१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

काँकडभिट्टा नाकामा भारतीयलाई प्रवेश खुकुलो

पर्वत पाेर्तेल

काँकडभिट्टा — करिव ५ महिनाअघि पूर्वी नाकाबाट भारतीय यात्रीको प्रवेशमा गरिएको कडाइ यतिबेला खुकुलो पारिएको छ । नाका खुकुलिएसँगै भारतीय यात्रीको आउजाउ बाक्लिन थालेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको ‘कोरोना विपद् व्यवस्थापन केन्द्र’ (डीसीसीएमसी) को वैशाख ८ को निर्णयले कोरोना संक्रमणको बढ्दो जोखिमका कारण भारतीय नागरिक प्रवेशमा कडाइ गरेको थियो । 

काँकडभिट्टा नाकामा भारतीयलाई प्रवेश खुकुलो

खोप लगाएको या ७२ घण्टाभित्र गरिएको पीसीआर रिपोर्टका आधारमा भारतीयलाई प्रवेश दिन थालिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले जनाए । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उपचारका लागि काँकडभिट्टा आउन चाहने भारतीयलाई पीसीआर रिपोर्ट वा खोप कार्डको आधारमा प्रवेशको आग्रहलाई प्रशासनले सुनुवाइ गरेको जनाए ।

कोरोनाका कारण लामो समयदेखि नाका बन्द छ । जसका कारण सीमावर्ती बजारका व्यवसायी धेरै नोक्सान व्यहोर्नुपरेको झापा ट्राभल संघका अध्यक्ष नीरबहादुर कार्कीले जनाए । कोरोना विपद् व्यवस्थापन केन्द्र झापाको भदौ १० को बैठकले आगामी २० गतेसम्म निषेधाज्ञा जारी राख्ने जनाएको थियो । त्यस्तै काँकडभिट्टा नाकाबाट विदेशी नागरिकलाई प्रवेशमा गरिएको निषेध जारी राख्ने र जिल्लाका अन्य नाका र गौंडाबाट हुने अवैध प्रवेशलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सीमा क्षेत्रका व्यवसायीले समेत आग्रह गरेपछि व्यावहारिकताका आधारमा भारतीयको प्रवेशलाई खुकुलो पारिएको जानकारी दिए । तर, कोरोना विपद् व्यवस्थापन केन्द्रले भने भारतीयलाई प्रवेश दिने विषयमा आधिकारिक निर्णय नगरेको उनले जनाए । उनले गृह मन्त्रालयको समन्वयमा भारतीयलाई आउन दिइएको जनाए । ‘जिल्लामा कोरोना संक्रमण दर पनि घट्न थालेको छ,’ प्रजिअ तिम्सिनाले भने, ‘अब बिस्तारै नाका सहज बनाउँदै लानुको विकल्प छैन ।’


प्रकाशित : भाद्र १५, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?