झापामा बाढीले नहर र खेत कटान- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा बाढीले नहर र खेत कटान

पर्वत पोर्तेल

काँकडभिट्टा — अविरल वर्षाका कारण झापाका विभिन्न स्थानमा बाढीले क्षति सुरु गरेको छ । कन्काईको बाढीले  गौरीगञ्ज गाउँपालिका १ रंगेथानस्थित कन्काई बाँधको ३५–४० मिटर क्षेत्रमा कटान सुरु गरेको छ ।

नहर कटानसँगै बाढीले धान खेतमा समेत कटान सुरु गरेको प्रहरीले जनाएको छ ।

बाढीले दक्षिण झापाकै महाभारा र कुन्जिबारी क्षेत्रका करिव सय घर डुबानको उच्च जोखिममा छन्। बाढी रोक्नका लागि बाँध बाँध्न स्थानीय निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले जिल्लाका अन्य क्षेत्रमा पनि बाढीले असर गरेको र विवरण आउन बाँकी रहेको जनाएको छ । निरन्तरको वर्षाका कारण झापाका कन्काई, मेची, विरिङ, मावा, रतुवा, कमल, टाङटिङ आदि नदीमा पानीको बहाव बढेको छ ।

प्रकाशित : भाद्र १२, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्

गरिब केटीको प्रेम

फ्रान्सका विश्वविख्यात कथाकार मोपासाँको जन्ममास हो– अगस्ट । यसै अवसरमा हामीले उनको एउटा कथा प्रस्तुत गरेका छौं । अनलाइन–लिटरेचरबाट साभार यो कालजयी कथा ‘द लास्टिङ लभ’ को नेपाली अनुवाद हो । कवि तथा कथाकार अभय श्रेष्ठले अंग्रेजीबाट यसको अनुवाद गरेका हुन् : 
एकपल्ट रक्सीको स्वाद चाख्नेले बारम्बार पिउँछ । त्यसैगरी एकपल्ट प्रेम गर्नेले फेरि प्रेम गर्छ, बारम्बार गर्छ । यही आदिम प्रकृति हो ।
गाई डे मोपासाँ

रातको खानापछि सिकारको मौसमबारे गफ चलिरहेको थियो । मार क्विस डी बरट्रस र पाहुनाहरू खाना खाने टेबलवरिपरि मैनबत्ती बालेर गोलो घेरा बनाई बसिरहेका थिए । टेबल फूलहरू र अनेक फलले सजिएको थियो ।कुराकानी प्रेमको विषयमा केन्द्रित भयो, जसमाथि लामो बहस चल्यो । मान्छेले सच्चा प्रेम एकचोटि मात्रै गर्न सक्छ वा बारम्बार भन्नेमा टुङ्गो नलाग्ने बहस भयो । एकपल्ट मात्रै सच्चा प्रेम गर्ने व्यक्तिहरूका उदाहरण धेरैले दिए ।

यसले ती व्यक्तिलाई उत्तेजित पारेको थियो, जसले एकपल्टभन्दा बढी प्रेम गरेका थिए । बहसमा सहभागी खासगरी पुरुषहरूको जोड के थियो भने प्रेमको छालले मान्छेको जिन्दगीमा कैयन् पटक असर गर्न सक्छ । प्रेममा व्यवधान गर्नेहरूलाई उनीहरू जरैदेखि समाप्त पार्न चाहन्छन् । बहसको यस पाटोमा कुनै विवाद थिएन । महिलाहरूको विचार अनुभवभन्दा बढी भावुकतामा आधारित थियो । तिनका विचारमा गहिरो र सच्चा प्रेम कुनै पनि मान्छेको जीवनमा केवल एकपल्ट हुन सक्छ, त्यो पनि वज्रजस्तै । जसको मन यस प्रकारको प्रेमको संसर्गमा आउँछ, त्यस्तो स्पर्शपछि खाली, शून्य र बिरानो हुन्छ । कतिसम्म भने त्यसपछि कुनै ठूलोभन्दा ठूलो अनुभूति र रङ्गीन सपनाले पनि तिनमा खुसी ल्याउन सक्दैन ।

