झापाका रंगकर्मी प्रकाश दाहाल बेपत्ता- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापाका रंगकर्मी प्रकाश दाहाल बेपत्ता

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाका रंगकर्मी प्रकाश दाहाल तीन दिनदेखि बेपत्ता छन् । हल्दिबारी –१ गोल्धापका २७ वर्षीय दाहाल भदौ १९ गतेदेखि दमकबाट बेपत्ता भएका हुन् । 

१२ बजे राति कोठामा नदेखेपछिसँगै सुतेका रंगकर्मीहरुले परिवारलाई खबर गरेका थिए । परिवारका अनुसार उनको मोबाइल, चप्पल कोठा मै छ । उनी शरीरमाथिको कपडा समेत नलगाई बेपत्ता भएको पीडित परिवारले जनाएको छ । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिइएको आमा दिलकुमारीले जानकारी दिइन् ।

पारिवारिक स्रोतका अनुसार दाहाल केही समययता दमकको कदम थिएटरमा सक्रिय थिए । उनी दमकमै बस्थे । नेपाली चलचित्र पशुपति प्रसादमा समेत अभिनय गरेका दाहालले दर्जनौं नाटकमा अभिनय गरेका छन् ।

प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

ट्रकमा अतिरिक्त ट्यांकी बनाएर भारततर्फ तेल तस्करी

पर्वत पोर्तेल

काँकडभिट्टा — सामान्यतया ट्रक तथा अन्य गाडीमा तेल भर्ने एउटा मात्रै ट्यांकी हुन्छ । तर, अतिरिक्त ट्यांकी बनाएर भारततर्फ तेल तस्करी गर्ने भारतीय ट्रकलाई सोमबार प्रहरीले पूर्वी नाकाबाट नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अतिरिक्त तेल ट्यांकी बनाएर नेपालबाट डिजेल तस्करी गर्ने डब्लूबी ७३ डी २४४१ नम्बरको भारतीय ट्रकसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । 

डिजेल तस्करीका लागि नक्कली ट्यांकी बनाइएको पाइएकाले भारतीय ट्रक नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले जनाए । ट्रकको ट्यांकीभन्दा नक्कली ट्यांकीमा झन्डै दोब्बर तेल खपत हुन्छ ।

प्रहरीले नक्सलवारी, तथखोला बस्ने चालक ३० वर्षीय विकास दास र सोही स्थान बस्ने सहचालक ३४ वर्षीय सुजल साहलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ । भारतबाट आएका मालवाह ट्रकहरुले फर्किंदा यसैगरी अवैध रुपमा डिजेल तस्करी गर्ने गरेको पाइएको हो । प्रहरीले ५ सय ५० लिटर डिजेलसहित ७ लाख रुपैयाँ मूल्यांकन गरी ट्रक भन्सार दाखिला गरेको छ ।

भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो हुँदा सामान बोकेर नेपाल आएका भारतीय ट्रक, कन्टेनरहरुले फर्किंदा नेपालका पेट्रोल पम्पहरुबाट डिजेल र पेट्रोल तस्करी गर्ने गरेको पाइएको छ । भारतमा अहिले डिजेलको मूल्य प्रतिलिटर १ सय ४७ नेपाली रुपैयाँ छ । नेपालमा भने १ सय १३ रुपैयाँमा एक लिटर डिजेल पाइन्छ । नेपालबाट लगिएको एक लिटर डिजेलबाट करिब ३५ रुपैयाँ नाफा हुन्छ । भारतमा पेट्रोल पनि महँगो छ । नेपालमा प्रतिलिटर १ सय ३० मा पेट्रोल पाइन्छ । भारतमा १ सय ६३ रुपैयाँ पर्छ । भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल दुवै सस्तो पर्ने नेपाल आयल निगम डिपो चारआलीले जनाएको छ ।

सोमबार पक्राउ परेका भारतीय चालक विकास दासले नेपालवाट तेल लिएर बेच्दा राम्रो नाफा हुने भएकाले उक्त कार्यमा संलग्न भएको बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले भने,‘नाफा कमाउने लोभमा परियो, अहिले फसियो ।’

भारतबाट नेपाल आउने मालवाहक ट्रकहरुले पहिला पारिपट्टिको भारतीय वजार नक्सलवारीमा तेल भर्थे अहिले काँकडभिट्टा, धुलाबारी, चारआलीलगायतका पम्पहरुमा सयौं लिटर तेल भर्छन् । असमबाट कोइला बोकेर आएको ट्रकका चालक हरदीप सिंहले नेपालमा तेल भर्दा आफूलाई पकेट खर्च बच्ने बताए । ‘एक लिटरमा ४०, ५० रुपैयाँ बच्छ, २ सय लिटरमा मोटो रकम बचाउन सक्दा साइट इन्कम हुन्छ ।’

प्रकाशित : भाद्र २२, २०७८ ०९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×