कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा जनगणनाका लागि सुपरिवेक्षण सुरु

पशुचौपाया तथा जग्गाजमिनको समेत विवरण समावेश गरिने
आनन्द गौतम

ताप्लेजुङ — पहिलो चरणमा बुधबारदेखि सुपरिवेक्षकले प्रत्येक घरमा गएर प्रारम्भिक विवरण संकलन गर्ने क्रम सुरु भएको छ । जनगणना कार्यालय ताप्लेजुङका प्रमुख मानवबहादुर थापाका अनुसार सुपरिवेक्षकले प्रत्येक घरमा अनिवार्य पुगेर प्रारम्भिक विवरण भर्नुपर्छ र घरमा देखिनेगरी संकेत नम्बर लेख्नुपर्छ । कहाँबाट कसरी सुरु गर्ने भनेर यसअघि नै नक्सांकन गरिएको छ ।

ताप्लेजुङमा जनगणनाका लागि सुपरिवेक्षण सुरु

यस चरणमा सुपरिवेक्षकले घरमुलीको नाम, परिवार संख्या, महिला पुरुष संख्या, हाल घरमा रहेको र बाहिर रहेको संख्या यकिन गरेर फाराम भर्ने छन् । पशुचौपाया, आफू बसेको ठाउँ र त्यहाँभन्दा बाहिर भएको जग्गा जमिनको विवरण पनि समावेश गर्ने छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको विवरण पनि भरिने छ । घर परिवारका कति सदस्यको बैंक खाता छ, घर बनाउँदा राज्यबाट क्रण वा सहयोग लिएको छ कि छैन, परिवारका सदस्यले व्यावसायिक तालिम लिएका छन् कि छैनन् भन्ने विषय पनि विवरणमा समेटिनेछ ।

बाख्रा, कखुरा, गाई, भैंसीको संख्या यकिन गरिनेछ भने परिवारका सदस्य कती घरमा छन् कति बाहिर छन् भन्ने विवरण पनि लिइनेछ । सर्वेक्षक पौडेलका अनुसार घरमा एक जना मात्रै भेटिए पनि सबै विवरण दिन्छन् ।


जग्गा कति छ भन्ने विवरण प्राप्त गर्नचाहिँ अलिक समस्या भएको छ । जग्गा कहाँ–कहाँ छ भन्ने खुलाए पनि क्षेत्रफलको जानकार परिवारका सदस्य नभएको पाइएको उनले बताए । थापा सकेसम्म यकिन र यकिन हुन नसके अनुमानित भए पनि विवरण लिनुपर्ने बताउँछन् ।

असोज १८ गते सक्नुपर्ने सूचीकरणका लागी एउटा वडामा एक जना सुपरिवेक्षक खटाइएको छ । ‘कसैलाई सात सय घरसम्म पनि परेको छ, कसैलाई एक/डेढ सय परेको छ,’ थापाले भने, ‘पहिलाको पुरानो एउटा गाविसलाई एकजना खटाएका छौं ।’ सुपरिवेक्षकले २० दिनमा काम सक्नुपर्ने उनले बताए । धेरैले बुधबारदेखि नै काम थाले पनि तालिम लिएर जिम्मेवारी पाएका कतिपयको परीक्षालगायतका काम भएकाले एकदुई दिनमा सबैले काम थाल्ने जानकारी पाएको उनले वताए । सामान्यतया एक जनाले पाँच सय घर सुपरिवेक्षण गर्ने भनिए पनि भूगोललगायतका कारण धेरथोर भएको थापा बताउँछन् ।


ताप्लेजुङको फुङलिङ नगरपालिका–७ दोखुमा घरपरिवार संख्यात्मक विवरण लिँदै सुपरिवेक्षक । जनगणना २०७८ को प्रारम्भिक चरणअन्तर्गत घरपरिवार सुपरिवेक्षण सुरु गरिएको हो । तस्बिर : आनन्द/कान्तिपुर

सुपरिवेक्षक सकेसम्म सोही गाउँको राखिएको उनले बताए । ‘गाउँघरमा चिनजान हुने र विवरण लिन सजिलो होस् भनेर त्यही गाउँको राखिएको छ,’ थापाले भने, ‘गणकको चाहिँ टुंगो लागिसकेको छैन ।’ गणनामा भने एक जना सुपरिवेक्षकले काम गरेको ठाउँमा चार जना खटाइने उनले बताए । एक जना गणकलाई १ सय ५० घरसम्मको मात्रै गणना गर्ने जिम्मेवारी दिइने छ । कृषि, पशुको समेत गर्नुपर्ने भएको र तथ्यांक धेरै लिनुपर्ने भएकाले धेरै गणक परिचालन गरिनेछ ।

कात्तिक १५ देखि गरिने गणनाको अवधि एक महिनाको हुन्छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा ६१ वडा छन् । केन्द्रिय तथ्यांक विभागका अनुसार सूचीकरणका लागी देशभर ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ । वैशाखमा गर्ने तयारी भएको जनगणना कोरोना संक्रमणका कारण सरेको हो ।



प्रकाशित : भाद्र ३०, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?