१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अभिभावकलाई अगुवा बनाएर बालबालिका ‘तस्करी’

पर्वत पोर्तेल

काँकडभिट्टा — मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जीका इन्द्रबहादुर विककी आठ वर्षीया छोरी नजिकैको ताल्बुङ आधारभूत विद्यालयमा ३ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि पढाइ रोकियो ।

अभिभावकलाई अगुवा बनाएर बालबालिका ‘तस्करी’

त्यही बेला काठमाडौंबाट सोनाम लामा नाम गरेका व्यक्ति उनको घर पुगे । लामाले विकसँग अनौठो प्रस्ताव गरे, ‘भारतको सिलिगुडीमा एउटा संस्था छ, त्यो संस्थाले छोरीलाई १२ कक्षासम्म होस्टेलमा राखेर निःशुल्क पढाइदिन्छ ।’ सुरुमा त इन्द्रबहादुरले पत्याएनन् । तर गाउँका अन्य अभिभावक पनि आफ्ना बालबालिकालाई पढ्न भारत पठाउन मञ्जुर भएको सुनेपछि उनलाई पनि हो कि जस्तो लाग्यो । गाउँका अन्य १३ बालबालिकासँगै छोरी पुर्‍याउन उनी आफैं सिलिगुडी जाने भए ।

पूर्वी नाकामा मंगलबार प्रहरीले रोकेपछि इन्द्रबहादुर छाँगाबाट खसेझैं भए । पढाइको बहानामा अबोध छोरीको तस्करी हुन लागेको कुरा बल्ल उनले बुझे । पढाइदिने बहानामा भारत तस्करी गर्न लागिएका एकै गाउँका १४ बालबालिकालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नाकाबाटै घर फर्काएको छ । भारतको सिलिगुडीमा रहेको भनिएको टाँसी हिमालयन इन्टरनेसनल स्कुलमा पढाउन भनेर ती बालबालिका तस्करी हुन लागेका थिए । सिलिगुडीमा यस किसिमको कुनै स्कुल नरहेको प्रहरीले जनाएको छ ।

आठवर्षे छोरालाई पुर्‍याउन काँकडभिट्टा आइपुगेकी निर्मला विकले सिलिगुडीको स्कुलले १२ कक्षासम्म निःशुल्क पढाइदिने भनेपछि छोरोका पढाइ छुटाएर भारत हिँडेको बताइन् । ‘१२ कक्षासम्म छोराले निःशुल्क पढ्न पाउने भयो भनेर राजीखुसी नै छोरो पढाउन लिएर हिँडेकी हुँ,’ उनले भनिन् ।

घर फर्काइएका बालबालिका ६ देखि १२ वर्षसम्मका छन् । बालबालिकामध्ये ८ जना बालिका छन् । कता हिँडेको भनी राखिएको जिज्ञासामा ६ वर्षका एक बालकले तोतेबोलीमा भने, ‘दादा दिदीहरू जता जाँदै छन् तेतै ।’ बालबालिका तस्करीका लागि गाउँपालिकाले नै सिफारिस गरेको पाइएको छ । थासाङ–५ का वडाध्यक्ष सोमल हिराचनले बालबालिकालाई पठनपाठनका लागि भारतको सिलिगुडी लैजान लागिएकाले आवश्यक प्रक्रिया मिलाइदिन अनुरोध गरेर सिफारिस गरेका छन् ।

जनप्रतिनिधिसमेत गिरोहसँग मिलेको प्रहरीको अनुमान छ । लामाले अभिभावकको सहमतिमै बालबालिकालाई भारत लैजान लागिएको जनाए । उनले भने, ‘गाउँपालिकाले पनि बालबालिका भारत लैजान अनुमति दिएको छ ।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिल दाहालले पढाइको बहानामा भारत लान लागिएका बालबालिका गम्भीर जोखिममा पर्ने भएकाले घर फर्काइएको जनाए । बालबालिका तस्करीमा संलग्न सोनाम लामा लगायतलाई कारबाहीका लागि सिफारिससहित मुस्ताङका प्रजिअलाई पत्राचार गरिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?