कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

झापाका १० पालिका ‘सिल’

कान्तिपुर संवाददाता

काँकडभिट्टा — कनकाई नगरपालिकाले साउन ८ बाट सिल गर्ने निर्णय गरेको थियो । दमक नगरपालिकाले साउन ११ बाट सिल गर्ने निर्णय गर्‍यो । कोरोना संक्रमणको बढ्दो जोखिमका कारण झापाका १० पालिकाले आन्तरिक निषेधाज्ञा जारी गर्दै सिल गरेका हुन् । 

कोरोनाको जोखिम नियन्त्रणका लागि शिवसताक्षी नगरले गत सोमबार रातिदेखि निषेधाज्ञा जारी गरेको हो । नगर प्रमुख चन्द्रकुमार सेर्माको अध्यक्षतामा बसेको बैठकले एक सातासम्म व्यापार व्यवसाय, यातायात पूर्ण रोक लगाउने निर्णय गरेको थियो ।

नगरस्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय झापामा पठाइने र प्रमुख जिल्ला अधिकारीको आदेशबाट निषेधाज्ञा लागू हुनेछ ।

बुद्धशान्ति, अर्जुनधारा, कनकाई, दमक, बिर्तामोड, मेचीनगर, हल्दिबारी, कमल र गौरादहले सिल गरेका हुन् । मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बढ्दो कोभिड संक्रमणको दरलाई मध्यनजर गर्दै पीसीआर र एन्टिजेन परीक्षणको दायरा बढाइने जनाइन् ।

अत्यावश्यक सुरक्षा सामग्री तथा औषधि खरिद प्रक्रिया अगाडि बढाउने, मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा र मातहत कार्यालयबाट प्रदान हुने अत्यावश्यकबाहेक सेवाहरू बन्द गर्ने र कार्यान्वयनका लागि नगरस्थित सबै सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको उप्रेतीले जनाइन् । नगरपालिकाले जारी गरेको सिल उल्लंघन भएको पाइए संक्रामक रोग ऐन, २०२० बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

भद्रपुर, गौरीगन्ज, बाह्रदशी, झापा र कचनकवलले भने हालसम्म सिल गरेका छैनन् । यी पालिकाहरूमा कोरोनाको जोखिम अन्य पालिकाको तुलनामा कम भएको जनाइएको छ । संक्रमण बढ्दै गए पालिकाहरूले आवश्यकतानुरूप निषेधाज्ञा (सिल) लागू गर्न सक्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिल गर्न थालिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए । पालिकाहरूले सिल गरे पनि यसको प्रभाव भने आंशिक मात्रै छ । खोप कार्यक्रमका कारण पनि भीडभाड बढ्दै गएको छ । जसका कारण कोरोनाको संक्रमण थप बढ्न सक्ने देखिएको छ । झापामा दुई सातायता कोरोना संक्रमण थप बढेको छ । दैनिक २ सय बढीमा संक्रमण पुष्टि भइरहेको छ ।

प्रकाशित : श्रावण १५, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?