१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस अधिवेशन : ताप्लेजुङका पालिकामा तीव्र प्रतिस्पर्धाको सम्भावना

आनन्द गौतम

ताप्लेजुङ — अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरेको कांग्रेसको गाउँपालिका र नगरपालिकामा भने सर्वसम्मतको सम्भावना निकै कम देखिएको छ । अधिकांश गाउँपालिकामा एकभन्दा बढी उम्मेदवार रहेको र उनीहरू सक्रियतापूर्वक भोट माग्न थालेकाले निर्वाचन हुने सम्भावना बढेको छ ।

कांग्रेस अधिवेशन : ताप्लेजुङका पालिकामा तीव्र प्रतिस्पर्धाको सम्भावना

कांग्रेसले पुरानै शैलीअनुरूप वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिबाट गाउँ तथा नगरपालिका, निर्वाचन क्षेत्र र जिल्ला नेतृत्व तथा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्ने नीति लिएको छ । यही नीतिअनुरूप भाद्र १८ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फुङलिङ नगरपालिकाको सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । तीमध्ये नेपाल विद्यार्थी संघका पूर्वसभापति गोपाल गुरुङले भने उम्मेदवारी फिर्ता लिन सक्ने बताएका छन् । ‘साथीहरूलाई सर्वसम्मत गराउने प्रयास गरिरहेको छु,’ गुरुङले भने, ‘त्यो अवस्थामा मैले फिर्ता लिन्छु ।’

जोकोहीको नाममा सर्वसम्मत भए पनि आफू छोड्न तयार रहेको गुरुङले बताएका छन् । तर सुरेश सिंघक, युवराज बराल र घनेन्द्र गुरुङले भने उम्मेदवारी फिर्ता नलिने बताएका छन् । ‘मैले एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसकेको छु,’ सिंघकले भने, ‘अब स्वभावैले मैले नेतृत्व गर्ने हो ।’ बराल र गुरुङले पनि आफूहरू सभापतिका लागि योग्य भएकाले उम्मेदवार बनेको बताएका छन् । पाथीभरा याङवरक गाउँपालिकामा सभापतिका पाँच आकांक्षी छन् । हेमलाल मेन्याङवो, राजकुमार कार्की, गणेश खिम्दिङ, देवी कार्की र भीम बस्नेतले आकांक्षा देखाएका छन् ।

पाँचबाट घटाएर तीन जनामा पुर्‍याएको र अधिवेशनको दिन विहानसम्म सर्वसम्मत गराउने प्रयास गरिने क्षेत्रीय सभापति राम कंलिवा बताउँछन् । दुई जना कसले छोडे भन्नेचाहिँ खुलाएनन् । ‘छलफल दिनहुँ भइरहेको छ अधिवेशनको दिन बिहान निर्णायक छलफल गर्छौं,’ कंलिवाले भने । सिरिजंगा गाउँपालिकामा लालकृष्ण चौहान र भीम दाहाल तथा मिक्वाखोलामा भक्त कार्की र पञ्च थलङबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । यी दुवै गाउँपालिकामा मिलाउने सम्भावना कम रहेको जिल्ला नेताहरू बताउँछन् । अरू सहर केन्द्रित हुँदा यी प्रतिस्पर्धी भने गाउँमै बसेर मतदातासँग मत मागिरहेका छन् ।

फक्ताङलुङ गाउँपालिकामा भद्र बोखिम र शेरबहादुर पतंवाले सभापतिका लागि दाबी प्रस्तुत गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकामा भने अहिलेसम्म विश्वनाथ सिटौलाको मात्रै दाबी रहेको तरुण दल सभापति खगेनसिंह हाङगामले बताए । सिटौला कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष पनि हुन् । यीबाहेकका मेरिङदेन, मैवाखोलामा पनि एकभन्दा बढी उम्मेदवार छन् । मेरिङदेनमा जयबहादुर खड्काले र मैवाखोलामा खगेन्द्र थत्लुङले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेको तर प्रतिस्पर्धी पनि रहेको हाङगाम बताउँछन् ।

प्रकाशित : भाद्र २६, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?