कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक दिन गाउँपालिका सम्हाल्दा...

बाल दिवसका अवसरमा मंगलबार १६ वर्षीया सुस्मिता ऋषिदेव बनिन् बूढीगंगा गाउँपालिका अध्यक्ष
‘जनप्रतिनिधि र भोटको महफ्व राम्ररी बुझ्न पाएँ, राजनीतिलाई घृणा गर्ने मानसिकता परिवर्तन भयो’ 
देवनारायण साह

मोरङ — बूढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मिता ऋषिदेव मंगलबार एकदिने अध्यक्ष बनेर गाउँपालिका सञ्चालन गरिन् । बुढीगंगा–२ सक्माकी सुस्मितालाई ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले एकदिने अध्यक्षको जिम्मेवारी लिखितरुपमै हस्तान्तरण गरेका थिए । उनलाई आर्थिक र प्रशासनिक बाहेकका अधिकार दिइएको थियो । 

एक दिन गाउँपालिका सम्हाल्दा...

सुस्मिताले अध्यक्षको पदभार ग्रहण गरेपछि गाउँपालिका अध्यक्ष माझीलगायत गाउँपालिका परिवारलाई धन्यवाद ज्ञापन गरी दिनभरिको काममा सबैलाई सघाउन आग्रह गरिन् । उनले तत्काल कार्यपालिकाको बैठक बोलाएर गाउँपालिकाको बारेमा जानकारी लिई दिनभरि गर्ने कामको बारेमा छलफल गरिन् । छलफलमा बिना कुनै ढिलासुस्ति छिटो, छरितो र सहज रुपमा गाउँपालिकाको सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिइन् । छलफलमा एकदिने अध्यक्ष सुस्मितालाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले सहजीकरण गरेका थिए ।

छलफलपछि सुस्मिताले स्वास्थ्य चौकी बुढीगंगा र कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरिन् । स्वास्थ्य चौकी अनुगमन गर्ने क्रममा उनले स्वास्थ्यकर्मीहरूलाई सेवाग्राहीलाई भरपर्दो र सहज सेवा प्रदान गर्न निर्देशन दिइन् । विद्यालयको अनुगमनपछि सरसफाइमा ध्यान दिन विद्यालय प्रशासनलाई उनले निर्देशन दिइन् । गाउँपालिका, स्वास्थ्य चौकी र विद्यालयको शौचालयमा चुकुल, महिलाले प्रयोग गर्ने सेनिटरी प्याड व्यवस्थापन गर्ने व्यवस्था गर्न सुस्मिताले प्रमुख प्रशासकीय अधिकृत बराललाई निर्देशन दिइन् ।

गाउँपालिकाको कार्यालयमा फर्केर उनले जनताको गुनासो सुनेर कार्यपालिकाको बैठक बोलाइन् । बैठकमा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालनका लागि बाल क्लबले पेस गरेको प्रस्तावमाथि छलफल गरी ५० हजार बजेट निकासा दिने निर्णय गरिन् ।

बैठकमा उनले गाउँपालिकामा निर्माण हुने भौतिक संरचना बालमैत्री बनाउने, सन् २०२५ भित्र गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणाका लागि आजैबाट काम थाल्ने र लामो समयदेखि बन्द रहेका विद्यालयमा सरसफाइ अभियान गरेपछि मात्रै कक्षा सञ्चालनको तयारी गर्ने निर्णय गरिन् । उक्त निर्णयपछि सुस्मिताले एकदिने अध्यक्षको जिम्मेवारी गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरिन् ।

उनले अशिक्षा र गरिबीको चपेटामा परेका भूमिहीन दलित समुदायकी छोरी आफूले एक दिनको लागि गाउँपालिकाको अध्यक्षको जिम्मेवारी पाउनु नै धेरै ठूलो विषय भएको बताइन् । ‘एक दिनको अध्यक्षको जिम्मेवारी निर्वाह गर्न पाएकोमा अत्यन्तै खुशी लागेको र आफूलाई भाग्यमानी ठानेको छु,’ उनले भनिन्, ‘अध्यक्षको जिम्मेवारी पाउँदा सुरुमा त अत्यन्तै डर लागिरहेको थियो तर पछि निर्धक्क भएर अनुगमनलगायतको काम गरी कार्यपालिकाको बैठक सञ्चालन गरें ।’

गाउँपालिकाको दैनिक कामकाज चलाउन धेरै चुनौती रहेको तर त्यसलाई सही नीति र त्यसअनुसारको योजना बनाएर काम गर्दा सबै सहज हुने सुस्मिताको भनाइ थियो । ‘जीवनमा राजनीति गरेर जनप्रतिनिधि बन्छु भन्ने परिकल्पनासम्म पनि गरेको थिइनँ तर सांकेतिक रुपमा भए पनि एक दिन गाउँपालिकाको अध्यक्ष भएँ,’ उनले भनिन्, ‘तर हरेक वर्ग, जात, लिङ्ग, समुदाय, क्षेत्रको समस्याको समाधान त्यहींबाट हुने रहेछ । त्यसैले राजनीतिलाई घृणा गर्ने मानसिकतामा मेरो थोरै भए पनि परिवर्तन भयो ।’ एकदिने अध्यक्ष हुँदा जनप्रतिनिधिका साथै भोटको महत्त्व राम्ररी बुझ्न पाएको सुस्मिताको भनाइ थियो ।

