कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शीत भण्डारको परीक्षण

निजीस्तरमा खोलिएका असफल भए पनि साना लगानी साझेदारका सफल

सुनसरी — पूर्वका किसान र व्यापारीलाई लक्षित गरेर धरान–१३ स्थित कृषि उपज बजारमा ९० मेट्रिक टन क्षमताको शीत भण्डार बनाइएको छ । यसको परीक्षण सुरु भइसकेको छ ।

शीत भण्डारको परीक्षण

कोसी करिडोर आसपासका पहाडी र तराईका जिल्लामा उत्पादित फलफूल तरकारीको गुणस्तर नबिग्रने गरी लामो समयसम्म राख्नका लागि ९० मेट्रिक टन क्षमताको शीत भण्डार स्थापना गरिएको हो ।

धरानको कृषि उपज बजार व्यवस्थापनले आर्थिक वर्ष २०७६/७७ को मंसिरमा ७५ मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा ल्याए पनि त्यसले धान्न नसकेपछि थप ९० मेट्रिक टन क्षमताको शीत भण्डार स्थापना गरेको हो । पूर्वमा निजीस्तरमा ठूला लगानी गरेर सञ्चालित शीत भण्डारहरू असफल भएपछि साना लगानी साझेदारीमा आधारित शीत भण्डार सञ्चालन, व्यवस्थापनमा सफल भएसँगै धरान कृषि बजारमा सानो लगानीको अर्को शीत भण्डार थपिएको हो ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘यसअघि पनि प्रदेश सरकारको ७५ प्रतिशत (५० लाख रुपैयाँ) र कृषि उपज बजार व्यवस्थापन समितिको २५ प्रतिशत (२५ लाख रुपैयाँको) गरी ७५ मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा ल्यायौं । तर त्यसले पूर्वका कृषक र थोक व्यापारीको माग धान्न नसकेपछि फेरि नयाँ थपिएको हो ।’ कृषि बजारमा दुवै शीत भण्डार गरी अहिले १ सय ६५ मेट्रिक टन क्षमताको भएको छ । व्यवस्थापक भट्टराईका अनुसार वार्षिक रूपमा ५ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने गरेको छ ।

कतिपय भारतीय बजारमा निर्यात हुने गरेका छन् । तर कहिलेकाहीं निषेधाज्ञा, हडताल भएको बेला, मूल्य कम भएको बेला नोक्सान हुने भएकाले केही सातादेखि तीन महिनासम्म सुरक्षित रूपमा राख्न शीत भण्डारको अवधारणाअनुसार साना स्तरका शीत भण्डार निर्माण गरिएको उनले बताए । नयाँ शीत भण्डारमा ३०/३० मेट्रिक टन क्षमताका तीन/तीन वटा चेम्बर छन् । तीमध्ये किसानका लागि एउटा च्याम्बर आरक्षण गरिएको छ भने यसअघि नै सञ्चालनमा आएको ७५ मेट्रिक टनको शीत भण्डारमा पनि २५ मेट्रिक टन क्षमताको एउटा च्याम्बर किसानका लागि आरक्षण गरिएको व्यवस्थापक भट्टराईले बताए ।

धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, खोटाङ, उदयपुर, ताप्लेजुङ, इलाम, पाँचथर र सुनसरीमा व्यावसायिक किसानलाई शीत भण्डार प्रयोग गर्न प्रेरित गरिरहेको भट्टराईले बताए ।

किबी र स्ट्रबेरी जस्ता बढी इथेनल (पकाउने शक्ति भएका फलफूल) भने ४ देखि ६ डिग्री सेल्सियस तापक्रममा राख्न नहुने र नजिकै राखिएका अन्य फलफूल तरकारीलाई पनि पकाइदिएर बिगारी दिने भएकाले त्यसका लागि शून्य डिग्रीदेखि २ डिग्री सेल्सियसको छुट्टै च्याम्बर पनि बनाउने तयारी भइरहेको व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटवालले बताए ।

प्रकाशित : श्रावण १३, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?