बारम्बार प्रेममा परेको मारक्विसले अत्यन्त रोचक तरिकाले यस्तो विश्वासमाथि सन्देह प्रकट गर्‍यो, ‘म भन्छु, मानिसहरू जिन्दगीमा पूरै इमान र दिलको गहिराइमा पुगेर कैयन्पल्ट प्रेम गर्न सक्छन् । तपाईं मलाई त्यस्तो व्यक्तिको उदाहरण दिनुस्, जसले जीवनमा फेरि अर्कोपल्ट प्रेमको भाग्य जुर्दैन भनेर पहिलो असफल प्रेमका कारण जीवन समाप्त गरेको होस् । आत्महत्या, बेवकुफी वा भयानक गल्ती गरेर उनीहरूले जीवनमा यस्तो अवसर फेरि आउने सम्भावनालाई हमेसा समाप्त गरिदिएका छन् । सायद तिनको घाउ निको हुन्थ्यो र फेरि आफ्नो प्राकृतिक मृत्यु नआउन्जेल सानदार जीवन बाँच्न पाउने थिए । एकपल्ट रक्सीको स्वाद चाख्नेले बारम्बार पिउँछ । त्यसैगरी एकपल्ट प्रेम गर्नेले फेरि प्रेम गर्छ, बारम्बार गर्छ । यही आदिम प्रकृति हो ।’

उनीहरूले एक जना बूढो डाक्टरलाई निर्णायक मत प्रकट गर्न अनुरोध गरे । डाक्टरको विचारमा मारक्विसले भनेजस्तै यी सब व्यक्तिगत स्वभाव र प्रकृतिका कुरा हुन् ।

‘मेरो कुरा के छ भने,’ डाक्टरले भन्यो, ‘मलाई केवल एउटा अनौठो प्रेमकथाबारे थाहा छ, जो पचपन्न वर्षसम्म निरन्तर, एक दिन पनि नरोकिई चलिरह्यो । त्यो क्रम मृत्युपछि मात्रै सकियो ।’

मारक्विसकी पत्नीले आफ्ना दुवै हात टपक्क कसी, ‘यो गजब कुरा आयो, कस्तो अनौठो ! पचपन्न वर्षसम्म यस्तो जीवन्त र अनवरत प्रेम हुनु कति सुखद कुरा ! त्यो जीवन कति सौभाग्यशाली होला, जहाँ यति गहिरो प्रेमको सरोवर थियो ।’

हाँस्दै डाक्टरले भन्यो, ‘ठीक भन्नुभयो महोदया ! तर, यहाँ प्रेमपात्र केवल पुरुष थिए । उनलाई तपाईंहरू सबै जना चिन्नुहुन्छ । उनी थिए, गाउँका औषधि पसले अर्थात् महाशय चौकट । ती महिलालाई पनि चिन्नुहुन्छ । उनी कुर्सी मर्मत गर्ने गरिब आइमाई थिइन्, जो हरेक वर्ष यही गाउँमा आउँथिन् ।’

