१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारततर्फ इन्धन तस्करी बढ्दो

विराटनगरमा भन्दा बिहारमा डिजेल प्रतिलिटर ४२ रूपैयाँ र पेट्रोल प्रतिलिटर ३३ रूपैयाँ महँगो 
विनोद भण्डारी

मोरङ — बाराको अमलेखगन्जबाट २० हजार लिटर डिजल लोड गरेर ल्याइएको ना४ख ४६९ नम्बरको ट्यांकर विराटनगरस्थित नेपाल आयल निगम प्रदेश १ कार्यालयको पार्किङ स्थलबाट आइतबार राति गायब भयो । 

भारततर्फ इन्धन तस्करी बढ्दो

चालक यम खनाल र सहचालकले इन्धनसहित ट्यांकरलाई पार्किङमै राखेर सुत्न गएका थिए । प्रहरीले ट्यांकरलाई ५ किलोमिटर उत्तर बाँसबारीमा नियन्त्रणमा लियो । ट्यांकर चोरी गर्ने विराटनगर ४ का श्रवण यादव पक्राउ परे । उनी यसअघि नेपालबाट भारतमा पेट्रोलियम पदार्थ तस्करी गर्ने क्रममा पनि पक्राउ परेका थिए ।

यसअघि, भारतको बरौनी डिपोबाट विराटनगर डिपोका लागि २० हजार लिटर डिजल लोड भएको ना४ख ८४२४ नम्बरको ट्यांकरका चालक कृष्ण यादवले १६ हजार लिटर भारतमै बिक्री गरेका थिए । उनले ४ हजार लिटर डिजेल मात्र नेपाल भित्र्याई सुनसरीको एक पम्पबाट डिजेल खरिद गरी ट्यांकर भरेर निगमलाई बुझाएका सार्वजनिक भएको थियो ।

ना२ख ४३५२ नम्बर ट्यांकरका चालक मुन्नाले इटहरीका तीनवटा पम्पमा १२ हजार लिटर दिएर बाँकी ८ हजार लिटर डिजल भारतमा लगेर महँगोमा बेचेर ट्यांकरलाई भारतको बरौनीमा छाडेर फरार भएका थिए । भारतको बरौनी डिपोबाट निगमको क्षेत्रीय डिपो विराटनगरका लागि २० हजार लिटर डिजेल बोकेर आएको को१ख ५९६५ नम्बरको ट्यांकरबाट आधुनिक ताला नखोली २ हजार ५ सय लिटर डिजेल भारतमै बिक्री गरेर ल्याएको अवस्थामा चालक धर्मेन्द्र स्वर्णकार पक्राउ परे ।

तीन वर्षदेखि नेपालको तुलनामा भारतीय राज्य बिहारमा पेट्रोलियम पदार्थको मूल्य बढी हुँदा भारततर्फ डिजेल र पेट्रोल तस्करी बढ्दो छ । विराटनगरमा डिजेल प्रतिलिटर १ सय १० रुपैयाँ छ । भारतको बिहारमा प्रतिलिटर नेपाली १ सय ५२ रुपैयाँ छ । विराटनगरमा पेट्रोल प्रतिलिटर १ सय २९ रुपैयाँ र बिहारमा १ सय ६२ रुपैयाँ छ । भारतमा भन्दा नेपालमा सस्तो भएकाले इन्धन तस्करी मौलाएको छ । तस्करी बढेकै कारण सीमावर्ती क्षेत्रका पम्पलाई मागको आधा मात्र पेट्रोलियम पदार्थ उपलब्ध गरिएको निगमका प्रदेश प्रमुख नकुल भण्डारीको भनाइ छ । उनका अनुसार डिजेल तस्करी गरेको आशंकामा विराटनगरको देवमुना र इटहराको केयरली ट्रेडर्सलाई कारबाही गरिएको छ ।

ढुवानीका साधनले सामान अनलोड गरेर भारत फर्कंदा लरीलाई सय लिटर मात्र डिजेल दिने नियम निगम र स्थानीय प्रशासनको छ । तर त्यस्ता लरीले ट्यांकी भरेर फर्कने गरेकाले डिजेलको तस्करी बढेको सम्बद्ध पक्षको दाबी छ ।

भारततर्फ डिजेल तस्करी भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसीले स्विकारे । उनले भने, ‘हरेक पम्पमा प्रहरी राख्ने स्थिति छैन । भारत फर्कने ढुवानीका साधनलाई इन्धन दिने निश्चित पम्प हुनुपर्ने र ती पम्पले इन्धन दिएपछि सम्बन्धित निकायमा जानकारी गराउँदा नियन्त्रण सम्भव हुन्छ ।’

प्रकाशित : भाद्र १८, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?