पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।

कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरिएको छ ।

ताप्लेजुङमा पछिल्लो समय संक्रमणको दर न्यून हुँदै गएको छ । संक्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा पहिलो पटक आयो भारतीय निजी क्षेत्रको रेल

शंकर आचार्य

पर्सा — सिर्सिया सुक्खा बन्दरगाहमा बुधबार पहिलो पटक भारतको निजी क्षेत्रको मालवाहक रेल आइपुगेको छ । करिब सवा १० बजेको समयमा भारतीय हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक बन्दरगाहमा प्रवेश गरेको थियो । 

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हरियो झण्डा देखाएर उक्त रेललाई स्वागत गरेका थिए । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातानजिकको हल्दिया बन्दरगाहबाट हिँडेको ४० घण्टा पछि ८८ कन्टेनर बोकेर उक्त रेल नेपाली भूमिमा प्रवेश गरेको हो । सबै कन्टेनरमा नेपाली आयातकर्ताले तेसो मुलुकबाट आयात गरेको मालवस्तु रहका छन् ।

हिन्द टर्मिनल्स प्रालिका महाप्रबन्धक अभिनव गुप्ताले सबै कन्टेनरमा गेडागुडी तथा खाद्यान्न वस्तुहरु रहेको बताए । नेपाली आयातकर्ताहरुको माग र आवश्यकताअनुसार तत्काललाई साताको २ पटकसम्म भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगन्जसम्म यसरी रेल्वे र्‍याक ल्याइने उनले बताए । गुप्ताले भारतको निजी क्षेत्रको नेपाल प्रवेशले अब भारतीय रेल्वेको भगिनी संस्था कोंकणको एकाधिकार तोडिएको बताए ।

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले सुक्खा बन्दरगाहमा भारतको सरकारी र निजी क्षेत्रको रेलबीच प्रतिस्पर्धा भएपछि रेल्वे भाडा दर सस्तो हुने बताए । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २ महिनाअघि नेपाल र भारत सकारबीच भएको रेल्वे सर्भिस एग्रिमेन्टअनुसार, नेपाली, भारतीय वा विदेशी निजी कम्पनीले पनि मालवाहक रेल चलाउने स्वीकृति प्रदान गरेपछि भारतीय निजी कम्पनीले यसरी आफ्नो रेल ल्याउन पाएको बताए ।

हिन्द टर्मिनल्ससँगै भारतको अन्य निजी क्षेत्रका रेल पनि नेपाल आउन इच्छुक रहेको र उनीहरु प्रयासरत पनि रहेकाले भविष्यमा थुप्रै भारतीय निजी कम्पनीहरुको रेल यहाँसम्म आउनेमा आफू आशावादी रहेको उनले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले भारतीय निजी क्षेत्रको रेलको नेपालमा प्रवेशले ३ वटा फाइदा हुने बताए । ‘यसले एकातिर ढुवानी सेवामा प्रतिस्पर्धा बढछ भने त्यसले ढुवानी लागत कम पनि हुन जान्छ,’ उनले भने, ‘त्यससँगै नेपाली आयात–निर्यातकर्ताको अब समयको पनि बचत हुन जान्छ ।’

२०६१ सालदेखि सञ्चालनमा आएको मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सिया सुक्खा बन्दरगाहमा स्थापना कालदेखि भारतीय रेल्वको भगिनी संस्था कोंकणको रेलकै एकाधिकार थियो ।

प्रकाशित : भाद्र ३०, २०७८ १३:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×