भद्र महिलाजनको उत्साह त्यसै मरेर गयो । निन्दा र उपेक्षा भावले केहीले निधार खुम्च्यिाए किनभने तिनलाई गरिब र साधारण मान्छेको प्रेमकथामा कुनै रुचि थिएन । डाक्टरले कथाको पोयो फुकायो, ‘तीन महिनाअघि मृत्युशय्यामा रहेकी तिनै महिलाकहाँ मलाई बोलाइयो । पादरीले मलाई उनीकहाँ पुर्‍याए । उनले हामीलाई आफ्नो इच्छापत्र लेखाउन चाहेकी थिइन् । इच्छापत्रबारे प्रस्ट पार्न उनले आफ्नो रामकहानी सुनाइन् । अहो, कति नितान्त निजी, अनुपम र मर्मभेदी प्रेमकथा थियो ! उनका आमाबाबु दुवै जना कुर्सी मर्मत गर्थे । उनीहरूको घर थिएन । भोकग्रस्त, झुत्री र फोहोरी ती फुच्ची बाबुआमासँगै भौंतारिन्थिन् । उनीहरू गाउँ, सहर र बस्तीका कुनै पनि सडकछेउ रोकिन्थे । बाबुआमाले कुर्सी मर्मत गरुन्जेल घोडा, गाडा र कुकुर त्यहीँ छाडिन्थे । बच्ची एक्लै त्यहीँ घाँसमा खेलिरहेकी हुन्थिन् । बाबुआमाको बोली विरलै सुनिन्थ्यो । बस्तीमा ती केवल कराइरहेका हुन्थे, ‘लौ कुर्सी मर्मत गराउनुस् हजुर !’

‘खेल्दाखेल्दै बच्ची जब टाढा पुग्थिन्, उनको बाबु धोद्रो स्वरले हकार्दै बोलाउँथ्यो । उनले कहिल्यै मायालु बोली सुन्न पाइनन् । ठूली भएपछि उनले बिग्रेका कुर्सीहरू बोकेर ल्याउन थालिन् । उनी वरिपरि बस्तीका बच्चाहरूसँग मित्रता गाँस्थिन्, तर उनीजस्ती नाङ्गो खुट्टा हिँड्ने गरिब केटीसँग खेलेकोमा तिनका बाबुआमा हकार्दै उनीहरूलाई बोलाउँथे । केटाहरू उनलाई ढुङ्गाले हिर्काउँथे । एकपल्ट एउटी दयालु महिलाले उनलाई केही पैसा दिएकी थिइन् । तिनले जतन गरेर राखिन् ।

‘उनी एघार वर्षकी हुँदा एकपल्ट ग्रामीण बजारको बाटो हिँडिरहेकी थिइन् । त्यसैबेला चिहानघारीको पछाडिपट्टि चौकट परिवारको फुच्चे केटो रोइरहेको थियो । साथीले उसको बगलीबाट दुई सिक्का चोरेर भागेको थियो । कहिल्यै दुःख नभोगेजस्तो लाग्ने त्यो सुकिलो र खानदानी बालकको आँसुले उनलाई विचलित बनायो । उनी त्यसको नजिक गइन् । बालकको दुःखको कारण बुझेपछि उनले आफूले जतनसँग राखेको सबै पैसा उसको खल्तीमा राखिदिइन् । उसले चुपचाप पैसा लियो र आँसु पुछ्यो । खुसीले पागल भएकी बच्चीले उसको गालामा म्वाइँ खाइन् । केटो पैसा गन्न व्यस्त थियो अतः उसले कुनै विरोध जनाएन ।

