२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

होटेलमा खोप भेटिएको भन्दै बिर्तामोड नगरपालिका कार्यालयमा तालाबन्दी

अर्जुन राजवंशी

बिर्तामोड — नगरपालिकामा हुनुपर्ने कोरोनाविरुद्धको भेरोसेल खोप होटेलमा फेला परेको विरोधमा विद्यार्थी संगठनले शनिबार झापाको बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका छन् ।

होटेलमा खोप भेटिएको भन्दै बिर्तामोड नगरपालिका कार्यालयमा तालाबन्दी

बिर्तामोड नगरपालिकाले खोपमा अनियमितता गरेको आरोप लगाउँदै विद्यार्थीहरुले शनिबार बिहान ११ बजे नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीले खोप होटलमा लुकाएर अनियमितता गर्न खोज्ने नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का, मेयर ध्रुवकुमार सिवाकोटी, स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलसहित संलग्न सबैलाई कारबाही र बर्खास्तीको माग गरेका छन् ।

उनीहरुले दिनभर लाइनमा बसेका व्यक्तिलाई ‘खोप छैन’ भनेर फर्काइएको तर, २ सय डोज खोप होटलमा लुकाएर राखेको घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेका छन् । विद्यार्थीहरुले बिर्तामोड नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुको प्रत्येक दिनको विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन् । नगरपालिकामा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी जिल्ला कमिटीका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

होटेलमा खोप फेला परेको घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष उप्रेतीले बताए । उनले खोप होटलमा पुर्‍याउने नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्ने माग गरे । ‘नगरपालिकाका फोकल पर्सनसहित होटलमा खोप फेला पर्नु सामान्य विषय होइन । यसको सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ उनले भने ।

शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले बिर्तामोड नगरपालिकालाई पठाएको २ सय डोज खोप बिर्तामोडस्थित होटल टाइमलेस मुमेन्टमा स्थानीयले फेला पारेका थिए ।

शुक्रबार खोप लगाउन बिर्तामोडको देवी मावि र महेन्द्ररत्न माविको खोप केन्द्रमा सयौं नगरबासी बिहान ७ बजेदेखि लाइनमा बसेका थिए । तर, खोप सकिएको भन्दै नगरपालिकाका स्वास्थ्यकर्मीले लाइनमा बसेकालाई दिउँसो २ बजेतिर खोप नलगाई फर्काएका थिए । साढे ३ बजेतिर नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कासहित २ सय डोज खोप होटलमा लुकाइ राखेको अवस्थामा स्थानीय युवाले फेला पारेका थिए ।

प्रकाशित : श्रावण १६, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?