कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विराटनगरका अस्पतालमा अत्यधिक भीड

कान्तिपुर संवाददाता

मोरङ — संक्रमण बढिरहेको अवस्थामा विराटनगरका विभिन्न अस्पतालमा हुने अव्यवस्थित भीडका कारण जोखिम बढेको छ । कोसी अस्पतालको बहिरंग विभागमा दैनिक हजारभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

विराटनगरका अस्पतालमा अत्यधिक भीड

आकस्मिक कक्षको भीड बेग्लै छ । अस्पताल आएका कसैले मास्क लगाएका हुन्छन् कतिपयले लगाएको देखिँदैन । पुर्जी लिने भीडमा उभिएमध्येका रोशन घिमिरेले भने ‘एउटा रोगको उपचार गर्न आएका बिरामीले कोरोना लिएर फर्कने हो कि भन्ने डर छ ।’

ढाड दुख्ने समस्या भएर उपचारका लागि आएका रामकुमार विष्टले अत्यधिक भीडका कारण पुर्जा लिनमात्र तीन घण्टा लाममा बस्नुपरेको बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार भीडलाई व्यवस्थित गर्ने प्रयास गर्दा पनि सम्भव भएको छैन । त्यही भएर भीडले कोरोनाको त्रास थपेको उनले बताए ।

यहाँका नोबेल र विराट अस्पतालमा दैनिक हजारभन्दा बढी बिरामीको भीड लाग्ने गरेको छ । उपचारका लागि यी अस्पताल आइपुगेका बिरामी र तिनका आफन्तलाई पनि भीडकै कारण कोरोना संक्रमणको चिन्ताले सताएको छ । पत्नीको पित्तथैलीको ढुंगा निकाल्न नोबेल आएका पथरीका उज्ज्वल राईले भने, ‘अस्पतालमा भीड थेगिनसक्नु छ । यो भीडले अर्को समस्या बोकेर घर पुगिने हो कि भन्ने तनाव छ ।’

अस्पताल प्रशासन प्रमुख दीपेश राईका अनुसार अस्पतालका सुरक्षाकर्मीले व्यवस्थित गर्ने प्रयास गरे पनि अत्यधिक भीडका कारण कठिनाइ भइरहेको बताए । अस्पतालमा बढ्दो भीड स्थानीय प्रशासनलाई पनि टाउको दुखाइको विषय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ‘यहाँका सानाठूला सबै अस्पतालमा बिरामीको अत्यधिक भीड छ,’ उनले भने, ‘यो भीडले कोरोना संक्रमण विस्तार गर्न मद्दत गर्ला भन्ने चिन्ता छ ।’

मोरङको उत्तरी क्षेत्र उर्लाबारी, पथरी, लेटाङ र सुन्दर हरैंचामा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको उनले बताए । संक्रमित बढ्दै गएपछि विराटनगरमा पुनः लकडाउन गर्ने विषयमा छलफल थालिएको निरौलाको भनाइ छ ।

प्रकाशित : श्रावण १५, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?