यो देख्दा अझै उत्साहित भएर केटीले उसलाई अँगालो हालिन् र टाप कसिन् । उनको दिमागमा के कुरा खेलिरहेको थियो ? केले यस्तो गर्न उत्साहित गरेको थियो ? आफ्नो सारा बचत मायालु केटोलाई सुम्पेकोमा वा जिन्दगीमा पहिलो पटक चोखो म्वाई खान पाएकोमा ? यो कुरा केटाकेटी वा जवान सबैमा उसैगरी लागू हुन्छ । महिनौंसम्म उनले चिहानघारीनिरको त्यो घुम्ती र फुच्चे केटोलाई सपनामा देखिरहिन् । केटोलाई फेरि दिन भनेर उनले कहिले किनमेल गर्दा अनि कहिले बाबुआमाको खोकिलाबाट झिकेर पैसा जोगाउन थालिन् । चिहानघारीनिर फेरि पुग्दा उनको खोकिलामा दुई फ्रेङ्क थियो । तर, केटो त्यहाँ थिएन । उसको बाबुको औषधि पसलको बाटो भएर हिँड्दा तिनले उसलाई काउन्टरपछाडि देखिन् । ऊ रातो र निलो ग्लोबको बीचमा बसिरहेको थियो । यी सानदार रङ्गीन ग्लोबहरूको बीचमा बसेको त्यो केटो उनलाई झनै सुन्दर र प्रिय लाग्यो । यो दृश्य सधैंका लागि उनले आफ्नो हृदयमा सुरक्षित राखिन् । अर्को वर्ष तिनले उसलाई स्कुलनजिकै गुच्चा खेलिरहेको अवस्थामा भेटिन् । तिनी उसको सामु गइन् र हात फैलाएर उसलाई अँगाल्दै प्रेमपूर्वक म्वाई खाइन् । केटो डरले चिच्यायो । उसलाई चुप लगाउन तिनले आफूसँग भएको सबै पैसा दिइन् । तीन फ्रेङ्क र चानचुन । रकम ठूलै थियो । केटो विस्फारित नजरले हेर्न थाल्यो ।

यसपछि उसले तिनलाई चाहेजति म्वाई खान दिइरह्यो । त्यसपछिका चार वर्ष उनले आफ्नो सबै बचत उसलाई दिइरहिन्, जुन केटोले जतनपूर्वक खोकिलामा राख्यो र बदलामा म्वाई खान दिइरह्यो । एकपल्ट तीस सु, अर्कोपल्ट दुई फ्रेङ्क । फेरि अर्कोपल्ट मात्र बाह्र सु । पैसा थोरै दिनुपर्दा तिनी दुःखी भएर रुँदै भन्थिन्, ‘यसपालि पैसा जोगाउनै पाइनँ प्रिय !’ अर्कोपल्ट पाँच फ्रेङ्कको एउटै सिक्का दिन पाउँदा उनी खुसीले मस्त भएर हाँसिन् । तिनले अब त्यो केटोबाहेक अरू केही सोचिनन् । केटो पनि अधीर भएर उनको प्रतीक्षा गरिरहन्थ्यो । कहिलेकाहीँ त तिनलाई भेट्न दौडिएर पुग्थ्यो । त्यसले उनको ढुकढुकी झनै बढ्थ्यो ।

‘यस्तैमा केटो एकाएक गायब भयो । ऊ बोर्डिङ स्कुल भर्ना भएको थियो । सावधानीपूर्वक सोधखोज गरेर यो कुरा तिनले पत्तो लगाइन् । बिदाको समय पारेर तिनले आफ्ना बाबुआमालाई चलाखीपूर्वक उसको घरको बाटो भएर काममा जान मनाइन् । एक वर्ष लामो चलाखीपछि बल्ल उनी सफल भइन् । दुई वर्षदेखि नदेख्दा मुस्किलले तिनले उसलाई चिनिन् । ऊ पूरै परिवर्तित भएको थियो— अग्लो, राम्रो र पित्तलको टाँकयुक्त कोटमा निकै व्यक्तित्वयुक्त देखिन्थ्यो । उसले तिनलाई देखे नदेख्यै गर्‍यो र एकै नजर नहेरी गयो । दुई दिनसम्म तिनी रोइरहिन् र यो दुःखले तिनलाई कहिल्यै छाडेन ।

‘प्रत्येक वर्ष ऊ घर आउँथ्यो । तिनी उसलाई देख्ने लोभले पुग्थिन् तर आँखा उठाउन सक्दिनथिन् । उसले कहिल्यै तिनलाई फर्केर हेरेन । तिनले उसलाई पागलसरि प्रेम गरिरहिन् । उनले भनिन्, ‘संसारमा मैले देखेको पुरुष उही एक जना हो । अरू पनि छन् भन्ने मेरो दिमागमा कहिल्यै आएन ।’उनका बाबुआमा बिते । उनले तिनको बिँडो सम्हालिन् ।

