कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुन पसलमा लुटपाट गर्न खोज्‍ने ६ जना एसएमजीसहित पक्राउ

एसमजीमा लाग्‍ने ६२ राउन्ड गोली र २ वटा अटोमेटिक पेस्तोल पनि बरामद 
देवनारायण साह

मोरङ — सुन्दरहरैंचा नगरपालिका १० त्रिवेणी चोकस्थित शिव पञ्चायन ज्वेलर्समा हतियार देखाइ लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले ६ जनालाई सर्ट मेसिन गन(एसएमजी)सहित बुधबार पक्राउ गरेको छ ।

सुन पसलमा लुटपाट गर्न खोज्‍ने ६ जना एसएमजीसहित पक्राउ

प्रहरीले उनीहरुको साथबाट एसएमजी र त्यसमा लाग्ने म्याग्जिन र ६२ राउण्ड गोली, कटुवा पेस्तोल र थ्री नट थ्री राइफलमा प्रयोग हुने ३ राउण्ड गोली र अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन र २ राउण्ड गोली बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा संखुवासभाको सभापोखरी गाउँपालिका ४ घर भइ हाल इटहरी उपमहानगरपालिका २० तरहरा बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका १ बस्ने ४५ वर्षीय डायमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभाको सभापोखरी ६ बाह्रबीसे घर भइ इटहरी २० तरहरमा डेरा गरी बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई, सुन्दरहरैंचा-५ का २२ वर्षीय मिसन राई, भोजपुरको पौवादुम्बा गाउँपालिका-३ घर भइ इटहरी २० तरहरामा डेरा गरी बस्दै आएका ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा-७ का ३१ वर्षीय सन्तोष राई छन् ।

यस्तै, उनीहरुले प्रयोग गरेको प्रदेश १–०२–०४४प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ नम्बरको मोटरसाइकल, को २ ह २७३६ नम्बरको अटो रिक्सा, ६ थान मोबाइल, एमआरपी लेखिएको सञ्चार सेट दुई थान र १६ हजार ५ सय नगद पनि बरामद गरिएको मोरङका एसपी जनार्दन जिसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

चन्द्रबहादुर र प्रमोदलाई तरहराबाट र अन्यलाई मोरङको सलकपुरबाट पक्राउ गरिएको उनले बताए । सुन पसल लुटपाटमा गर्न जानेमध्ये एक जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत साउन १ गते दिउँसो १ बजे चन्द्रबहादुर र प्रमोदले योजनाबद्ध रुपमा थापाको पसलमा लुटपाटको असफल प्रयास गरेका थिए । ‘उनीहरुले सुरुमा बरामद भएको अटो रिक्सा प्रयोग गरेर २/३ दिन अगाडिदेखि पसल तथा त्यसको वरिपरि सुराकी गरेका थिए,’ जिसीले भने, ‘त्यसपछि साउन १ गते ३ वटा मोटरसाइकलमा ६ जना आएर सुन पसलमा लुटपाट गर्न खोजेका थिए ।’

चन्द्रबहादुरले एसएमजी, चौधरीले कटुवा पेस्तोल र पक्राउ पर्न बाँकी रहेका एक जनाले अटोमेटिक पेस्तोल बोकेर पसलभित्र प्रवेश गरेका थिए । अन्य ४ जनाले पसल बाहिर सुरक्षा घेरा बनाएका थिए । लुटपाटका लागि तीनै जना सुन पसलभित्र प्रवेश गरेर सटर लगाएर हतियार देखाएपछि पसल सञ्चालक थापाकी पत्नीले घर बाहिर निस्केर होहल्ला गरेकी थिइन् । त्यसपछि टोलका मानिसहरुले पनि होहल्ला गर्दै जम्मा हुन थालेपछि उनीहरुको लुटपाट योजना असफल भएको थियो । पसलबाट बाहिर निस्कने क्रममा उनीहरुले एसएमजी फायर गर्न खोजेका थिए तर फायर नभएपछि भागेका थिए ।

सुन पसलको सीसीटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । उनीहरुविरुद्ध हातहतियार खरखजाना, डाँका, संगठित अपराध र गोली चलाउने प्रयास मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?