कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सीमावर्ती नेपालीलाई चीनद्वारा खाद्यान्न

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका तेन्जिङ वालुङलाई अब एक वर्षका लागि खाद्यान्न अभाव हुनेछैन । उनले चीनको डिङजे काउन्टीले दिएको खाद्य सामग्री ल्याएर भण्डारण गरिसकेका छन् ।

सीमावर्ती नेपालीलाई चीनद्वारा खाद्यान्न

वडा कार्यालयको कर्मचारीसमेत रहेका तेन्जिङले चामल ८०, मैदा ७५, चिनी २०, दूध पाउडर १६, नुन २५, चियारङ ८, चम्बा (खाने पिठो) १० किलो र खाने तेल ४० लिटर सहयोग पाएका हुन् । घरको दोस्रो तलामा गोदाम गरेको उक्त सामग्रीले वर्ष दिनसम्म आरामले पुग्न उनले बताए ।

उक्त सहयोग तेन्जिङसहित फक्ताङलुङ–७ ओलाङचुङगोला र याङमा तथा वडा ६ लेलेपको फले र घुन्साका स्थानीयले सोही परिमाणमा पाएको वडा ७ का वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । नजिक भएकाले गोला र याङमाका सबैले सामग्री घरमा पुर्‍याइसकेका छन् भने फले र घुन्साकाले खाद्य सामग्री नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङदेखि तीन घण्टा तल रहेको मौवाटारमा गोदाम गरेर राखिएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालयमा गोदाम गरेर ताला लगाएर राखिएको भोटेले बताए । ‘दुई बस्तीकालाई समिति बनाएर आउनु र सामान बुझेर गाउँमा लैजान भनेका छौं,’ वडासदस्य टासी शेर्पा भोटेले भने, ‘उहाँहरूले मौसम खुलेर सफा भएपछि चौंरी लिएर आउँछौं भन्नुभएको छ ।’

तिब्बती शरणार्थीको मात्रै बसोबास रहेको फले र नेपाली मात्रैको बसोबास रहेको घुन्साका बासिन्दालाई उक्त राहत सामग्री गाउँमा पुर्‍याउन कम्तीमा तीन दिन लाग्छ । चौंरीलाई बोकाएर जंगलको बाटो ल्याउनुपर्ने हुन्छ । सिमानाबाट मौवाटारसम्म सामान झार्न १ सय ५० वटा चौंरीलाई तीन दिन लागेको वडाका कर्मचारी तेन्जिङले बताए । तिब्बतले यसअघि गोला र याङमाका बासिन्दालाई मात्रै सहयोग गर्दै आएको थियो । तर ओलाङचुङगोलाका जनप्रतिनिधिको अनुरोधमा घुन्सा र फलेका बासिन्दालाई पहिलो पटक सहयोग दिएको हो ।

गोलामा रहेको नेपाल प्रहरीलाई १० किलोको ४० बोरा चामल दिएको पनि वडाले जनाएको छ । प्रहरीका लागि तेल, बिस्कुट, पेय पदार्थलगायत सामग्री छुट्टै पठाएको थियो । यहाँ कार्यरत शिक्षक र स्वास्थ्य चौकीका कर्मचारीलाई पनि यत्तिकै परिमाणमा सामग्री दिएको वडाले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षाबलले भने सामग्री लिन अस्वीकार गरेको छ ।

‘उहाँहरू (सशस्त्र प्रहरी) ले चाहिँ हामीलाई सरकारले दिएको छ लिन मिल्दैन, लिँदैनौं भन्नुभयो,’ वडाध्यक्ष भोटेले भने । गोला र याङमामा गरी १ सय ८२ जना तथा घुन्सा र फलेमा १ सय ४३ जनाले राहत सामग्री लिए । वडाका अनुसार यस वर्ष १९ हजार ६ सय ५० किलो चामल, ७ हजार १ सय ३५ लिटर तेल, २५ किलोको ४ सय ९२ बोरा पिठो, दूध पाउडर १ सय ३४ कार्टुन उपलब्ध गराएको छ । यस्तै ८ किलोको १ सय ३० कार्टुन चियापत्ती, २५ किलोको नुन ८० बोरा र १६ किलोका १ सय ३० बोरा दिएको छ ।

नेपाली व्यापारीले सामानबापतको पैसा सिमानामै पुर्‍याइदिनुपर्ने द्विपक्षीय सहमति छ । सीमावर्ती यी चारवटै बस्तीका बासिन्दाले चीन सरकाले दिएको अनुदानको खोप पहिलो चरणको लगाएको वडा कार्यालयले जनाएको छ । चीनले ५० लाख नेपाली बराबरको स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो ।

प्रकाशित : श्रावण १४, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?