संक्रमित र अन्य बिरामीको एकै ठाउँ उपचार

भवन भए पनि बिरामी राख्न उपयोग गरिएको छैन, बिरामीको चापले जोखिम झन् बढ्यो
आनन्द गौतम

ताप्लेजुङ — जिल्ला अस्पतालको भवनसँग जोडेर बनाइएको कोभिड उपचार केन्द्रलाई प्लाइउडको बारबेरमा जस्ता पाताले छाएर बनाइएको छ । १० शय्याको उक्त अस्पताल तीन महिनायता बिरामीले भरिएको छ । साउनयता यहाँको शय्याले नपुगेपछि कोरोनाका बिरामीलाई जनरल वार्डमा पनि राखिएको छ ।

संक्रमित र अन्य बिरामीको एकै ठाउँ उपचार

संक्रमितका लागि बनाइएको केन्द्रमा घामलागे जस्तापाता तात्तिने र पानी परे जस्तापाता चुहिने र थर्किने भएकाले बिरामीले सास्ती पाइरहेका छन् । साउनयता यही भवनमा पनि नअटाएपछि संक्रमित र अरू बिरामीलाई भुइँमा समेत राखेर उपचार गरिँदै छ ।

अस्पतालका प्रमुख डाक्टर सोनिम लामा ठाउँ नभएर यसरी राख्न बाध्य भएको बताउँछन् । तर अस्पताल परिसरभित्रै रहेका सुविधासम्पन्न भवन रहे पनि बिरामीका लागि उपयोग गरिएको छैन । अस्पताल परिसरमा जिल्ला स्वास्थ्य कार्यालयको गोदामको एकतले, नेपाल नेत्रज्योति संघको दुईतले र स्वयं अस्पतालको प्रशासनिक भवन छ । स्वास्थ्य कार्यालयका कर्मचारीको सरकारी निवास पनि छ । अस्पताल परिसर ठीक बाहिर नेपाल रेडक्रस सोसाइटीका दुईवटा भवन छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनका अनुसार नेत्रज्योति संघको भवनको एक तला खाली छ । यहाँ शौचालयसमेत रहेकाले बिरामी राख्न उपयुक्त छ ।

डाक्टर लामाका अनुसार स्वास्थ्य कार्यालयको गोदाम पनि बिरामी राख्न उपयुक्त छ । परिसर बाहिर रहेको रेडक्रसको भवन पनि खाली छन । नेत्रज्योति संघका सचिव खगेन्द्र अधिकारीले दोभान र पाँचथरको कुम्यायकमा राख्ने स्वास्थ्यकर्मीर्को तालिम चलिरहेकाले डेढ/दुई महिना खाली नहुने बताए । स्वास्थ्य कार्यालयका हेमराज कठायतले जनस्वास्थ्य अधिकृत बिदामा भएको र गोदामको चाबी नभएकाले आफूले जिम्मा लिन नसक्ने बताए । रेडक्रसका मन्त्री विकास गौतम रेडक्रसको भवन चिसो ठाउँमा रहेको बताउँछन् ।

बिरामी राख्ने ठाउँ नभएपछि र चाप दिनानुदिन बढेपछि जिल्ला अस्पतालले मंगलबार गरेको सर्वपक्षीय छलफलपछि सरोकारवाला निकाय तर्किएका हुन् । छलफलमा सहभागी कांग्रेस सभापति लीलादेवी बोखिमले भने स्वास्थ्य कार्यालयको गोदाम र नेत्रज्योति संघको पहिलो तला तत्काल खाली गराएर बिरामी राख्नुपर्ने तर्क गरिन् ।

जिल्ला समन्वय समितिमा समेत कर्मचारीको संख्या न्यून भएकाले त्यहाँको भवन भए पनि प्रयोग गरेर बिरामी तत्काल सार्नुपर्ने उनको जोड छ । जिसस प्रमुख मादेनले भने कोभिड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिदामा भएकाले आउनासाथ बैठक बसेर निष्कर्षमा पुग्ने बताए ।

फुङलिङ नगरपालिकाले हेलिप्याडमा क्वारेन्टिन बनाएको भए पनि अस्पतालबाट दुई किलोमिटरभन्दा टाढा भएकाले ल्याब परीक्षणलगायतमा समस्या हुने स्वास्थ्यकर्मीको सुझाव छ । अहिले ३ जना मात्रै डाक्टर भएकाले अस्पताल परिसरभित्रै भए सबैखाले बिरामी हेर्न सहज हुने लामा बताउँछन् । ‘आएको बिरामी त्यसै फर्काउन मिल्दैन, हामिले भुइँमा राखेर पनि उपचार गर्नैपर्छ,’ डाक्टर लामाले भने, ‘वातावरण मिलाइदिने काम सरोकारवालाले मिलाइदिए हुने भन्ने अपेक्षा हो ।’

जिल्ला अस्पतालको १० शय्याको उपचार केन्द्रमा १९ जना संक्रमित बिरामी छन् । अस्पतालमै गरिएको एन्टिजेन परीक्षणमा मंगलबार फेरि २६ जना थपिएका छन् । १५ शय्याको अस्पतालमा ३५ शय्या हालिएको छ । तर बिरामी भने ५० जनाभन्दा माथि रहेको लामाले बताए ।

‘अलिक सुधार देखिए र समस्या भए फेरि आउनु भनेर डिस्चार्ज गर्ने र भर्ना गर्नुपर्नेलाई थपिरहेका छौं,’ लामाले भने । मंगलबार बेलुकासम्म जिल्लामा ३ सय ७३ जना संक्रमित रहेका छन् । प्रशासन कार्यालयका अनुसार ३ सय ५ जना होम आइसोलेसनमा छन् । कोरोनाले अहिलेसम्म १४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : श्रावण १७, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?