कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेश एकभर ७८६२ सक्रिय संक्रमित

दैनिक १० देखि १५ जना संक्रमित अस्पताल भर्ना
देवनारायण साह

मोरङ — पछिल्लो समय निरन्तर संक्रमितको संख्या बढ्दै जाँदा प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ६२ पुगेको छ । संक्रमितको संख्यामा वृद्धि भएसँगै यहाँका अस्पतालहरू पनि भरिँदै गएका छन् । यस प्रदेशमा आइतबार २ हजार ३ सय ३७ जनाको कोरोना परीक्षण गर्दा ३१ प्रतिशत अर्थात् ७ सय २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश एकभर ७८६२ सक्रिय संक्रमित

शनिबार २ हजार ४ सय ७१ जनामा कोरोना परीक्षण गर्दा ३२ दशमलव ५४ प्रतिशत अर्थात् ८ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार ३ हजार ६ सय ३७ जनामा परीक्षण गर्दा ३१ दशमलव ४५ अर्थात् १ हजार १ सय ४४ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । बिहीबार संक्रमितको संख्या ३५ दशमलव ७८ प्रतिशत पुगेको थियो । ३ हजार ८४ जनामा कोरोना परीक्षण गर्दा बिहीबार १ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार ३ हजार ८ सय ५२ जनामा परीक्षण गर्दा ३० दशमलव ६३ प्रतिशत अर्थात् १ हजार १ सय ८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

झापामा २ हजार ७ सय ७४, मोरङमा २ हजार ४ सय ५०, सुनसरीमा २ हजार ६१, धनकुटामा १ सय ७९, भोजपुरमा २१, इलाममा ४७, उदयपुरमा ६९, संखुवासभामा १८, तेह्रथुममा १७, खोटाङमा ५, ताप्लेजुङमा ९, पाँचथरमा ३८, ओखलढुंगामा ३ र प्रदेश १ बाहिरका १ सय ६३ जना गरी यस प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता सदानन्द भट्टराईले बताए ।

विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रलगायतका यस प्रदेशस्थित सामुदायिक तथा निजी गरी ३१ अस्पतालमा रहेका १ सय ५८ भेन्टिलेटरमध्ये ५३, १ सय ४० आईसीयूमध्ये ७५, ६ सय एचडीयूमध्ये २ सय ७८, ६ सय ४२ सामान्य शय्यामा १ सय ९१ जना संक्रमितले उपचार गराइरहेका उनले बताए । संक्रमितमध्ये ३ सय १५ जना विभिन्न आइसोलेसन केन्द्रमा र ६ हजार ९ सय ५० जना होम आइसोलेसनमा रहेको उनले सुनाए ।

विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका १५ भेन्टिलेटर, ६ आईसीयू, ४७ एचडीयू र २८ सामान्य शय्यामध्ये भेन्टिलेटर, आईसीयू र एचडीयू पूर्णरूपमा भरिएर सामान्य शय्यामा ७ जनासहित कुल ७५ संक्रमित उपचाररत छन् । कोसी अस्पतालको ७२ शय्यामा २७, मेची प्रादेशिक अस्पताल झापाको १ सय १२ शय्यामा ५६, बसढीगंगास्थित विराट मेडिकल अस्पतालको १ सय २६ शय्यामा ४६, विराटनगरस्थित नोबेल मेडिकल अस्पतालको १ सय ९७ शय्यामा ७, झापाको बी एन्ड सी अस्पतालको २ सय शय्यामा २८ जना संक्रमित उपचाररत छन् ।

कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ साहले दैनिक १० देखि १५ जना कोरोना संक्रमित भर्नाका लागि आउने गरेको बताए । उनले पछिल्लो समय संक्रमित बिरामीको चाप अत्यधिक बढेको र आईसीयू, भेन्टिलेटर र एचडीयूमा राख्ने बिरामी मात्रै भर्नाका लागि आउने गरेकाले थेग्नै नसकिने अवस्था भएको बताए ।

संक्रमितको संख्या बढ्दै गएकाले मोरङको लेटाङ नगरपालिकाले सोमबारदेखि एक साता नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । उर्लाबारी नगरपालिका सिल भइसकेको छ । यस्तै, झापाका १० वटा स्थानीय तहले समेत कोरोना नियन्त्रण तथा रोकथामका लागि सिल गरेका छन् । साउनमा शिव मन्दिरमा जल चढाउनेको घुइँचो लाग्ने गरेकाले कोरोना संक्रमण तीव्र रूपमा फैलिएर स्थिति भयावह बन्ने देखिएको कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनले भारतमा कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिइरहेकाले सीमा नाका पूर्णरूपमा बन्द गरेर स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ अपनाउनुको विकल्प नभएको बताए ।

प्रकाशित : श्रावण १८, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?