१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धरानमा तिहार पछि मात्र विद्यालय खुल्ने

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोनाको उच्च जोखिम रहेकाले धरान उपमहानगरपालिका क्षेत्रमा दसैं तिहारपछि मात्र विद्यालय खोल्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । 

धरानमा तिहार पछि मात्र विद्यालय खुल्ने

उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको थियो । तर बिहीबार बसेको नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरुले कोरोनाको उच्च जोखिम भएको र बालबालिकालाई कोरोना विरुद्धको खोप पनि नलगाइएकाले हतार गर्न नहुने अडान लिएपछि तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरिएको हो ।

उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सरकारको स्वास्थ्य मन्त्रालयले कोरोनाको उच्च जोखिम अझै रहेको जनाउँदै स्कुल खोलीहाल्ने हतार नगर्न विज्ञप्ति जारी गरेको, संक्रामक रोग विशेषज्ञहरुले पनि बालबालिकालाई खोप नलगाइएको अवस्थामा झन् संक्रमण फैलन सक्ने चेतावनी दिएको र संक्रमण पूर्ण रुपमा अन्त्य नभएकाले दसैं-तिहार पछि मात्र खोल्ने निर्णय कार्यपालिका बैठकले गरेको बताए ।

नगर कार्यपालिका प्रवक्ता रहेका वडा नं २० का अध्यक्ष मणिराम राईले चाडपर्वहरु पनि नजिकिएको र बिदा हुने बेलामा बालबालिकालाई पनि संक्रमण हुनसक्ने देखिएकाले दसैं तिहारपछि मात्र विद्यालय खोल्ने निर्णय गरिएको बताए ।

उनले भने, ‘स्वास्थ्य मापदण्ड भए पनि विद्यालयमा बालबालिकाहरु एकैठाउँ रहने र खेल्ने, पढ्ने भएकाले कोरोना संक्रमणको दर नघटेसम्म विद्यालय खोल्न उचित नदेखिएको अधिकांश वडाध्यक्षहरुले अडान लिएपछि दसैं तिहार पछि मात्र स्कुल खोल्ने निर्णय भएको छ ।’

धरानमा अझै पनि दैनिक ३० देखि ५० जना कोरोना संक्रमित थपिरहेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?