१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

महामारीमै जुर्‍यो अवसर

पर्वत पाेर्तेल

काँकडभिट्टा — धेरैका लागि अभिशाप बनेको कोरोना महामारीको समय कसैका लागि भने अवसर बनेको छ । झापा बाहुनडाँगीका युवा विकास प्रधानका लागि यो अवसर बन्यो । दुई वर्षयता कोरोना संक्रमणबाट धेरैले ज्यान गुमाए । उद्योगधन्दा चौपट बन्यो ।

महामारीमै जुर्‍यो अवसर

उक्त समयमा कतिपय मान्छे होटल व्यवसायबाट पलायन हुँदै थिए । प्रधान भने त्यसै बेला नयाँ सोच र योजनाका साथ होटल सञ्चालनको तयारीमा जुट्दै थिए ।

‘महामारीलाई दुःखको रूपमा हैन, अवसरको रूपमा ग्रहण गरें’, प्रधानले सुनाए । नेपाल–भारत सीमावर्ती मेची नदीदेखि करिब ५ सय मिटर वरैको नेपाली भूभागमा उनको २७ कठ्ठा जमिन छ । त्यही जमिनमध्ये करिब ६ कठ्ठामा होटल व्यवसाय सुरु गरे । नाम जुराए, ‘दशगजा’ । दशगजा होटललाई उनले मजाले सजाएका छन् । प्रवेशद्वारमै बयलगाडाको चक्का छ । वरिपरि सजाइएको चोयाको डोकोले होटललाई थप खुलाएको छ । दशगजा उनको पुरानो योजना हो । करिव दस वर्षअघिदेखि उनले दशगजानजिकै दशगजा होटल र होमस्टे सञ्चालनको योजना बुनेका थिए । भदौ १ बाट उनको योजना कार्यान्वयनमा आयो ।

‘श्रीमती घरमै हुँदादेखि मेरो दिमागमा यो योजना घुमेको थियो’, प्रधानले भने, ‘श्रीमती विदेश बसेर फर्किएपछि बल्ल पूरा भयो ।’ प्रधानकी पत्नी पिङ्की १० वर्ष इजराइल बसेर हालै घर फर्किइन् । पत्नीसँगको सहकार्यमा उनले इजराइलको कमाइ होटलमा खर्चिए । उनले होटल निर्माणमा करिब ३५ लाख रुपैयाँ लगानी गरेको जनाए । उनका अनुसार निकट भविष्यमा करिब २ करोड रुपैयाँ खर्चिएर होटललाई व्यवस्थित गर्ने योजना छ । ‘होटललाई अत्याधुनिक बनाउने योजना छ’, उनले सुनाए, ‘स्विमिङ पुल, माछापोखरी आदि निर्माण गर्छु, होटललाई यो क्षेत्रकै उत्कृष्ट बनाउँछु ।’

बाहुनडाँगी हात्ती प्रभावित क्षेत्र पनि हो । हात्तीका कारण धेरै सर्वसाधारणले दुःख भोगेका छन् । तर, हात्तीलाई उनले पर्यटनसँग जोडे । होटलमा दुईतले टावर बनाए । टावरमाथि चढेर हात्ती हेर्न सकिने चाँजोपाँजो मिलाए । ‘हात्ती हेर्नकै लागि अहिले साँझको समयमा भीड लाग्ने गरेको छ’, पिङ्कीले भनिन् । हात्ती हेर्न दूरबिन पनि राखिएको छ । फोटो खिच्न चाहनेका लागि क्यामेरा उपलब्ध छ । यो होटलको अर्को विशेषता यहाँ पाक्ने सबै परिकार रैथाने उत्पादनको छ ।

उनको ‘गोठदेखि भान्छासम्म’ भन्ने अर्को अभियान छ । त्यही अभियानलाई साकार पार्ने योजनाअनुसार अर्ग्यानिक तरकारीदेखि कुखुरा, हाँस, टर्की, खसी र बंगुरसम्म पालेका छन् । लोकल कुखुरा खान चाहने ग्राहकलाई खोरबाट कुखुरा झिक्छन् अनि काटेर ख्वाउँछन् । ‘एक हजार रुपैयाँ तिरेपछि एक किलो लोकल कुखुराको मिठो मासु उपलब्ध गराउँछौं’, प्रधानले भने ।

प्रकाशित : आश्विन १, २०७८ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?