१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बिरामीको चाप बढेपछि भुइँमै उपचार

१५ शय्याको अस्पतालमा ४० जनाभन्दा बढी बिरामी, दुईवटा बेडमा एकै परिवारका चार जना
आनन्द गौतम

ताप्लेजुङ — छोराको खोकी नरोकिएपछि फुङलिङ नगरपालिका–७ दोखुका कमलप्रसाद भट्टराईले सोमबार बिहान १० बजे जिल्ला अस्पताल लिएर गए । कोरोना संक्रमित छोराको अक्सिजनको मात्रा ८६ मा झरेकाले अस्पतालमै राखेर तत्काल अक्सिजन चलाउनुपर्ने निर्णय डाक्टरले सुनाए ।

बिरामीको चाप बढेपछि भुइँमै उपचार

इमर्जेन्सीमा भर्ना भएका उनलाई राख्ने शय्या भने थिएन । स्वास्थ्यकर्मीले भुइँमा एउटा ओछ्याउने हाले र त्यहीं राखेर अक्सिजन दिन थाले । सुतेर आराम गर्नुपर्ने भए पनि अस्पतालको समस्यालाई दृष्टिगत गरी बिरामीले दिनभरि बसेरै अक्सिजन लिए । मिक्वाखोला–४ घर भई फुङलिङ नगरपालिका बस्दै आएका खड्गबहादुर गुरुङले उपचारका लागि सोमबार आफन्त लिएर आए । आइतबार राति बान्ता हुने र झाडापखाला चल्ने भएपछि सोमबार बिहानै लिएर आएका गुरुङले पनि आफन्तलाई शय्यामा राख्न पाएनन् ।

बिरामीले यस्तो भीडमा बस्न सक्दिनँ भनेपछि रगत, दिसा, पिसाबको परीक्षण बिरामीलाई अस्पताल बाहिरको फलैंचामा राखेर गराए । ‘मान्छेको भीडले रोगमाथि रोग थपिने भयो र बिरामी बस्नै मानेनन्,’ खड्गले थपे, ‘रिपोर्ट आएपछि औषधि लेखिमागेर नजिकै कतै बसेर औषधि खुवाउनुपर्ने भएको छ ।’ यसरी असहज परिस्थितिमा उपचार गराउने उनीहरू मात्रै होइनन् । जिल्ला अस्पतालमा बिरामीको चाप थेगिनसक्नुभएको जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिम लामा बताउँछन् । उनका अनुसार कोभिड भरिएपछि अरू कक्षमा पनि संक्रमित राख्नुपरेको छ ।

‘बिरामीको संख्या घटिरहँदा हामीलाई पनि अब घट्ला भन्ने भयो,’ सोनिमले भने, ‘यसरी ह्वात्तै बढ्ला भन्ने भएन । त्यसैले संक्रमित र अरूलाई छुट्टै राख्ने गरी भएको कुरामा हामीमा केही कमजोरी भयो ।’ अब नगरपालिकासँगको समन्वयमा कम जोखिमकालाई नगरपालिकाको आइसोलेसन र बढी निगरानी गर्नुपर्नेलाई अस्पतालमा राख्ने विषयमा परामर्श भइरहेको उनले बताए । यसका लागि मंगलबार अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको उनले जानकारी दिए ।

१५ शय्याको अस्पतालमा अहिले ४० जनाभन्दा बढी बिरामी छन् । अस्पताल व्यवस्थापन समितिको समन्वयमा इमर्जेन्सी र कोभिड वार्डसमेत गरी ३५ वटा शय्या सञ्चालनमा रहेको लामाले बताए । छुट्टै बनाइएको १५ शय्याको आइसोलेसन बेड भरिएपछि अस्पतालमा अन्य बेडमा राख्नुपरेको लामा बताउँछन् । बरामीको चापले एकै परिवारका चार जना दुईवटा बेडमा पनि बस्नुपरेको छ । ‘सबै बिरामी, मिलेर बसौं भनेर समन्वय गर्‍यौं,’ उक्त अस्पतालमा उपचाररत सविन बानियाँले भने, ‘छोराछोरीचाहिँ ठीक भए, मलाई पनि केही ठीक भयो । अब श्रीमती निको हुन बाँकी छन् ।’ संक्रमित र संक्रमणविहीन अरू बिरामीलाई एउटै कोठाको दायाँ र बायाँ राखिएको छ ।

अस्पताल विकास समितिका सदस्य सुवास आचार्य नजिकै रहेको रेडक्रसको भवन खाली रहेकाले त्यसलाई उपयोग गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । डाक्टरले पनि निगरानी गर्न सक्ने ठाउँ भएकाले यसको पहल भइरहेको उनले बताए । अस्पतालको तथ्यांकअनुसार दैनिक ओपीडीमा जाँच गराउन एक सय जना बढी आइरहेका छन् । तीमध्ये १५ जनासम्मका अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्थाका छन् । संक्रमित मात्रै नभएर झाडापखाला, निमोनियालगायतका अन्य बिरामी प्रशस्तै बढेको लामाले बताए ।

प्रकाशित : श्रावण १२, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?