उनको दिल त त्यही गाउँमा बसेको थियो । एक दिन उनले देखिन्, फार्मेसीबाट बाहिर निस्किरहेको चौकटको पाखुरामा एउटी राम्री तरुनी बेरिएकी थिई । त्यो उसकी पत्नी थिई । त्यसै रात उनी नदीमा हाम्फालिन् । एउटा जँड्याहाले बचायो र त्यही केटोको मेडिकलमा लगिदियो । गाउन लगाएको तरुण चौकटले उनलाई जाँच्यो । बिरामी को हो भन्ने ख्याल नगरी तिनको लुगा माथि सार्‍यो, प्रेमपूर्वक मुसार्दै थिचेर पेटको पानी निकालिदियो । अनि रूखो स्वरमा भन्यो, ‘मूर्ख आइमाई ! यस्तो पनि गर्ने हो ?’

‘उसको यति शब्द तिनलाई लाख भयो । त्यही कुराले लामो समयसम्म उनी उल्लासित भइरहिन् । उसले जाँचेको पैसा लिन मानेन, तर उनले खुबै कर गरेकी थिइन् ।’

‘यसरी नै उनको उमेर बित्दै गयो । उसैलाई सम्झेर तिनले काम गरिरहिन् । केही नहुँदा पनि तिनले उसको पसलबाट औषधि किन्न थालिन्, जसले गर्दा ऊसँग कुरा गर्न र उसलाई नजिकबाट हेर्न मौका मिल्थ्यो । यसरी तिनी उसलाई पैसा दिइरहन पाउँथिन् ।’

‘गएको चैतमा उनी मरेको कुरा मैले तपाईंहरूलाई भनिसकेँ । आफ्नो मर्मभेदी कहानी सुनाइसकेपछि उनले आफ्नो जीवनभरको कमाइ त्यही बैगुनी प्रेमीको हातमा दिन मसँग अनुनय गरिन् । उसलाई केही दिन सकियोस् ताकि उनको मृत्युपछि भए पनि उसले तिनलाई सम्झियोस् भनेरै तिनले निरन्तर काम गरिन् र चुइयाँ भएर बचत गरिरहिन् । तिनको अन्तिम संस्कारका लागि मैले पादरीलाई १५ फ्रेङ्क दिएँ । भोलिपल्ट म चौकट दम्पतीलाई भेट्न गएँ । भर्खरै बिहानको खाना खाएर उनीहरू उल्लासित मुद्रामा आमने–सामने बसिरहेका थिए । उनीहरूले मलाई कफी पिलाए । मैले अप्ठ्यारो मान्दै उनको कहानी सुनाएँ । त्यसले तिनीहरूको हृदय पगाल्ला र आँसु झार्न बाध्य पार्ला भन्ने मलाई लागेको थियो । तर, एउटी घरबारविहीन, कुर्सी मर्मत गर्ने तुच्छ आइमाईले चौकटजस्ता खानदानी व्यक्तिलाई प्रेम गरिरहेकी थिई भन्ने सुन्दा उसले आफ्नो जीवनभन्दा पनि प्रिय इज्जत, व्यक्तित्व र आत्मसम्मानमा कलङ्क लागेको महसुस गर्‍यो । रिसले पागल भएकी उसकी स्वास्नी बारम्बार घृणा–मिश्रित स्वरमा भनिरहेकी थिई, ‘भिखारी ! बेस्से !’

