताल परीक्षणका लागि पठाएको थियो ।

धुलिखेल अस्पतालले सामूहिक रूपमा संक्रमितको विवरण पठाएको थियो । कोरोना बिमा गरेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले कार्कीलाई व्यक्तिगत ल्याब रिपोर्ट माग्यो । आफैं अस्वस्थ भएको कारण तत्काल धुलिखेल अस्पताल पुगेर रिपोर्ट ल्याउन सकेनन् । पछि माघमा धुलिखेल अस्पतालमा रिपोर्ट माग्न जाँदा अस्पतालले पुरानो मितिमा परीक्षण गरेको उल्लेख गरे पनि रिपोर्ट चाहिँ सफ्टवेयरको समस्या देखाएर माघकै मिति राखेर उपलब्ध गरायो ।

सोही रिपोर्ट कार्कीले कम्पनीलाई बुझाए । तर कम्पनीले रिपोर्ट भएन भनेर प्रक्रिया रोक्यो । कहिले वडाको सिफारिसमा कोरोना पुष्टि भएको मिति परिवर्तन गर भन्दै गलत रिपोर्ट बनाउन प्रोत्साहित गर्‍यो । कोरोना बिमा दाबी गरेको ११ महिना बित्दा पनि हालसम्म उनले बिमा रकम पाएका छैनन् । उनले जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दर्ता गरे ।

प्रमुख जिल्ला अधिकारीले पीडितलाई बिमा नपाउनुको कारण जानकारी दिई तत्काल रकम उपलब्ध गराउन निर्देशन दिए । तर उक्त निर्देशनको समेत कार्यान्वयन भएको छैन । अब उनी अन्तिममा अदालतको ढोका ढक्ढक्याउने तयारीमा छन् । कार्की मात्र होइनन् । जिल्ला अस्पताल रुम्जाटारका ल्याब टेक्निसियन सिकेन्दर यादवको समस्या ठ्याक्कै त्यस्तै छ । नमिलेको कागज मिलाउने काममै बिमामा पाउने भनिएको भन्दा आधा रकम खर्च भइसक्यो । तर बिमा रकम प्राप्त गरेका छैनन् । कार्की र यादवको झैं अन्यलाई यस्तै समस्या देखाएर एक वर्षदेखि झुलाउने काम भइरहेको छ ।

दाबी बिमा रकम भुक्तानी हुन्छ : सीईओ पौडेल

केन्द्रीय बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा रकम लिएको र प्रमाणसहित दाबी गरेकाको भुक्तानी हुने बताए । शुक्रबार सदरमुकाममा आयोजित स्थानीय तहसँग बिमा समिति विषयक अन्तर्क्रियामा पीडितहरूको जवाफ दिँदै पौडेलले त्यस्ता रकम भुक्तानी हुने बताए । उनले हालसम्म ४ अर्ब ५० करोड रकम कोरोना बिमाबापत भुक्तानी भइसकेको बताए ।

‘अब ६ अर्ब ९० करोड दाबी भुक्तानी बाँकी छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘केन्द्रीय बिमा समितिमार्फत नेपाल सरकारसमक्ष कुरा राखिसकेका छौं । दाबी गरेकाहरूले जसरी पनि रकम पाउनुहुन्छ । ढिलो भएकोमा हामी क्षमा माग्छौं ।’ उनले बिमा शुल्क उठाइसकेपछि दाबी रकम सम्बन्धित बिमा कम्पनीले दिनैपर्ने बताए । कार्यक्रममा स्थानीय कृषकहरूले पशु बिमामा सम्बन्धित कम्पनीले निकै दुःख दिने गरेको गुनासो गरेका थिए । त्यससम्बन्धमा बिमा समितिका कार्यकारी निर्देशकले सम्बन्धित कम्पनीलाई समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

प्रकाशित : आश्विन २, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?