सधैं पहिरोको डर

पर्वत पोर्तेल

बुद्धशान्ति, झापा — बुद्धशान्ति ३ की बबिता विश्वकर्मालाई बर्खा लागेपछि पहिरोको डरले सताउँछ । अघिल्लो वर्ष पनि घरको छानामै पहिरो खस्यो, यसपटक त पछाडिको पर्खाल नै भत्काइदियो । 

सधैं पहिरोको डर

अविरल वषापछि बिहीबार राति घरमाथि पहिरो खसेपछि विश्वकर्मा परिवार अहिले छिमेकी खेमराज विकको घरमा शरण लिइरहेको छ । खेमराजकै घर पनि पहिरोको उच्च जोखिममा छ । ‘धन्न दिउँसै पहिरो खस्यो र ज्यान बचाएर भाग्न सकियो’, बबिताले सुनाइन्, ‘राति आएको भए मरिन्थ्यो कि बाँचिन्थ्यो, थाहा छैन ।’

गाउँपालिका अध्यक्ष रमेश भुजेलले पहिरो जान सक्ने ठाउँमा घर बनाएर बस्ने परिपाटीले जोखिम बढाएको जनाए । पहिरोले घर भत्किएको निवेदन बोकेर गाउँपालिका पुगेकी बबितालाई अध्यक्ष भुजेलले भने, ‘पहिरो जाने ठाउँमा बस्नुहुन्छ, पहिरोले घर भत्काउँछ, ज्यानै लैजान्छ हामी के सहयोग गर्न सक्छौं र !’ अध्यक्षको भनाइ सुनेपछि बबिता निराश भएर घर फिरेकी थिइन् । ‘हामीलाई यस्तो ठाउँमा बस्ने रहर हैन, बाध्यता हो’, बबिताले गुनासो गरिन्, ‘गाउँपालिकाले अन्तै व्यवस्था गरिदिए छाडेर जान्थ्यौंै ।’

बबिताको परिवारले यो जमिन ४० वर्षदेखि उपभोग गर्दै आएको छ । तर, पालिकाले ऐलानी पर्ती जमिन भएकाले छाडेर जान भन्दै आएको छ । ‘हाम्रो जमिन भनेको यही हो, यो छाड्नुपर्छ भने पालिकाले अन्त कतै व्यवस्था गरिदिनुपर्छ,’ बबिताले भनिन्।

इलामसँग सिमाना जोडिएका उत्तरी झापाका बासिन्दालाई पहिरोको त्रासले बर्सेनि सताउँछ । खास गरी चुरे क्षेत्रका बासिन्दा वर्षौंदेखि पहिरोको त्रासमा बाँच्न विवश छन् ।

गत वर्ष झापामै पहिरो खस्दा एक बालकको ज्यान गएको थियो । तीन जना घाइते भएका थिए । बुद्धशान्ति–७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर आएका मेचीनगर–९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको ज्यान गएको थियो ।

गाउँपालिका अध्यक्ष भुजेलका अनुसार पहिरो जान सक्ने सम्भावित क्षेत्रमा नबस्न गाउँलेलाई आग्रह गरिएको छ । ‘तर उनीहरूले पटकपटक अटेरी गर्ने गरेका छन्,’ उनले भने ।

प्रकाशित : भाद्र २०, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?