कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टक्सार संरक्षणमा जुट्दै स्थानीय

कुम्भराज राई

ओखलढुंगा — दुई सय वर्ष पुरानो इतिहास बोकेको सिद्धिचरण नगरपालिका ७ मा पर्ने बिगु टक्सारको संरक्षणमा स्थानीय जुटेका छन् । भोजपुरको टक्सारसँग समकालीन मानिने बिगु टक्सारको संरक्षणमा स्थानीय जुटेका हुन् ।

टक्सार संरक्षणमा जुट्दै स्थानीय

टक अर्थात् पैसा काट्ने ठाउँका रूपमा चर्चित बिगु टक्सार हालसम्म ओझेलमा परेको थियो । बिगु टक्सारमा टक काटिएको हालसम्म कुनै प्रमाण थिएन । हाल स्थानीय अग्रसर भई प्रमाणको खोजीकार्य सुरु गरेका छन् ।

तत्कालीन टक्सार रहेको स्थानमा उत्खनन गर्दा टक काटेको ढुंगा, तामाको धातुबाट निस्किएको किट भेटिएको छ । त्यसैगरी स्थानीयसँग तामाको टक, डोली पैसासमेत भेटिएको छ ।

टक काटेको भनिएको स्थाननजिकैको खोला किनारमा ठूलो परिमाणमा तामाको किट फालिएको ठाउँ छ । ‘जिजुको पालामा राणाहरूको सेना यहाँ बस्थ्यो भन्ने सुनको हो,’ स्थानीय कालबहादुर विश्वकर्माले भने, ‘ती सेनाहरूले स्थानीयलाई निकै दुःख दिन्थे रे भन्ने सानोमा सुन्थ्यौँ । तर के कारणले सेना बसेका थिए भनेर खोजिएन । अहिले आएर थाहा भयो ती त पैसा काट्ने ठाउँको सुरक्षार्थ खटाइएको थिएछ ।’

ओखलढुंगाको जन्तरखानी र सोलुखुम्बुको विभिन्न ठाउँमा तत्कालीन अवस्थामा तामाखानी सञ्चालनमा थिए । त्यतिखेर सञ्चालन भएको तामाखानीहरू अझै छन् । त्यही खानीहरूबाट निकालिएको तामालाई टक काट्न टक्सार स्थापना गरिएको अनुमान गरिन्छ । टक्सारलाई ऐतिहासिक स्थलको रूपमा विकास गर्ने योजना सुरु गरिएको छ ।

‘जहाँ गए पनि ठेगाना सुनाउँदा बिगु टक्सार भन्नेबित्तिकै तिमीहरूकोमा पैसा काट्ने गर्थ्यो ? भन्ने प्रश्न सबैले गर्छन् ।’ स्थानीय साङ्गे शेर्पाले भने, ‘तर हामीसँग कुनै प्रमाण नभएपछि यस वर्षदेखि यसको प्रमाण खोजौँ र संरक्षणको काम गरौं भनेर टक्सार भएको ठाउँमा उत्खनन गरी केही पूर्वाधार बनाउने तयारी सुरु गरेका छौँ ।’

सिनपा–७ बिगुटारका वडाअध्यक्ष बमबहादुर राईले टक्सार भएको स्थानको जग्गा व्यक्तिको नाममा रहेको बताए । उक्त जग्गालाई टक्सार संरक्षण समिति नामक संस्था गठन गरी संस्थाको नाममा जग्गा ल्याउने र स्मारक बनाउने योजना रहेको बताए ।

‘इतिहासलाई संरक्षण गर्न स्मारक बनाउने योजना छ,’ वडाअध्यक्ष राईले भने, ‘त्यो सँगै त्यसका लागि आवश्यक प्रमाणहरूको खोजी गरेर संरक्षण गर्ने छलफल भइरहेको छ ।’

भोजपुर टक्सारको इतिहासअनुसार विसं १८७२ मा गीर्वाणयुद्धविक्रम शाहको पालामा टक्सार स्थापना भएको थियो । बिगु टक्सार सोही समयकालकै मानिन्छ । बिगु टक्सारमा अझै नेवार र विश्वकर्मा समुदाय रहेकाले टक काट्नका लागि उनीहरूलाई ल्याइएको अनुमान गर्न सकिन्छ ।

प्रकाशित : श्रावण २४, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?