प्रदेश १ का चार जिल्लामा श्रम बजार सूचना सर्वेक्षण

विराटनगर — प्रदेश १ मा श्रम बजार र सूचना सर्वेक्षणको प्रक्रिया अघि बढाइएको छ । दक्ष जनशक्ति नहुँदा नेपालका उद्योगमा श्रममा परनिर्भरता बढेकाले यसको समाधानका लागि सर्वेक्षण गरिने भएको हो ।

श्रम बजारसम्बन्धी सूचना प्रणालीको विकास गर्न निजी क्षेत्रका रोजगारदातासँग राष्ट्रिय तहको सर्वेक्षण गरिने यससम्बन्धी परियोजनाले जनाएको छ । रोजगारदाताको आवश्यकताअनुसार बजारमा श्रम बजार सूचना प्रणालीको विकास र त्यसअनुसार सर्वेक्षण गर्न देशभरका २४ वटा जिल्ला छनोट गरिएको जनाइएको छ ।

प्रदेश १ का उदयपुर, मोरङ, इलाम र सोलुखुम्बु गरी चार जिल्लामा परियोजना सञ्चालन हुनेछ । युरोपियन युनियनको आर्थिक सहयोगमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, निर्माण व्यवसायी महासंघ र होटल संघ नेपालले संयुक्त रूपमा सर्वेक्षणको काम गरिने जनाइएको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले इम्प्लोयर लेड लेबर मार्केट सेक्रेटेरियट परियोजनाले उद्योग व्यवसाय क्षेत्रमा विद्यमान दक्ष जनशक्ति अभावको समस्या समाधान गर्ने बताए ।

महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले दक्ष जनशक्ति नहुँदा नेपालका उद्योगमा चाहिने श्रममा परनिर्भरता बढेकाले समस्या समाधान आफैं गर्नुपर्छ भने यो परियोजना सुरू गरेको जानकारी दिए । उद्योग कलकारखानामा चाहिने जनशक्ति प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले उत्पादन नगर्ने र सरकारले पनि जनशक्ति उत्पादन गर्न चासो नदेखाएका कारण महासंघ आफैंले यो क्षेत्रमा काम गर्नुपरेको श्रेष्ठको भनाइ छ ।

महासंघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले कोभिड–१९ महामारीका कारण भारतबाट कामदार नआउँदा नेपालका उद्योगले समस्या भोग्नुपरेको बताए । कामदार अभावमा उत्पादन कटौती गर्न बाध्य भएको उनको भनाइ छ ।

महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकालले जक्ष जनशक्ति पर्याप्त भए उद्योगहरूमा रोजगारी सुनिश्चित हुने साथै उत्पादन बढाउन सकिने बताए । गत कात्तिक महिनादेखि कार्यान्वयनमा आएको परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रमा निजी क्षेत्रको आवश्यकताअनुसार पेसागत वर्गीकरण मापदण्ड तथा श्रम बजार सूचना प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?