१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

किशोरी हत्याका दोषीलाई कारबाही माग

अनुसन्धानमा ढिलाइ गरेको भन्दै सदनदेखि सडकसम्म विरोध
डिल्लीराम खतिवडा

उदयपुर — घरबाट हराएको दुई सातापछि सडेको अवस्थामा त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको शव भेटिएको १० दिन बितिसक्दा पनि दोषी फेला पर्न सकेको छैन । घटनालाई लिएर स्थानीय, प्रदेश र प्रतिनिधिसभामा समेत यसबारे आवाज उठाउँदै अनुसन्धानमा बेवास्ता गरिएको आरोपसहित चर्को आलोचना पनि भएको छ । 

किशोरी हत्याका दोषीलाई कारबाही माग

स्थानीयस्तरमा विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठन, अधिकारकर्मी, थारू कल्याणकारी सभालगायतले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही माग गरिरहेका छन् । प्रदेशसभा र प्रतिनिधिसभामा समेत अपराधी पत्ता लगाई कारबाहीको माग उठिरहेको छ । तर स्थानीयले भने प्रहरी अनुसन्धानमा नै अलमलिएको आरोप लगाउँदै आएका छन् । कृशलाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । घटनामा संलग्नको आशंकामा ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्नुबाहेक प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन । ‘घटनाको सूक्ष्म रूपमा अनुसन्धान जारी छ,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले भने, ‘शंकास्पद ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

प्रदेश १ सभामा सांसद सुनिता चौधरी र प्रतिनिधिसभामा सांसद सुरेशकुमार राईले घटनाबारे सदनमा कुरा उठाएका छन् । सांसद राईले सदनमा कुरा राख्दै अपराधी पत्ता लगाई कडा कारबाहीका लागि सरकारलाइ निर्देश गर्न सभामुखसमक्ष अनुरोध गरेका छन् । राईले घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाहीको दायरामा ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेका हुन् ।

यसैबीच सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उदयपुरका थारू संघ संस्थाले माग गरेका छन् । ती संस्थाले विज्ञप्ति जारी गर्दै बालिकाको शव फेला परेको साता बितिसक्दा पनि सत्यतथ्य विवरण सार्वजनिक गर्न ढिलाइ गरेकोमा आपत्ति जनाएका छन् । ढिलाइ हुँदा कतै प्रमाण नष्ट गरी दोषीलाई उन्मुक्ति दिन खोजिएको त छैन भन्दै विज्ञप्तिमार्फत प्रश्न गरेका छन् । विज्ञप्तिमा बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । त्यसैले यस घटनामा अपराधीलाई जोगाउन र पीडित परिवारलाई न्याय प्राप्तिबाट वञ्चित हुने जस्ता कुनै कार्य कतैबाट नहोस् भन्दै ध्यानाकर्षण गराइएको सभाका जिल्ला अध्यक्ष शिवकान्त चौधरी लगायतले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । ‘बालिकाको बलात्कार गरी हत्या गरिएको आशंका भएकाले यस्ता खाले घृणित र कलंकित घटनाले समग्र मानव समाजलाई नै डर, त्रास र असुरक्षित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साउन १३ देखि हराएकी कृशलाको शव १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा फेला परेको थियो । शव भेटिनासाथ तत्कालै अनुसन्धान अघि बढाइएको प्रहरीको दाबी छ । प्रहरीले वास्तविकता बाहिर ल्याउन र अपराधीलाई चाँडोभन्दा चाँडो कानुनको कठघरामा ल्याउन सकेन भने समस्या उत्पन हुने स्थानीय बताउँछन् । अनुसन्धान ढिलो हुँदा वास्तविक अपराधी भाग्ने हो कि भन्ने गुनासो रहेको वडाध्यक्ष निर्मल चौधरीले बताए ।

प्रकाशित : श्रावण ३०, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?