३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लकडाउन अवधिको विद्युत् महसुलमा पनि जरिवाना

कुम्भराज राई

ओखलढुंगा — लकडाउन अवधिको विद्युत् महसुलमा समेत जरिवाना तिराइएको भन्दै स्थानीय आक्रोशित भएका छन् । यसै विषयलाई लिएर ओखलढुंगामा दिनहुँजसो सेवाग्राही र विद्युत् प्राधिकरणका कर्मचारीबीच विवाद हुने गरेको छ । 

लकडाउन अवधिको विद्युत् महसुलमा पनि जरिवाना

‘तीन महिनासम्म प्राधिकरणका मिटर रिडरहरू मिटर रिडिङ गर्न आएनन्,’ ओखलढुंगाका नागरिक समाजका प्रतिनिधि बोधनारायण श्रेष्ठले भने, ‘अहिले आएर मिटर रिड गरे अनि ग्राहकलाई समयमा महसुल भुक्तानी नगरेको भन्दै जरिवाना गराइएको छ । यो सरासर प्राधिकरणको ठगी हो ।’

प्राधिकरणले महसुल रकमको १० देखि २५ प्रतिशतसम्म जरिवाना लिएको छ । प्राधिकरणको ओखलढुंगा वितरण केन्द्रका प्रमुख प्रतिश ढकालले यो समस्या गत सालको लकडाउनमा पनि आएको बताए । उनका अनुसार गत साल पनि सरकारले फिर्ता गर्ने निर्णय गरेपछि जरिवानाबापतको रकम ग्राहककै खातामा फर्काइएको थियो ।

‘केन्द्रको सिस्टमकै कारण हामीले यहाँ पनि जरिवाना सहित संकलन गर्नुपरेको हो,’ उनले भने, ‘पछि यो सरकारले फिर्ता पनि गर्न सक्छ ।’ महसुल रकम अग्रिम रूपमा खातामा जम्मा गरेकालाई भने जरिवाना तिर्न नपर्ने व्यवस्था छ । तर विपन्न ग्राहकहरूले अग्रिम रूपमा महसुल जम्मा गर्न नसक्ने भएकाले उनीहरू थप मारमा परेको नागरिक समाजका अगुवाहरूको भनाइ छ ।

पटकपटक जान्छ बिजुली

वर्षा लागेपछि सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत्को कुनै भर हुँदैन । गएको एक सातामै तीनपटक विद्युत् अवरुद्ध भयो । विद्युत् पुन: नियमति हुन २२–२३ घण्टा सम्म लाग्यो । अरू बेला पनि कम्तीमा १२ देखि १५ घण्टासम्म विद्युत् अवरुद्ध हुने गर्छ ।

ग्राहकहरूले प्राधिकरणको वितरण केन्द्रहरूमा बुझ्दा प्राय एउटै जवाफ आउँछ । त्यो हो, ‘खोटाङको दिक्तेलदेखि गाईघाट खण्डमा बिग्रिएको हो । ठ्याक्कै कहाँनेर बिग्रिएको हो अहिलेसम्म थाहा छैन ।’ यसरी विद्युत् अवरुद्ध हुँदा तीन जिल्लाका दशौं हजार ग्राहक मारमा पर्ने गरेका छन् ।

यो समस्याको स्थायी समाधान गर्न हालसम्म कुनै निकायले पहल नगरेको स्थानीयको गुनासो छ । ‘पहिले स्थानीय विद्युत् उत्पादनमा निर्भर हुँदा लोडसेडिङको समस्या भोग्नुपरेको थिएन,’ सोलुखुम्बुका मनोज राईले भने, ‘केन्द्रीय विद्युत् जोडिएर केके न पाइयो भनी खुसी भइयो तर बिजुलीको मुख देख्न पाइँदैन ।’

बत्ती पटकपटक गइरहँदा विद्युतीय माध्यमबाट सञ्चालित उपकरणहरूमा क्षति हुने गरेको सर्वसाधारणको भनाइ छ । विद्युत् अवरुद्ध हुने प्रमुख समस्या दिक्तेल–गाईघाट खण्डको भौगोलिक विकटता रहेको प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुख ढकालले बताए ।

‘त्यो खण्डमा ठूलो जंगल छ । कहाँनिर पोल ढल्छ, तार चुँडिन्छ । पहिरो जान्छ केही टुंगो हुँदैन,’ उनले भने, ‘गाडी जाने बाटो नभएको र प्राविधिकहरूले हिँडेर पुग्दा समय लाग्ने भएकोले वर्षामा धेरै समय विद्युत् अवरुद्ध हुने गरेको हो ।’

गाईघाट–बुइपा–दिक्तेल–ओखलढुंगा ३३ केभी प्रसारण लाइन विद्युत् वितरण भएअनुसारको दिगो नभएको सर्वसाधारणको बुझाइ छ । गत वर्ष ओखलढुंगाको मोलुङ खोला र सोलुखोलामा उत्पादित हाइड्रोको विद्युत् जोड्ने बित्तिकै दर्जनौंपटक अवरुद्ध भएको थियो ।

सोलु करिडोर प्रसारण लाइन चार्ज सुरु नभएसम्म यो समस्या कायम रहने ओखलढुंगा वितरण केन्द्रका प्रमुख ढकालको भनाइ छ । सिरहाको लहान भएर लामो दूरीबाट घुमेर विद्युत् आउने भएकाले निकै ठूलो समस्या भोग्नुपरेको उनले बताए । ‘सोलु करिडोर चार्ज सुरु भएमा ३३ केभीमा समस्या भए पनि सिधै सोलुखुम्बुबाट १२५ केभी बाट विद्युत् सञ्चालन गर्न सकिन्छ,’ उनले भने । तर सोलु करिडोर उदयपुरको कटारीमा स्थानीयको अवरोधका कारण अझै सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित : श्रावण १७, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?