अस्पताल परिसरभित्रै पक्की भवन, संक्रमित भने चुहिने टहरामा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल परिसरभित्रै पक्की भवन, संक्रमित भने चुहिने टहरामा

आनन्द गौतम

ताप्लेजुङ — जिल्ला अस्पताल परिसरभित्रै पक्की भवन खाली रहे पनि कोरोनाका बिरामी जस्तापाताको चुहिने टहरोमा सास्ती भोग्न बाध्य छन् । घाम लागे छानो तातेर छटपटिने उनीहरू पानी परे जस्ता बजेर निदाउन सक्दैनन् ।

अस्पतालको पश्चिमपट्टि प्लाईले बारेर कोभिड उपचार केन्द्र बनाइएको हो । १० शय्याको केन्द्र तीन महिनायता प्राय: भरिइरहन्छ । साउनयता भने बिरामीको चापले नथेगेर जनरल वार्ड पनि भरिन लागेको छ । कतिपयलाई भुइँमै राखेर उपचार गरिँदै छ । बिरामीका अनुसार वर्षा भए भित्रै पानी चुहिन्छ ।

अस्पतालका प्रमुख डा. सोनिम लामा भने ठाउँ नभएर बिरामीलाई यसरी राख्न बाध्य भएको बताउँछन् । जबकि अस्पताल परिसरकै भवनलाई कोभिड बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ । त्यहाँ जिल्ला स्वास्थ्य कार्यालयको एकतले गोदाम, नेपाल नेत्रज्योति संघको दुइतले र स्वयं अस्पतालको प्रशासनिक भवन छन् । स्वास्थ्य कार्यालयका कर्मचारीको सरकारी निवास (क्वार्टर) पनि छ । अस्पताल परिसरको बाहिरपट्टि नेपाल रेडक्रस सोसाइटीका दुईवटा भवन छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनका अनुसार नेत्रज्योति संघको भवनको भुइँ तला खाली छ । यहाँ शौचालयसमेत रहेकाले बिरामीलाई राख्न उपयुक्त छ । डा. लामाका अनुसार स्वास्थ्य कार्यालयको गोदाम पनि बिरामी राख्न उपयुक्त छ ।

नेत्रज्योति संघका सचिव खगेन्द्र अधिकारीले दोभान र पाँचथरको कुम्मायकमा राख्ने स्वास्थ्यकर्मीको तालिम चलिरहेकाले संघको भवन डेढ/दुई महिना खाली नहुने बताए । स्वास्थ्य कार्यालयका हेमराज कठायतले जनस्वास्थ्य अधिकृत बिदामा रहेको र गोदामको चाबी नभएकाले आफूले जिम्मा लिन नसक्ने जनाए । रेडक्रसका मन्त्री विकास गौतम रेडक्रसको भवन चिसो ठाउँमा रहेकाले उपयुक्त नरहेको तर्क गर्छन् । बिरामीको चाप बढेसँगै जिल्ला अस्पतालले मंगलबार गरेको सर्वपक्षीय छलफलमा पनि सरोकारवाला निकायका व्यक्ति यस्तै तर्क गर्दै पन्छिएका थिएन ।

कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिमले भने स्वास्थ्य कार्यालयको गोदाम र नेत्रज्योति संघको पहिलो तला तत्काल खाली गराएर बिरामी राख्नुपर्नेमा जोड दिइन् । जिल्ला समन्वय समितिमा समेत कर्मचारीको संख्या न्यून भएकाले त्यहाँको भवन प्रयास गर्न सकिने उनले बताइन् ।

जिसस प्रमुख मादेनले कोभिड व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिदामा भएकाले उनी आउनासाथ बैठक बसेर निष्कर्षमा पुग्ने बताए ।

फुङलिङ नगरपालिकाले हेलिप्याडमा क्वारेन्टाइन बनाएको भए पनि अस्पतालबाट दुई किलोमिटरभन्दा टाढा भएकाले बिरामीको ल्याब परीक्षणलगायतमा समस्या हुने स्वास्थ्यकर्मीको भनाइ छ । अहिले तीन जना मात्रै डाक्टर भएकाले अस्पतालपरिसर भित्रै भए सबैखाले बिरामी हेर्न सहज हुने लामा बताउँछन् । ‘आएका बिरामी त्यसै फर्काउन मिल्दैन, हामीले भुइँमा राखेर पनि उपचार गर्नैपर्छ,’ उनले भने, ‘यसका लागि वातावरण मिलाइदिने काम सरोकारवालाले गरिदिए हुन्थ्यो भन्ने अपेक्षा हो ।’

१० शय्याको कोभिड उपचार केन्द्रमा अहिले १९ जना संक्रमित छन् । अस्पतालमै गरिएको एन्टिजेन परीक्षणमा मंगलबार फेरि २६ जना थपिएका छन् । १५ शय्याको अस्पतालमा थप ३५ शय्या पुर्‍याइएको छ । ‘अलिक सुधार देखिएकालाई समस्या भए आउनुस् भन्दै डिस्चार्ज गर्ने र भर्ना गर्नुपर्नेलाई थपिरहेका छौं,’ लामाले भने ।

