चुहिए नवनिर्मित वडा भवन
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नवनिर्मित वडा कार्यालय भवनहरू गुणस्तरहीन बनेको भन्दै गुनासो चुलिएको छ । ११ वटा वडा कार्यालय भवनहरू गुणस्तरहीन बनेकाले चुहिन थालेको स्थानीयले बताएका छन् ।
नगरका १५ मध्ये ११ वटा वडामा एकै खालका नयाँ भवन निर्माणका लागि गत असारमा सक्ने गरी नगरपालिकाले ठेक्का दिएको हो । असार मसान्तसम्ममा सक्नुपर्ने भवन कतिपय ठाउँमा नसकिएको र सकिएका भवनहरूसमेत गुणस्तरहीन भएकाले समस्या आएको वडा अध्यक्षहरूले बताएका छन् ।
वडा १२ जालपा, वडा १३ नुनथला र वडा १५ बिजयखर्कमा बनाइएको नयाँ भवन चुहिएर समस्या आएको छ । गुणस्तरहीनका कारण चुहिएको वडाध्यक्षहरूले बताएका छन् । बनिसकेर जिम्मा लिइएका तीनै वटा भवनहरू चुहिएर काम गर्न समस्या परेको छ । नुनथलाको भवन चुहिएपछि कम्प्युटर लगायतका अफिसको महत्त्वपूर्ण डकुमेन्ट नष्ट भएको वडाअध्यक्ष भीम राईले बताए । वडा १५ विजयखर्कको भवन पनि चुहिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए । वडा ११ र १० भवनको ठेक्का मोहन एन्ड गाउँबेंसी निर्माण कम्पनीले लिएको हो । यीमध्ये खार्मीको भवन कामै नदिने भएको वडाध्यक्ष रामचन्द्र राईले बताए । ‘चार वटै कोठामा पानी चुहिन्छ’ राईले भने ।
वडा ७ दोर्पा चिउरीडाँडाको वडा कार्यालय भवन पनि चुहिने भएको वडाध्यक्ष महन्तकुमार राईले बताए । वडा ८ बुवालुङ र वडा ९ निर्मलीडाँडाको भवन भने अझै सकिएको छैन । बुवालुङको भवनको फिनिसिङ बाँकी रहेको वडाध्यक्ष लीला चौहानले बताए । वडा १ को भवन पनि पानी चुहिने भएको छ । पीआर कन्स्ट्रक्सनले ठेक्का लिएको उक्त भवन गुणस्तरहीन भएको वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए ।
वडा कार्यालयमा ताला
मापदण्ड नपुर्याई भवन बनाइएको भन्दै वडा २ सोल्माको वडा कार्यालय भवनमा स्थानीयले ताला लगाएका छन् । भवन निर्माण सकिए पनि नगरपालिकाले तोकेको मापदण्ड नपुर्याई बनाइएको भन्दै असार ६ गते स्थानीयले ताला लगाएका हुन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले एउटै प्लटको पाँच रोपनी जग्गामा भवन बनाउनुपर्ने मापदण्ड तोके पनि साढे तीन रोपनी जग्गामा मात्र भवन बनाइएकाले ताला लगाइएको स्थानीय सप्तमणि राईले बताए । उनका अनुसार स्थानीय भलाकाजी राईले तीन रोपनी र मानबहादुर राईले निःशुल्क रुपमा उपलब्ध गराएको आधा रोपनी जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो । वडाध्यक्ष हर्कबहादुर खत्रीले वडा कार्यालयको नाममा पाँच रोपनीभन्दा बढी भएपनि स्थानीय मानबहादुर राईले निःशुल्क उपलब्ध गराएको दुई रोपनी जग्गा भने एउटै प्लटमा नभएकाले समस्या आएको हो ।
प्रकाशित : श्रावण १९, २०७८ १३:१८