निर्वाचनको बेला विपन्न, दलित, सुकुम्बासी समुदायमा उम्मेदवारहरूले किन मासु र रक्सीको भोज गर्ने गरेको कारण एक दिने अध्यक्ष भएर जान्न पाउनु नै आफ्नो लागि सबैभन्दा ठूलो उपलब्धि भएको उनले सुनाइन् । ‘भोट माग्ने बेलामा हाम्रो विपन्न, दलित, सुकुम्बासी समुदायमा नेताहरूले दिनहुँजसो लोकल रक्सी र मासु बाँड्ने र भोज गर्ने गरेको देखेको छु,’ उनले भनिन्, ‘१/२ दिन रक्सी, मासु खाएर अयोग्य व्यक्तिहरूलाई भोट दिएर जिताएको मूल्य विपन्न, दलित, सुकुम्बासीले कसरी चुकाइरहेका छन्, बुझ्ने अवसर पाएँ ।’

स्थानीय नरग्राम माविमा कक्षा १२ मा अध्ययनरत सुस्मिताले अब पढाइसँगै विपन्न, दलित, सुकुम्बासी समुदायमा राजनीति र भोटको बारेमा जनचेतना अभिवृद्धिमा लाग्ने प्रतिबद्धता जनाइन् ।

बालबालिकाहरूलाई स्थानीय सरकार के हो र यसले कसरी कार्य गर्छ भन्‍ने प्रत्यक्ष अनुभूति दिलाउने उद्देश्यले बालिकालाई एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए । उनले बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउनुका साथै राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नविन रुपमा मनाउने योजनाअनुसार कार्यक्रम गरिएको बताए ।

गाउँपालिका अध्यक्ष माझीले बालिका सुस्मिताले गरेको तीनबुँदे निर्णय कार्यपालिको शुक्रबार बस्ने बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । ‘बालबालिकालाई बाल दिवसको अवसरमा चकलेट बाँडेर मनाउने परम्परागत शैली तोड्दै फरक ढंगले मनायौं,’ उनले भने, ‘सुस्मितालाई एक दिनको अध्यक्षको जिम्मेवारी दिएर समाजका अत्यन्तै तल्लो तहका भूमिहीन, दलित समुदाय, बालबालिकालगायतले अहिलेसम्म हामीले गाउँपालिकाबाट दिएको सेवालाई कुन रुपमा बुझेको र उहाँहरूको अपेक्षा के रहेको बारे जान्ने अवसर प्राप्त भयो ।’ उनले सुस्मिताको एकदिने अध्यक्षको जिम्मेवारीको अनुभवलाई प्रेरणाको रुपमा लिएर अबको बाँकी कार्यकाल गाउँपालिका सञ्चालन गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालले एक दिन ऋषिदेव समुदायकी बालिकासँग काम गर्न पाउँदा बालबालिका र विपन्न, दलित, सुकुम्बासीको बारेमा अत्यन्तै फरक अनुभूति भएको बताए । ‘बाल दिवसको अवसरमा बालबालिकालाई गाउँपालिकाको सेवालगायतको समग्र पाटोमा जानकारी गराउने उद्देश्यले एकदिने अध्यक्ष बनाएर कार्यक्रम सञ्चालन गर्‍यौं,’ उनले भने, ‘तर ती बालिकाले के सिकिन्, त्यो उनैलाई अनुभूति भयो तर हामीले बालबालिका, किशोरी, महिला, विपन्न, दलित, सुकुम्बासीको गाउँपालिकाप्रतिको बुझाइ र अपेक्षाबारे जान्ने अवसर प्राप्त गर्‍यौं ।’

एकदिने अध्यक्ष भएकी बालिकासँग दिनभरि काम गर्न पाउँदा बालबालिका, महिला र विपन्न, दलित, सुकुम्बासीप्रतिको सोचमा परिवर्तन ल्याइदिएको बरालले सुनाए । ‘एकदिने अध्यक्ष बालिकासँग काम गरेको अनुभवले बालबालिका, महिला, दलित, सुकुम्बासी, विपन्नकोबारे अत्यन्तै धेरै काम गर्ने बाटो पहिल्याइदियो,’ उनले भने, ‘गाउँपालिकाको अध्यक्षसँग काम गर्दा दिनभरि पुरानै विषयमा घोत्लेर त्यतिकै दिन बित्ने थियो तर बालिकासँग काम गर्दा अत्यन्तै फरक र नयाँ ज्ञान प्राप्त गर्ने अवसर पायौं ।’

प्रकाशित : भाद्र ३०, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?