१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अपांगतालक्षित कोसेली घर

देवनारायण साह

मोरङ — प्रदेश १ भरि अपांगता भएका व्यक्तिले गरेका उत्पादन बजारीकरण र बिक्रीका लागि विराटनगरमा सोमबारदेखि कोसेली घर सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय अपांग महासंघ प्रदेश १ ले विराटनगर–११ जनपथ टोलस्थित गुदरी हटियाअगाडि कोसेली घर सञ्चालनमा ल्याएको हो ।

अपांगतालक्षित कोसेली घर

कोसेली घरको प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले उद्घाटन गरे । साम्सोहाङले अपांगता भएका व्यक्तिले गरेको उत्पादन बिक्रीवितरणका साथै बजारीकरणको लागि कोसेली घर भरपर्दो माध्यम हुने विश्वास व्यक्त गरे । कोसेली घर स्थापना तथा सञ्चालनका लागि मन्त्रालयले राष्ट्रिय अपांग महासंघ प्रदेश १ लाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

अपांग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठले कोसेली घरले प्रदेशभरि छरिएर रहेका अपांगता भएका व्यक्तिले गरेको उत्पादन संकलन गरेर बिक्रीवितरण र बजारीकरण गर्ने थलोको रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् । ‘अपांगता भएका व्यक्तिले सीपमूलक तालिम लिएर सानो लगानीमा उत्पादन गर्दै आए पनि बिक्रीवितरण तथा बजारीकरणमा समस्या झेल्दै आएका थिए,’ उनले भनिन्, ‘अब कोसेली घर स्थापना भइसकेकाले उनीहरूले गरेका उत्पादन ल्याएर बिक्रीवितरणका साथै चौतर्फी बजारीकरण गर्न सहज हुन्छ ।’ अपांगता भएकाबाट उत्पादित बस्तु कोसेली घरले खरिद गरी बिक्रीवितरण गर्ने अध्यक्ष श्रेष्ठले बताइन् ।

‘यसले अपांगता भएका व्यक्तिलाई आयआर्जनका लागि सघाउ पुग्छ,’ उनले भनिन्, ‘कोसेली घरमा अगरबत्ती, हार्पिक, फिनेल, मुडा, गुडियालगायतका खेलौना, कुचो, कुसन, क्रिस्टलका पोते, कस्मेटिक सामग्रीलगायत हस्तकलाका सामग्री अहिले बिक्रीवितरणका लागि राखिएको छ ।’ कोसेली घर सञ्चालनका लागि दुई जना कर्मचारी नियुक्ति गरिएको उनले बताइन् । मुनाफासहित बिक्री गरेर कर्मचारी व्यवस्थापन, कोठा भाडा बुझाएर बाँकी रहेको मुनाफा अपांगता संरक्षण कोषमा राखिने अध्यक्ष श्रेष्ठले सुनाइन् ।

प्रकाशित : भाद्र ३०, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?