१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बनिनसक्दै भत्कियो खानेपानी आयोजनाको संरचना

डम्बरसिं राई

खोटाङ — निर्माणाधीन बृहत खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको गुनासो चुलिएको छ । बनिनसक्दै भत्कन थालेपछि गुणस्तरहीन भएको गुनासो बढेको हो । एसियाली विकास बैंकको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार लगानीमा दुई वर्षअघि आयोजना सुरु भएको थियो ।

बनिनसक्दै भत्कियो खानेपानी आयोजनाको संरचना

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला र माझखोला तथा वडा ६ नेर्पाको काहुले खोलाको मुहानबाट पानी ल्याएर वडा नम्बर १, २ र ३ का उपभोक्तालाई लक्षित गरी आयोजना सुरु गरिएको थियो ।

आयोजनाको सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको प्रशोधन केन्द्र सहितको ट्यांकीको पूर्वी–उत्तरपट्टीको जग बनिनसक्दै भत्किएको स्थानीय धनिराम राईले बताए । उक्त जग पुरिएको माटोमा उठाइएकाले भत्किएको राईको भनाई छ । दिक्तेलको थामखोरेडाडाको ट्यांकी पनि बांगिएको राईको भनाइ छ ।

एक हजार ४९ घरधुरी उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले शहरी खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । उक्त ठेक्का आशिष निर्माण सेवा कम्पनीमार्फत पीईए–बीएन निर्माण कम्पनी जेभीले लिएको हो । लागत स्टिमेटभन्दा करिब १० करोड कममा ठेक्का पारिएको दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नवराज जोशीले बताए ।

समितिका अध्यक्ष धनकुमार जोशीले भने गुणस्तरहीन काम समितिले आयोजना जिम्मा नलिने बताए । ‘जबसम्म गुणस्तरीय र स्टिमेट अनुसारको काम हुँदैन तबसम्म हामी जिम्मा लिदैनौं,’ जोशीले भने ‘गुणस्तरहीन कामले उपभोक्ता र उपभोक्ता समितिलाई आर्थिक भार हुने भएकाले गुणस्तरहीन आयोजना जिम्मा लिदैनौं ।’

आयोजनाको अहिलेसम्म ट्यांकी निर्माण, पाइपलाइन विस्तारलगायत भौतिक पूर्वाधारको कामसहित करिब ९५ प्रतिशत प्रगति देखिएको अध्यक्ष जोशीले बताए । यो आयोजना अन्तरगत दिक्तेल बजारको विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिएको जोशीले बताए ।

पुरानो संरचनाका घर भएकाले दिक्तेल बजार आगलागीको जोखिम क्षेत्र भएकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको संयुक्त लगानीमा सय मिटर फरकमा २० वटा ‘फायरिङ गेट’ जडान गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए ।

सहमति कार्यान्वयन नभएको गुनासो

आफूहरुसँग भएको सहमति कार्यान्वयन नभएको स्थानीयले गुनासो गरेका छन् । यो आयोजनाले आफ्नो क्षेत्रको पानी जति उपयोग गरेकाले आफूहरुलाई पानीको अभाव हुने, खेतीयोग्य जमिन बाँझिने भएको भन्दै स्थानीयले विभिन्न माग राखेपछि विभिन्न विषयमा सहमती भएको तर कार्यान्वयन भने नभएको स्थानीयको गुनासो छ ।

२०७७ असोज १५ गतेको छलफलमा सोल्मामा एक घर, एक धारा पानीको व्यवस्था गर्ने, दुई वटा आरसीसी सिचाइँ कुलो र एउटा रिजर्भ पोखरी बनाई दिने सहमति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका वडाअध्यक्ष हर्क खत्रीले बताए । त्यस्तै, नेर्पामा पनि दुई वटा आरसीसी सिचाइँ कुलो, रिचार्ज पोखरी र खानेपानीको व्यवस्था गर्ने सर्तमा मुहान दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाअध्यक्ष माधव राईले बताए ।

यसबाहेक उक्त आयोजनाले प्रभावित क्षेत्रका समुदायलाई २५ वर्षसम्म पाँच प्रतिशत र त्यसपछि २० प्रतिशत रोयल्टी दिने सहमति गरिएको वडाअध्यक्ष खत्रीले सुनाए ।

प्रकाशित : भाद्र २८, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?