झापामा भ्यानको ठक्करबाट बालकको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा भ्यानको ठक्करबाट बालकको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — पिकअप भ्यानको ठक्करबाट झापामा शुक्रबार एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका–३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टाँगी बस्ने लोहरा कापरीको ४ वर्षीय छोरा मानवको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गस्थित कमल गाउँपालिका ५ आदिवासी रंगशाला नजिकै बाटो काट्ने क्रममा बालकलाई भ्यानले ठक्कर दिएको थियो । प्रदेश ०३–००१ च ०३६४ नम्बरको भ्यानको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान र चालक मकवानपुर हेटांैडा नगरपालिका–११ का २४ वर्षीय अजय पाख्रिनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र १८, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

दूध बेचेरै करोडपति

साइकलमा दूध राखेर बिक्रीका लागि भारत पुर्‍याउने क्रम बाबु हुँदै छोरासम्म सर्‍यो । चिमरिया परिवारले घरमै खोलेको डेरीबाट दिनमै दूध मात्रै १७ हजार लिटर बिक्री हुन्छ ।
पर्वत पोर्तेल

धाइजन, झापा — परिवारको आर्थिक अवस्था नाजुक थियो । पहाडमा गरिखान मुस्किल हुन थाल्यो । त्यति नै बेला मधेसमा औलोको महामारी थियो । तर घनश्याम चिमरियालाई त्यसको कुनै परवाह रहेन । सिक्किमसँग सीमा जोडिएको पाँचथरको च्याङथापुबाट २०४० सालतिर उनको परिवार जीविका धान्न मधेस झर्‍यो ।

त्यस बेला जेठा छोरा राजन १० वर्षका थिए । झापाको धाइजनमा केही वर्ष अर्काको खेत अधियाँ गरे । केही वर्ष शिवगन्ज बसेर धाइजनै फर्किए । त्यहाँ पदम बस्नेतको ३ बिघा खेत अधियाँमा रोप्न थाले । ऋण गरेर गाई, भैंसी किने । ३/३ वटा गाईभैंसी पाल्दा दूध, दही र मोही छेलोखेलो भयो । यो ५० को दशकको कुरा हो । त्यो बेला भारतीय ग्वालाहरू साइकलमा दूध किन्न आइपुग्थे । त्यसमध्ये एक थिए, नक्सलबारीका हरेशप्रसाद सिंह । उनी नेपालको दूध सिलिगुडीसम्म पुर्‍याएर बेच्थे ।

केही वर्षपछि यी भारतीय ग्वालाले एउटा जुक्ति लगाए । चिमरियाकै घरमा दूध संकलन केन्द्र बनाउने अनि गाउँभरिको दूध संकलन गरी भारत लैजाने । पछि यतै दूध फटाएर ‘छेना’ मात्रै भारत लैजान थालियो । छेना दुग्धजन्य मिठाईहरू बनाउन प्रयोग हुन्छ । उक्त संकलन केन्द्रमा राजनका बुबा घनश्यामले पनि रोजगारी पाए । गाउँबाट दूध संकलन गरेर ल्याएबापत उनले ८ सय भारतीय रुपैयाँ तलब पाउने भए । घनश्यामले ४ वर्षजति काम गरेर छाडे । हरेशप्रसाद पनि आउन छाडे ।

राजनले बाबुको बाटो पछ्याए । दूध बोकेर भारत जान थाले । पहिलो दिन ५२ लिटर दूध साइकलमा मेची तारेको उनलाई अझै सम्झना छ । साइकलमा पानीटंकी र त्यसपछि गाडीमा सिलिगुडी पुर्‍याउँथे । भारतीय बजारमा नेपाली दूधका पारखी बढेपछि दैनिक ७ सय लिटरसम्म बिक्दैथ्यो । अचानक बिक्न छाड्यो । कारण उनलाई थाहा भएन । त्यहीबेला सिलिगुडीनजिक मतिगढाको हिमालयन को–अपरेटिभ मिल्क प्रोडक्ट युनियनका प्रमुख आइपुगे र राजनसँग भने, ‘तिमीसँग कति दूध छ ? हामी सबै किन्छौं ।’ २०५७ सालदेखि राजनले उक्त भारतीय सहकारीलाई दूध बेच्न थालेका हुन् ।

दैनिक करिब ५५ सय लिटरसम्म खपत हुन थाल्यो । व्यवसाय चलिरहेका बेला एक दिन भारतीय भन्सारले कागजी प्रक्रिया खोज्यो । उनले झन्झटिलो प्रक्रिया पूरा गर्न सकेनन् । २०६० बाट भारत दूध पठाउन छाडे । अनि यतै संकलन गरेर बेच्ने जुक्ति निकाले । २०६१ मा बिर्तामोडको पञ्चामृत दूध डेरी १४ लाखमा किने । दुई वर्षजति बिर्तामोडमा चलाएर धाइजनस्थित आफ्नै घरमा डेरी सारे । ‘उत्पादन र प्रशोधन गाउँमा, बिक्री सहरमा गर्ने योजनाका साथ डेरी सारेको थिएँ,’ राजनले सुनाए ।

डेरी सारेकै वर्ष छोरी जन्मिइन् । छोरीकै नामबाट रीतिका डेरीका रूपमा नाम परिमार्जन गरे । २०६० पछि डेरी उद्योगमा राजनका तीनै भाइ जोडिए । माइला केशव, साइँला योगेन्द्र अनि कान्छा सुमनले डेरीको विभिन्न विभाग सम्हालेका छन् । राजनले बेकरी पनि सञ्चालन गरेका छन् । ‘डेरी उद्योग हाम्रो पारिवारिक उद्योग हो,’ राजन भन्छन्, ‘बुबाले देखाएको बाटोमा हामी हिँड्दै छौं ।’

बैंकबाट १५ लाख ऋण लिएर सुरु गरेको डेरीमा हालसम्म करिब २० करोड रुपैयाँ लगानी भइसकेको उनी बताउँछन् । थप ११ करोड रुपैयाँ लगानीमा अत्याधुनिक डेरी सञ्चालनको समेत तयारीमा उनी छन् । डेरी, बेकरी उद्योगमा गरी करिब सय जनाले रोजगारी पाएका छन् । झापा, इटहरी, विराटनगर, इलाम, धरानलगायत बजारमा यहाँको दूध र दुग्धजन्य परिकार बिक्री हुने उनले बताए । ‘लगनशील र इमानदार भएर काम गर्दा स्वदेशमै सुन फलाउन सकिन्छ,’ उनले भने । सामान्यतया दैनिक १७ हजार लिटर दूध बिक्री गर्ने यो डेरीले दूधबाहेक दही, पनिर, घ्यू, दूधबाट बन्ने मिठाई पनि उत्पादन र बिक्री गर्दै आएको छ ।

प्रकाशित : भाद्र १६, २०७८ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×