प्रकाशित : श्रावण १५, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

सीमावर्ती नेपालीलाई चीनद्वारा खाद्यान्न

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका तेन्जिङ वालुङलाई अब एक वर्षका लागि खाद्यान्न अभाव हुनेछैन । उनले चीनको डिङजे काउन्टीले दिएको खाद्य सामग्री ल्याएर भण्डारण गरिसकेका छन् ।

वडा कार्यालयको कर्मचारीसमेत रहेका तेन्जिङले चामल ८०, मैदा ७५, चिनी २०, दूध पाउडर १६, नुन २५, चियारङ ८, चम्बा (खाने पिठो) १० किलो र खाने तेल ४० लिटर सहयोग पाएका हुन् । घरको दोस्रो तलामा गोदाम गरेको उक्त सामग्रीले वर्ष दिनसम्म आरामले पुग्न उनले बताए ।

उक्त सहयोग तेन्जिङसहित फक्ताङलुङ–७ ओलाङचुङगोला र याङमा तथा वडा ६ लेलेपको फले र घुन्साका स्थानीयले सोही परिमाणमा पाएको वडा ७ का वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । नजिक भएकाले गोला र याङमाका सबैले सामग्री घरमा पुर्‍याइसकेका छन् भने फले र घुन्साकाले खाद्य सामग्री नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङदेखि तीन घण्टा तल रहेको मौवाटारमा गोदाम गरेर राखिएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालयमा गोदाम गरेर ताला लगाएर राखिएको भोटेले बताए । ‘दुई बस्तीकालाई समिति बनाएर आउनु र सामान बुझेर गाउँमा लैजान भनेका छौं,’ वडासदस्य टासी शेर्पा भोटेले भने, ‘उहाँहरूले मौसम खुलेर सफा भएपछि चौंरी लिएर आउँछौं भन्नुभएको छ ।’

तिब्बती शरणार्थीको मात्रै बसोबास रहेको फले र नेपाली मात्रैको बसोबास रहेको घुन्साका बासिन्दालाई उक्त राहत सामग्री गाउँमा पुर्‍याउन कम्तीमा तीन दिन लाग्छ । चौंरीलाई बोकाएर जंगलको बाटो ल्याउनुपर्ने हुन्छ । सिमानाबाट मौवाटारसम्म सामान झार्न १ सय ५० वटा चौंरीलाई तीन दिन लागेको वडाका कर्मचारी तेन्जिङले बताए । तिब्बतले यसअघि गोला र याङमाका बासिन्दालाई मात्रै सहयोग गर्दै आएको थियो । तर ओलाङचुङगोलाका जनप्रतिनिधिको अनुरोधमा घुन्सा र फलेका बासिन्दालाई पहिलो पटक सहयोग दिएको हो ।

गोलामा रहेको नेपाल प्रहरीलाई १० किलोको ४० बोरा चामल दिएको पनि वडाले जनाएको छ । प्रहरीका लागि तेल, बिस्कुट, पेय पदार्थलगायत सामग्री छुट्टै पठाएको थियो । यहाँ कार्यरत शिक्षक र स्वास्थ्य चौकीका कर्मचारीलाई पनि यत्तिकै परिमाणमा सामग्री दिएको वडाले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षाबलले भने सामग्री लिन अस्वीकार गरेको छ ।

‘उहाँहरू (सशस्त्र प्रहरी) ले चाहिँ हामीलाई सरकारले दिएको छ लिन मिल्दैन, लिँदैनौं भन्नुभयो,’ वडाध्यक्ष भोटेले भने । गोला र याङमामा गरी १ सय ८२ जना तथा घुन्सा र फलेमा १ सय ४३ जनाले राहत सामग्री लिए । वडाका अनुसार यस वर्ष १९ हजार ६ सय ५० किलो चामल, ७ हजार १ सय ३५ लिटर तेल, २५ किलोको ४ सय ९२ बोरा पिठो, दूध पाउडर १ सय ३४ कार्टुन उपलब्ध गराएको छ । यस्तै ८ किलोको १ सय ३० कार्टुन चियापत्ती, २५ किलोको नुन ८० बोरा र १६ किलोका १ सय ३० बोरा दिएको छ ।

नेपाली व्यापारीले सामानबापतको पैसा सिमानामै पुर्‍याइदिनुपर्ने द्विपक्षीय सहमति छ । सीमावर्ती यी चारवटै बस्तीका बासिन्दाले चीन सरकाले दिएको अनुदानको खोप पहिलो चरणको लगाएको वडा कार्यालयले जनाएको छ । चीनले ५० लाख नेपाली बराबरको स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×