कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोनाले उदयपुरमा एकै परिवारका ३ को मृत्यु

कान्तिपुर संवाददाता

उदयपुर —  कोभिड–१९ को संक्रमणबाट त्रियुगा नगरपालिका–२ खैजनपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २२ दिनको फरकमा एक महिलासहित तीन जनाको मृत्यु भएपछि खैजनपुर गाउँ सिल गरिएको छ ।

संक्रमणबाट ३६ वर्षीया महिला, ४३ र ३८ वर्षीय पुरुषको मृत्यु भएको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्रीले बताए । मृत्यु हुनेमा देवर, भाउजू र भतिजा हुन् । पछिल्लो पटक दुई दिनअघि ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

संक्रमण दर तीव्र भएपछि आइतबारदेखि गाउँ सिल गरिएको छ । दुई सातायता खैजनपुरका स्थानीयमा रुघाखोकी र ज्वरो आउने क्रम बढ्दै गएको छ । हालसम्म ७५ जनाभन्दा बढीमा संक्रमण भएको वडाध्यक्ष खत्रीले बताए । ‘साउन २४ सम्मका लागि गाउँ सिल गरिएको छ,’ उनले भने, ‘संक्रमण दर बढ्दै गए पनि यस्तै अवस्था नरहला ।’

१० दिन अघिसम्म उदयपुरमा संक्रमण दर घट्दो क्रममा रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । ‘तर सातायता पुनः बढ्न थालेको छ,’ उनले भने, ‘खैजनपुरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पीसीआर र एन्टिजेन परीक्षण सुरु गर्ने तयारी गरिएको छ ।’

संक्रमण थप फैलिन नदिन खैजनपुरका दक्षिण–पूर्वका भूभाग जोगीदह, पश्चिम भुल्के र उत्तरतर्फ त्रियुगा नदी किनारसम्मको क्षेत्र सिल गरिएको हो । बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको वडाध्यक्ष खत्रीले बताए ।

प्रकाशित : श्रावण १८, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?