३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

होटेलमा कोरोना खोप भेटिएकोबारे छानबिन समिति गठन

अर्जुन राजवंशी

बिर्तामोड — बिर्तामोडको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

होटेलमा कोरोना खोप भेटिएकोबारे छानबिन समिति गठन

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकले बिर्तामोडका कोभिड फोकल पर्सन ओमबहादुर खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्म खोपसम्बन्धी गतिविधिमा संलग्न नगराउन नगरपालिकालाई अनुरोध गरेको छ । बैठकले जिल्लाको खोपसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

बिर्तामोडका मेयर ध्रुवकुमार सिवाकोटीले सत्यतथ्य छानबिनका लागि समितिसमक्ष माग गरेका छन् । उनले छानबिनका क्रममा कुनै कैफियत भेटिए दोषीउपर आवश्यक कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले कोरोनाविरुद्धको खोप के कति कारणले होटलमा बुझ्ने–बुझाउने कार्य भएको हो सोको गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले बिर्तामोड नगरपालिकालाई पठाएको २ सय डोज खोप बिर्तामोडस्थित होटल टाइमलेस मुमेन्टमा स्थानीयले शुक्रबार फेला पारेका थिए । शुक्रबार खोप लगाउन बिर्तामोडको देवी मावि र महेन्द्ररत्न माविको खोप केन्द्रमा सयौं नगरवासी बिहान ७ बजेदेखि लाइनमा बसेका थिए ।

खोप सकिएको सूचना टाँस गर्दै नगरपालिकाका स्वास्थ्यकर्मीले लाइनमा बसेकालाई दिउँसो २ बजेतिर खोप नलगाई फर्काएका थिए । तर शुक्रबार नै दिउँसो साढे ३ बजेतिर नगरपालिकाका कोभिड फोकल पर्सन खड्कासहित २ सय डोज खोप होटलमा लुकाइराखेको अवस्थामा स्थानीय युवाले फेला पारेका थिए ।

प्रकाशित : श्रावण १७, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?