कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १ को मुख्यमन्त्रीमा तीन आकांक्षी

गठबन्धनमध्येका प्रतिपक्षी तीन दलका आ–आफ्ना दाबी
देवनारायण साह

मोरङ — प्रदेश १ का विपक्षी गठबन्धन दलले अल्पमतमा परेका मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध आउँदो साता अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । तर अविश्वासको प्रस्ताव दर्ता गराउँदा प्रस्तावित मुख्यमन्त्रीमा कसको नाम राख्ने भन्ने टुंगो लगाउन भने सकस भएको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा तीन आकांक्षी

प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितको गठबन्धनमा तीन जना मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् । कांग्रेसका नेता राजीव कोइराला, माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई मुख्यमन्त्रीका आकांक्षी हुन् ।

यसअघि एमालेबाट एकीकृत समाजवादीमा जाने सांसदहरूलाई निर्वाचन आयोगले मान्यता दिनेबित्तिकै सरकार गठनको प्रक्रिया सुरु गर्ने गठबन्धन दलका नेताहरूले बताउँदै आएका थिए । तर पछिल्लो समय गठबन्धन दलमा कुन दलको नेतृत्वमा सरकार गठन प्रक्रिया सुरु गर्नेबारे नै अन्योल देखिएको छ ।

गठबन्धन दलमध्ये कांग्रेसका कोइराला, माओवादी केन्द्रका आङ्बो र एकीकृत समाजवादीका राई तीनै जना मुख्यमन्त्री पाउन आ–आफ्नै कसरतमा छन् । तीनै दलका नेताहरूले नेतृत्व आ–आफ्ना पोल्टामा पार्न केन्द्रमा सरकारको जोडबल लगाइरहेका छन् । यसअघि कांग्रेस र एकीकृत समाजवादीले मात्रै प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए तर पछिल्लो समय माओवादी केन्द्रका नेता आङ्बोले पनि सम्पूर्ण शक्ति लगाएर मुख्यमन्त्रीको दौडमा देखिएका हुन् ।

गठबन्धन दलले प्रदेश सरकारको नेतृत्व टुंगो लगाउन नसकेकाले केन्द्रको मुख ताकेर केन्द्रीय गठबन्धनमै आ–आफ्ना पक्षमा मुख्यमन्त्रीका लागि निर्णय गराउन जोडबल लगाइरहेका छन् । कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेस प्रमुख प्रतिपक्षी र गठबन्धन दलमध्ये सबभन्दा ठूलो दलको हैसियतमा सरकारको नेतृत्वका लागि पहिलो हकदार भएको भन्दै मुख्यमन्त्री दाबी गरेका छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वको समन्वयमा गठबन्धन दलबीच छलफल गरेर सरकारको नेतृत्वको विषय टुंगो लगाउने बताए ।

एकीकृत समाजवादीका नेता राजेन्द्रकुमारले आफूहरूले ठूलो आरोहअवरोह पार गर्दै आएकाले प्रदेश सरकारको नेतृत्व पाउनेमा आशावादी रहेको बताए । उनले गठबन्धन दलबीच यसअघि पनि एकखाले सरकारको नेतृत्व दिनेबारे सहमति भइसकेको दाबी गरे । यसैबीच माओवादी केन्द्रका नेता इन्द्रबहादुर पनि पछिल्लो समय मुख्यमन्त्रीको दौडमा देखिएका छन् । उनले सरकारको नेतृत्वबारे खुलेर बोल्न चाहेनन् । गठबन्धन दलबीचको सहमतिले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे निर्णय गर्ने उनले बताए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आह्वान गरिसकेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेशसभाको पहिलो बैठकमा नै विश्वासको मत प्राप्त गर्न प्रस्ताव राख्ने तयारी गरेका हुन् । एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका १० जना प्रदेश सांसदले आइतबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा समर्थन नरहने पत्र दर्ता गराएका छन् । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गठबन्धन दलमा देखिएको सरकार नेतृत्वको सकसको फाइदा उठाउँदै सदनमा विश्वास सिद्ध गर्ने दाउमा छन् । उनले सदनबाट विश्वासको मत प्राप्त गर्ने विश्वासका साथ हिउँदे अधिवेशन आह्वानको सिफारिस गरेको दाबी गरे ।

विपक्षी गठबन्धनले असोज ७ गतेभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया सुरु नगरे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको छ । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न र गठबन्धनलाई मुख्यमन्त्रीलाई विफल गर्न दुवैलाई घटीमा ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १/१ जना प्रदेश सांसद छन् । एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

प्रकाशित : आश्विन २, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?