‘गाली गर्ने उचित शब्द नभेट्दा चौकट तनावले रन्थनियो । भकभकाउँदै बोल्यो, ‘यसभन्दा ठूलो कलङ्क अरू के होला डाक्टरसाप ! साँच्ची, त्यो मगन्ते जिउँदै हुँदा थाहा पाएको भए म त्यसलाई झ्यालखाना जाकिदिने थिएँ । उम्कने त चानसै थिएन ।’

‘म स्तब्ध भएँ । अब कसरी भनूँ ? दोधारमा परेँ । तर, मैले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्थ्यो ।’ ‘तिनै अभागी घरवारविहीन महिलाले मसँग आफ्नो अन्तिम इच्छा जाहेर गरेकी थिइन्,’ मैले भनेँ, ‘उनको सारा बचत म तपाईंलाई हस्तान्तरण गरूँ, जुन जम्माजम्मी ३५ सय फ्रेङ्क छ । तपाईंका लागि सायद यो अस्वीकार्य होला, सायद गरिबहरूलाई बाँडिदिनु तपाईंलाई ठीक लाग्ला ।’

‘ती दम्पतीले अचम्भित र अवाक् भएर मलाई हेरे । मैले गोजीबाट हजार फ्रेङ्कका केही नोट निकालेँ । कठै त्यो गरिब आइमाईले अति कष्टसाथ बचत गरेको रकम ! नोट र चानुचुन सिक्काहरू ! मैले सोधेँ, ‘के छ तपाईंको विचार ?’

‘पहिले उसकी स्वास्नी बोली, ‘हेर्नुस् डाक्टरसाप ! मृत महिलाको अन्तिम इच्छा नै यस्तो भए त्यसलाई हामीले अस्विकार्नु जायज हुँदैन ।’

‘लाजले अनुहार रातो पार्दै लोग्नेले पनि भन्यो, ‘ठीक छ, त्यो रकमले हामी हाम्रा बच्चाहरूलाई केही किनिदिउँला ।’

‘मैले पनि रूखो स्वरमा भनिदिएँ, ‘लौ, तपाईंको जो इच्छा !’

‘उसले भन्यो, ‘यो जिम्मेवारी उनले तपाईंलाई सुम्पेकी रहिछन् । ठीक छ, पैसा हामीलाई दिनुहोस् । हामी यसलाई कुनै असल काममा खर्च गर्छौं ।’

‘मैले रकम उनीहरूलाई दिएँ र अभिवादन गरेर फर्किएँ ।’

‘भोलिपल्ट चौकट मकहाँ आयो र रुखो स्वरमा सोध्यो, ‘त्यो आइमाईको एउटा गाडा पनि थियो नि ! के छ ? के गर्नुहुन्छ त्यो गाडालाई ?’

‘किन र ? तपाईंलाई चाहिन्छ भने लैजानुस् ।’

‘हजुर ! मैले यही चाहेको ।’

‘ऊ हिँड्यो । मैले उसलाई फेरि बोलाएँ ।’ ‘तिनको एउटा बूढो घोडा र दुई कुकुर पनि छन् । चाहिन्छ भने ती पनि लैजानुस् !’

‘अचम्भित नजरले उसले मलाई हेर्‍यो, ‘ए, पर्दैन । तिनलाई लगेर के गर्नु ! तिनको व्यवस्था तपाईंले नै गर्नुहोला ।’

‘ऊ ठूलो स्वर निकालेर हाँस्यो र बिदाइको हात अगाडि बढायो । मैले ऊसँग हात मिलाएँ । म के गर्न सक्थेँ ! यस्तो गाउँठाउँमा डाक्टर र औषधिवालाबीच वैरभाव हुनु हुँदैन । पुजारीले घोडा लिएर गयो । गाडा चौकटलाई काम लाग्यो र त्यो रकम उसले रेलवेको सेयर किन्नमा खर्च गर्‍यो । मैले जीवनमा देखेको त्यही, केवल त्यही सच्चा र इमानदार प्रेम थियो ।’

उदासीमा डाक्टरले माथितिर नजर उठायो । मारक्विसका आँखामा आँसु भरियो । निःश्वास लिँदै उसले भन्यो, ‘सत्य हो, प्रेम कसरी गरिन्छ, त्यो केवल नारीले जान्दछन् ।’

प्रकाशित : भाद्र १२, २०७८ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×