क्याम्पसमा ताला

कान्तिपुर संवाददाता

इलाम — लोक सेवाको परीक्षामा सहभागी हुन पाउनुपर्ने र स्नातकोत्तर तहको अध्ययन सहज हुनुपर्ने माग राख्दै आन्दोलनरत इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित बीएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पस प्रमुख, उपप्रमुख र विभागमा तालाबन्दी गरेका छन् ।

क्याम्पसमा ताला

लामो समयदेखि आन्दोलन गरिरहेका विद्यार्थीहरूले माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने जनाएका छन् ।

मापदण्ड पुगेका कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोक सेवाको सुनिश्चितता हुनुपर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बागवानीसहित मापदण्ड पुगेका अन्य विषयहरूमा पनि स्नातकोत्तर सुनिश्चित हुनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । बीएस्सी इन हर्टिकल्चरमा ५ वटा विषयमा पढाइ हुने भए पनि बागवानीमा मात्र लोक सेवा भिड्न पाउने व्यवस्था छ । ‘२०६९ सालमा यो विषयको पढाइ सुरु भएदेखि नै समस्या देखिएको थियो,’ संघर्ष समितिका संयोजक किशोर आचार्यले भने, ‘तर समस्या समाधानका लागि क्याम्पस प्रशासन गम्भीर नभएपछि तालाबन्दी गर्नुको विकल्प रहेन ।’

यता क्याम्पस प्रशासनले भने विद्यार्थीहरूको समस्याको विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको बताएको छ । ‘राजधानी गएर सम्बन्धित निकायमा पहल गर्नेदेखिका काम भइरहेका छन्,’ क्याम्पस प्रमुख दिलनाथ फुएलले भने, ‘हामी यो समस्या जसरी पनि चाँडो टुंग्याउने पक्षमा छौं ।’ कृषि र पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत त्रिभुवन विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पससहित देशभरका ८ वटा क्याम्पसमा कृषि पढाइ हुन्छ  । यीमध्ये हर्टिकल्चर पढाइ हुने इलाम एकमात्र क्याम्पस हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्वारा मान्यताप्राप्त यो क्याम्पस स्वायत्ततामा गएसँगै हर्टिकल्चरको पढाइ सुरु भएको हो । यस क्याम्पसमा हालसम्म २ सय २८ जनाले बागवानीमा बीएस्सी गर्दै छन् ।

प्रकाशित : श्रावण १९, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?