समाधान भएन विद्यार्थीको माग

कान्तिपुर संवाददाता

इलाम — महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामस्थित बीएस्सी हर्टिकल्चरका विद्यार्थीहरू आफ्नो माग सम्बोधन नभएको भन्दै चिन्तित भएका छन् । लोकसेवाको सुनिश्चितता र त्यसअघिको सहज पठनपाठनको माग गर्दै विद्यार्थीले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

समाधान भएन विद्यार्थीको माग

२०६९ सालदेखि क्याम्पसमा नयाँ विषयका रूपमा बीएस्सी हर्टिकल्चर पढाइ सुरु भए पनि बागवानीबाहेकका विषयमा लोकसेवामा सहभागी हुने अवसर पाएका छैनन् । जसका कारण पहिलो ब्याजदेखिकै विद्यार्थीले समस्या भोग्नुपरेको बताउँदै आएका छन् । मापदण्ड पुगेका कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकास) मा लोकसेवाको सुनिश्चितता हुनुपर्ने मागसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

इलाममा कोरोना संक्रमण दर निरन्तर उकालो लागेको अवस्थामा पनि आन्दोलनमा उत्रनुको विकल्प नरहेको विद्यार्थीको भनाइ छ । गएको असारमा पनि विद्यार्थीहरूले आन्दोलन गरेका थिए । क्याम्पस प्रशासनसहित गएको टोली राजधानीसम्म पुगेर कृषि मन्त्रालय, लोकसेवा आयोगमा मागको सुनुवाइ गरिदिन आग्रह गरेका थिए । विद्यार्थीको मागप्रति बेवास्था गर्दा पुनः आन्दोनल गर्न बाध्य भएको संघर्ष समितिका संयोजक किशोर आचार्यले बताए ।

साउनको पहिलो साता हुने पाँचौँ र सातौँ सेमेस्टरको परीक्षामा समेत सहभागी नहुने अडान राखेपछि स्थगित गरेर भदौ १ गते पुर्‍याइएको छ । यो परीक्षा अगावै समस्या समाधान हुनुपर्ने विद्यार्थीको माग छ । कृषि र पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत त्रिभुवन विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पससहित देशभरका ८ वटा क्याम्पसमा कृषि पढाइ हुन्छ । यीमध्ये हर्टिकल्चर पढाइ हुने इलाम एक मात्र क्याम्पस हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्वारा मान्यताप्राप्त यो क्याम्पस स्वायत्ततामा गएसँगै हर्टिकल्चरको पढाइ सुरु भएको हो । यस क्याम्पसमा हालसम्म २ सय २८ जनाले बागवानीमा बीएस्सी गर्दै छन् भने १ सय २० जनाले अध्ययन सकेका छन् । १ सय ८ जना अहिले अध्ययनरत छन् ।गत सोमबारदेखि विद्यार्थीले क्याम्पस परिसरमा नै पुनः आन्दोलन थालेका थिए ।


प्रकाशित : श्रावण १५, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?